aarthiknews.com सोमबार, १५ असोज २०८०   Monday, 02 October, 2023
 
Rajaswo Anusandhan Bighag
British College

बजार मूल्य अत्यासलाग्दो, तर राष्ट्र बैंक भन्छ- ‘मुद्रास्फीति घट्यो’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३१ भदौ २०८०
himalayanlife
बजार मूल्य अत्यासलाग्दो, तर राष्ट्र बैंक भन्छ- ‘मुद्रास्फीति घट्यो’
DHI
NIBL

काठमाडौं । आम नागरिकले दैनिक उपभोग्य बस्तुको बजार मूल्य थेग्नै नसकिने गरी बढिरहेको टिप्पणी गरिरहेका बेला नेपाल राष्ट्र बैंकले भने महँगी घटेको प्रतिवेदन सार्वजनिक गरेको छ ।

आइतबार केन्द्रीय बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनका अनुसार २०८० साउन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम देखिएको छ । साउनमा ७.५२ प्रतिशत रहेको बिन्दुगत उपभोक्ता मुद्रास्फीति अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति ८.२६ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.९५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.४२ प्रतिशत रहेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ४५.५६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.२० प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १२.१९ प्रतिशत, रेस्टुरेन्ट तथा होटलको ११.०५ प्रतिशत र तरकारीको १०.८० प्रतिशतले बढेको छ । यसबीच घटेको देखिएको बस्तुमा घ्यू तथा तेल उप–समूह अन्तर्गतका बस्तुहरू रहेका छन् ।

यसको वार्षिक बिन्दुगत मूल्य सूचकांक १५.१३ प्रतिशतले घटेको छ । राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ७.५२ प्रतिशत रहेको छ ।

साथै, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १५.५५ प्रतिशत, शिक्षाको ९.१० प्रतिशत, घरायसी उपयोगका वस्तुहरूको ६.९३ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरूको ६.७९ प्रतिशतले बढेको छ भने यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ०.८१ प्रतिशतले घटेको छ ।

समीक्षा महिनामा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५० प्रतिशत, तराईको ६.७० प्रतिशत, पहाडको ७.५० प्रतिशत र हिमालको ११.४६ प्रतिशत रहेको छ । २०७९ साउन महिनामा उक्त क्षेत्रहरूको यस्तो मुद्रास्फीति क्रमशः ७.३९ प्रतिशत, ८.७२ प्रतिशत, ८.६४ प्रतिशत र ६.६४ प्रतिशत रहेको थियो ।

थोक मुद्रास्फीति भने २०८० साउन महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४.३४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १२.५८ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः ८.०० प्रतिशत, २.५५ प्रतिशत र २.७२ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मुद्रास्फीति ०.०५ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस