एजेन्सी । यतिखेर भूमध्यसागरमा अफ्रिकी मुलुकसँग जलसीमा साझेदारी गर्ने यूरोपेली मुलुकहरू निकै तनावमा छन् । पछिल्लो समय मुख्यतः इटालीले ट्युनिसियाबाट ओइरिएका शरणार्थीहरूको चाप थेग्न सकिरहेको छैन ।
त्यहाँको सरकारले यो मामिलामा सबै यूरोपेली देश संवेदनशील नभए रोमले शरणार्थीविरुद्ध कडा कदम चाल्ने चेतावनी दिइसकेको छ । आप्रवासीको आगमन बढेसँगै इटाली तनावग्रस्त भएपछि यूरोपेली संघ (ईयू) का प्रमुख उर्सुला भोन डेर लेयेनले इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीसँग इटालीको लाम्पेडुसा टापुको भ्रमण गर्ने भएका छन् । ट्युनिसियाबाट शरणार्थीहरू सोही टापुमा पुग्ने गरेका छन् ।
भूमध्य सागरमा अफ्रिकी मुलुकहरूसँग यूरोपका टर्की, ग्रीस, अल्बानिया, मोन्टेग्रो, बोस्निया हर्जगोभिना, क्रोएसिया, स्लोभेनिया, इटाली, मोनाको, फ्रान्स, एन्डोरा र स्पेनले जलसीमा साझेदारी गर्छन् । यी मध्ये अधिकांश मुलुकले अफ्रिकाबाट आउने आप्रवासीका कारण पटकपटक शरणार्थी संकट भोगिसकेका छन् । अहिले यो संकट भोग्ने पालो इटालीको परेको छ ।
भूमध्यसागरको मध्य भागमा अवस्थित टापु राष्ट्र माल्टाभन्दा दक्षिणतर्फ इटालीको लाम्पेडुसा टापु छ, जुन स्थान ट्यूनिसियाको तटबाट करिब १४५ किलोमिटर पर पर्छ । सो टापुमा उत्तर अफ्रिकी मुलुकहरूबाट केही दिनयता दैनिक हजारौं मानिसहरू डुंगामा जोखिमपूर्ण यात्रा गरी यूरोपतिर छिर्न खोज्दैछन् ।
इटालीको लाम्पेडुसा टापु उनीहरूको ट्रान्जिट बनेको छ । त्यहाँबाट यूरोपको मुख्य भूमिमा पुग्न ती आप्रवासीहरूले अझै सयौं किलोमिटर दूरी पार गर्नुपर्नेछ । तर, उनीहरूले लाम्पेडुसा टापुमै संकट भोगिसकेका छन् । शरणार्थीको अत्यधिक चापका कारण त्यहाँ सार्वजनिक स्वास्थ्य प्रणाली ध्वस्त भएको छ । बिरामी, दीर्घरोगी, सुत्केरी महिला र बालबालिकाले नै पर्याप्त खानेकुरा खान पाइरहेका छैनन् । मृत्युदर बढ्दो छ, असुरक्षित डुंगा पल्टिँदा भएको मानवीय क्षतिभन्दा पनि बढी ।
रिसायो इटाली
शरणार्थी संकट बढ्दै जाँदा इटालीका प्रधानमन्त्री माटेओ साल्भिनीले ती व्यक्तिहरूको आगमनलाई ‘युद्धको कार्य’ भनेका छन् । शुक्रबार मेलोनीले युरोपेली संघलाई मद्दतका लागि थप कदम चाल्न आग्रह गरिसकेका छन् ।
इटालीका प्रधानमन्त्री साल्भिनी दक्षिणपन्थी रुझानका हुन् । उनले मध्यसागरीय टापु लाम्पेडुसामा ठूलो सङ्ख्यामा आप्रवासीहरू अवतरण गरेपछि ‘युरोपको भविष्य खतरामा परेको’ चेतावनी दिएका छन् ।
उत्तरी अफ्रिकी तटबाट पानीजहाजमा सवार हजारौं आप्रवासीहरू यसै साता इटालीको सबैभन्दा दक्षिणी टापुमा अवतरण गरेका थिए, जसले यूरोपमा आप्रवासी समस्या निम्त्याएको छ । यसले ईयू राष्ट्रहरूबीच जिम्मेवारीको विभाजनको बहसलाई पुनर्जीवित गरेको छ ।
युरोपियन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लेयेनसँगको पत्रकार सम्मेलनमा इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीले अनियन्त्रित आप्रवासनका चुनौतीहरूको सामना गर्न समूहले मिलेर काम गर्नुपर्ने बताएका थिए ।
मेलोनीले भने, ‘यूरोपले आफ्नो लागि चाहेको भविष्य यहाँ दाउमा छ, किनकि युरोपको भविष्य प्रमुख चुनौतीहरूको सामना गर्ने यूरोपको क्षमतामा निर्भर गर्दछ ।’
तीन दिनमै आठ हजार शरणार्थी
संयुक्त राष्ट्रसङ्घीय आप्रवासन निकायका अनुसार सोमबारदेखि बुधबार तीन दिन बीचमा १९९ वटा डुङ्गामा करिब आठ हजार ५०० मानिस इटाली पुगेका छन् ।
‘अनियमित आप्रवासन एक युरोपेली चुनौती हो र यसको लागि युरोपेली प्रतिक्रियाको आवश्यकता छ,’ लेयेनले भने । उनले समूहका अन्य सदस्यहरूलाई केही आप्रवासीहरू स्वीकार गर्न आह्वान गरेका हुन् ।
लाम्पेडुसा माइग्रेसन सेन्टर सञ्चालन गर्ने इटालियाली रेडक्रसले आइतबार ४०० जना मात्र क्षमता भए पनि एक हजार ५०० आप्रवासी त्यहाँ रहेको जनाएको छ ।
‘सिसिली र मुख्य भूमिमा आप्रवासीहरूको स्थानान्तरणले नयाँ आगमनको प्रवाहलाई कायम राख्न सकेको छैन, यद्यपि थप स्थानान्तरण आइतबार हुने अपेक्षा गरिएको छ,’ रेडक्रसले भनेको छ ।
अधिकारीहरूलाई विमानस्थलमा भेट्दा त्यहाँका बासिन्दाहरूले सामूहिक आगमनबाट अप्रसन्न भएर उनीहरूको गाडीहरू रोक्ने धम्की दिएका थिए । जवाफमा मेलोनीले भनेका थिए, ‘हामी हरसम्भव प्रयास गरिरहेका छौं ।’
‘डक्टर्स विदाउट बोर्डर्स (एमएसएफ) जस्ता गैरसरकारी संस्थाहरूद्वारा सञ्चालित ठूला जहाजहरू, जसले ११ अपरेसनहरूमा लगभग ५०० आप्रवासीहरूको उद्धार गरेका छन्, इटालीका प्रमुख बन्दरगाहहरूमा जाँदैछन् ।
तर दर्जनौं साना डुङ्गाहरूले लाम्पेडुसासम्म खतरनाक समुद्री पार गर्न जारी राखेका छन्, जहाँ आप्रवासी व्यवस्थापन प्रणाली श्वासप्रश्वासको सङ्घारमा आइपुगेको छ ।
गत जुलाईमा भोन डेर लेयेनले मेलोनीको बलियो समर्थनमा ट्युनिसियासँग सम्झौता गरेका थिए । सम्झौताकोे उद्देश्य उत्तर अफ्रिकी मुलुक ट्युनिसियाबाट हुने अनियमित आप्रवासनलाई रोक्नु थियो ।
एक वर्षमा सवा लाख नाघे
यस वर्ष अहिलेसम्म एक लाख २७ हजारभन्दा बढी आप्रवासी इटालीको समुद्री तटमा आइपुगेका छन् ।
संयुक्त राष्ट्रसङ्घीय आप्रवासन निकायका अनुसार यो वर्ष उत्तर अफ्रिकाबाट इटाली र माल्टामा प्रवेश गर्ने दुई हजारभन्दा बढीको मृत्यु भएको छ ।
ईयूले आप्रवासीको आवागमनलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा नियममा आमूल परिवर्तन गर्न दबाब दिइरहेको छ ।
फ्रान्समा अति दक्षिणपन्थी समूहका सदस्यहरूले पेरिसले लाम्पेडुसाबाट इटालीको सीमापारी आउने कुनै पनि आप्रवासीलाई अनुमति दिन नहुने बताएका छन् ।
तर फ्रान्सेली सरकारी स्रोतका अनुसार मेलोनी र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँबीच ‘यूरोपेली स्तरमा सहयोग सुदृढ गर्ने’ विषयमा कुराकानी भएको छ ।