शीर्षकहरू

‘नाडा अटो शो’मा साढे दुई करोडसम्मका गाडी प्रदर्शन, कुन कम्पनीको कति पर्छ मूल्य ?

‘नाडा अटो शो’मा  साढे दुई करोडसम्मका गाडी प्रदर्शन, कुन कम्पनीको कति पर्छ मूल्य ?

काठमाडौं । के तपाईं गाडी किन्ने सोचमा हुनुहुन्छ ? गाडी किन्नुअघि धेरै कुरा बुझ्न जरुरी छ । गाडी किन्ने ग्राहकहरूले सोध्ने तथा चासो राख्ने विषयमध्ये गाडीको मूल्य पनि एक हो । कुन कम्पनीको गाडीको मूल्य कति पर्छ भन्ने धेरैलाई जानकारी नहुन सक्छ ।

यस्तै विषयलाई मध्यनजर गर्दै हामीले काठमाडौंको भृकुटीमण्डपमा भइरहेको नाडा अटो शो–२०२३ मा प्रदर्शनीमा रहेका विभिन्न कम्पनीका गाडी र त्यसको मूल्यबारे यहाँ उल्लेख गरेका छौँ ।  

भदौ २६ गते अर्थात् बुधबारदेखि पन्ध्रौँ नाडा अटो शो–२०२३ जारी छ । कोरोना महामारीका कारण रोकिएको अटो शो तीन वर्षपछि पुनः आयोजना भएको हो । ६ दिनसम्म चल्ने अटो शोमा विभिन्न ब्राण्डका सवारी साधनहरूको प्रदर्शनी गरिएको छ । 

हेरौँ, अटो शोका स्टलमा राखिएका विभिन्न ब्राण्डका सवारी साधन र तिनका मूल्य : 

हुण्डाई

हुण्डाईका लागि नेपालको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका डिलरसीप हेड दिवाकर रेग्मीका अनुसार नाडा अटो शोमा हुण्डाईले एसयूभी एक्स्टर मुख्य प्रोडक्टका रूपमा राखेको छ । हुण्डाईको नयाँ उत्पादन एसयूभी एक्सटर नेपालमा केही समय पछि लञ्च गरिँदै छ ।  

त्यसबाहेक अटो शोमा हुण्डाईका आइसी र विद्युतीय दुबै थरिका गाडी प्रदर्शनमा रहेका छन् । सबै गाडी सोकेस गर्न समस्या हुने भएकोले हुण्डाइले रोटेसन बेसिसमा गाडीहरू प्रदर्शनी गरिरहेको छ ।   

प्रदर्शनीमा ओरा, भेन्युदेखि कोना र आयोनिक ५ लगायत राखिएको छ । मोडल अनुसार यी गाडीहरूमा फरक-फरक सुविधा र त्यही अनुसारमा मूल्य पनि कायम गरिएको छ ।

हुण्डाइका गाडीहरू ३० लाख ५६ हजार रुपैयाँदेखि दुई करोड ३५ लाख ९६ हजार रुपैयाँसम्म मूल्यका रहेका छन् । सबैजसो कमर्सियल बैंकहरूले हुण्डाइका गाडी खरिद गर्नका लागि कर्जा उपलब्ध गराएका छन् ।      

‘अटो शोमा जे अफर गरिएको छ त्यो अफर शोरुमहरूमा पनि उपलब्ध रहेका छन् । नगद छुटदेखि बीमा, गिफ्ट ह्याम्परहरू पनि दिने गरिएको छ । यो सुविधा अटो शोमामा मार्फत गाडी खरिद गर्ने ग्राहकले पनि पाउँछन् भने यो बाहेक देशभरका हुण्डाई शोरुमबाट खरिद गर्ने ग्राहकलाई पनि दिइएको छ’, रेग्मीले भने । 

महिन्द्रा

अग्नी इन्कर्पोरेटमा सेल्समा कार्यरत विनोद बिडारीका अनुसार महिन्द्राका लागि नेपालको आधिकारिक वितरक अग्नी ग्रुप अन्तर्गतको अग्नी इन्कर्पोरेटले चार वटा गाडीहरू प्रदर्शनीमा राखेको छ ।

जसमा एक्सयुभी ३००, एक्सयुभी ७००, स्कोर्पियो एन र स्कोर्पिओ क्लासिक रहेका छन् । महिन्द्राका गाडीहरू ४२ लाख ९५ हजार रुपैयाँदेखि एक करोड २४ लाख रुपैयाँ मूल्यसम्मका छन् ।     

नाडा अटो शोका लागि महिन्द्राले विभिन्न छुट पनि ल्याएको छ । शोरुममा गाडी किन्ने ग्राहकहरूले साधारण छुट पाउँछन् भने शो मार्फत किन्नेहरूले शोरुममा पाउनेभन्दा डबल छुट दिने अफर ल्याएको छ ।  

अग्नी हायर पर्जेज भनेर आफ्नै फाइनान्सियल सुविधा पनि रहेको छ । त्यस बाहेक महिन्द्रको गाडी खरिद गर्न चाहने ग्राहकरुले जुनसुकै बैंकहरूले कर्जा दिने बिडारीले जानकारी दिए ।   

बीवाईडी

साइमेक्स इङ्कका नेशनल सेल्स हेड आशुतोष गौतमका अनुसार बीवाईडीका लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इङ्कले यो शो कै लागि भनेर दुई वटा गाडी लञ्च गरेको छ ।  बीवाईडी सेल र डल्फिन अहिले अटो शोमा प्रदर्शनीमा राखिएको छ ।  

बीवाईडी डल्फिन इलेक्ट्रिकमा ह्याचब्याग सेग्मेन्टको कारको मूल्य ३९ लाख ८० हजार रुपैयाँमा रहेको छ । यस बाहेक एटो ३ पनि प्रदर्शनीका रहेको छ । डिस्प्ले पर्पलको लागि भने बिवाइडी सिल पनि राखिएको छ । जुन गाडीमा धेरै ग्राहकको ध्यान केन्द्रित भएको देखिन्छ । 

नाडा शोमा बुकिङ गर्ने ग्राहकलाई चार्जर र लोड केबल पनि निःशुल्क दिने अफर रहेको छ । बीवाईडीको गाडी खरिद गर्न चाहने ग्राहकहरूले हिमालयन, कुमारी, प्रभु र एनएमबी बैंकले कर्जा उपलब्ध गराएको छ ।  

सेरेस

सेरेसको पानीपोखरी शोरुममा फाइनान्स म्यानेजरकारूपमा कार्यरत उज्वना ढुंगानाका अनुसार नाडा अटो शोमा सेरेसका दुई वटा गाडीहरू प्रदर्शनीमा राखिएको छ । जुन सेरेस–३ र मिनी ईभी ई–१ हो ।

चिनियाँ अटोमोबाइल ब्रान्ड सेरेस नेपालमा पहिलो पटक भित्रिएको हो । जसको आधिकारिक वितरक एमएडब्लू वृद्धि रहेको छ । स्कुटरको मेन्टेनेन्स खर्चले सेरेस गाडीको इमआइ तिर्न पुग्ने रहेछ भनेर धेरै अवलोकनकर्ताहरूले भन्ने गरेको ढुंगानाले बताइन्‌ ।

उनले नाडा शोलाई नै फोकस गरेर यी गाडीहरूमा छुटसहितको मूल्य राखिएको जानकारी दिइन् । यी गाडीको मूल्य ४७ लाख ९९ हजारदेखि ४९ लाख ९९ हजार रुपैयाँसम्म रहेको छ । 

नाडा अटो शो सकिएपछि यिनै गाडीमा तीन लाख रुपैयाँसम्म मूल्य थप हुने उनको भनाई छ । थप भएको मूल्य सबै भेरियन्टका गाडीमा लागू हुनेछ । यस ब्राण्डको गाडी खरिद गर्नका लागि नेपाल एसबीआइ र नबिल बैंकले कर्जा दिन्छ । जुन २० प्रतिशत भुक्तानी गर्नु पर्छ भने ८० प्रतिशत कर्जामा पाइन्छ ।     

जीडब्लुएम

भिजी इम्पेक्स प्रालीका मार्केटिङ कम्युनिकेशनका म्यानेजर पंकज यादवका अनुसार ग्रेट वाल मोटर (जीडब्ल्यूएम) को नेपालको आधिकारिक वितरक भिजी इम्पेक्स प्रालिले नाडा अटो शोमा मुख्यगरी ईभी गाडी राखेको छ । गत जुन महिनामै नेपाल भित्रिएको विद्युतीय सवारी अल–इलेक्ट्रिक क्रसओभर ओरा–०३ को शोमा प्रदर्शनी गरिएको हो । 

यो बाहेक अन्य केही डिजेल र पेट्रोलबाट चल्ने गाडी पनि राखिएको छ । ओरासहित जीडब्ल्यूएमका अन्य गाडीहरूमा पनि विभिन्न अफर राखिएको छ ।

चाडपर्व पनि नजिकिँदै गरेका कारण ग्राहकहरूले सात लाखसम्मको फाइदा पाउने गरेर अफरहरू राखिएको भिजी इम्पेक्सले जानकारी दिएको छ । नाडा शोमा बुकिङ गरेकामध्ये पाँच जना लक्कि विजेताहरूलाई चितवन बराही लजमा प्याकेज अफर पनि गरिएको छ ।  

ओरा–०३ को मूल्य ४७ लाख ४९ हजार रुपैयाँ रहेको छ । प्रदर्शनीमा ह्याभल ब्राण्डको दुई वटा सेग्मेन्ट रहेको छ । जसको मूल्य ७४ लाख रुपैयाँदेखि एक करोड १६ लाख ९५ हजार रुपैयाँसम्म रहेको छ ।   

एमजी

नाडा अटो शोमा एमजीका चारवटा गाडी प्रदर्शनीमा राखिएको छ । जुन कमेट, एमजी–४ का दुई वटा भेरियन्ट, एजजी जेडएस ईभी रहेको छ ।एमजीका लागि नेपालको आधिकारिक वितरक पारामाउन्ड मोटर्सले कमेट र एसयूभीमा न्यू एमजी–४ नयाँ ईभी मोडल ल्याएको पारामाउन्ड मोटर्सका डिलरसेल्स हेड विपुल चन्द्र भट्टराईले जानकारी दिए ।  

उनका अनुसार यी गाडीको मूल्य ५८ लाख ९९ हजारसम्मका रहेका छन् । गाडीको भेरियन्ट अनुसार मूल्य पनि फरक फरक तोकिएको छ । नाडा शो मा यसका गाडी खरिद गर्ने ग्राहकले ईभी गाडीको चार्जर, स्पेयर टायर र बीमाको सुविधाको अफर ल्याइएको छ । कर्जा मार्फत गाडी किन्न चाहने ग्राहकहरूले प्रभु, एभरेष्ट र नबिल बैंकले सहयोग गर्नेछ ।  

सुजुकी गाडी

सीजी मोटोकर्पमा मार्केटिङ पदमा कार्यरत करण शाक्यका अनुसार सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्प यो अटो शोमा विशेषगरि सुजुकी एसयुभी रेञ्जलाई प्रदर्शनीमा राखिएको छ । 

अटो शो मा सुजुकीका चार वटा एसयुभी मोडल रहेका छन् । फ्रोन्क्स, ग्रान्ड भिटारा, न्यु ब्रेजा र जिम्नी रहेका छन् । यी गाडीको मूल्य ३९ लाख रुपैयाँदेखि ९० लाख रुपैयाँसम्मको रहेका छन् । नाडा शोमा बुकिङ गर्ने ग्राहकहरूलाई एक लाख रुपैयाँसम्मको स्क्रियाच डिस्काउन्ट उपलब्ध गराइएको छ । 

सिट्रोन

नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले नाडा अटो शोमा पेट्रोल र विद्युतीय दुबै थरीका गाडी प्रदर्शनीमा राखेको छ । सांग्रिला मोटर्सकी सेल्स कन्सल्टेन्ट रञ्जना श्रेष्ठका अनुसार विशेषगरी सिट्रोन सी ३ र सी ५ का गाडीमा आकर्षण छ ।   

कम्पनीले नाडा अटो शोमा सिट्रोनका गाडी बुकिङ गर्ने ग्राहकका लागि २५ हजार रुपैयाँसम्मको आकर्षक उपहार व्यवस्था गरेको छ । यसका साथै नगद छुटका साथै निःशुल्क बीमा र कर छुट सुविधा पनि पाउनसक्ने अफर रहेको छ ।

सिट्रोनको विद्युतीय गाडी ई सीई३ खरिद गर्न चाहने ग्राहकले पनि निःशुल्क बीमा, सडक कर छुट र निःशुल्क कार वासर सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।  

निशान

पायोनियर मोटो कर्पका सेल्स हेड राजकुमार ढकालका अनुसार नेपालमा निसान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले नाडा अटो शोमा फ्युलदेखि ईभीसम्मको गाडी प्रदर्शनीमा राखेको छ । जसमा निसान जेरो इमिसन सेकेन्ड जेनेरेसन निसान लिफ्ट इलेक्ट्रिक, नयाँ एएमटी भेरियन्ट निसान म्याग्नाइट एएमटी ईजेट–सिफ्ट रहेको छ ।  

यी गाडीहरूमा एक लाख रुपैयाँ क्यास डिस्काउन्टदेखि कर र नामसारी लगायत अफरहरू रहेका छन् । निशानका ३४ लाख रुपैयाँदेखि एक करोड ५० लाख रुपैयाँ मूल्यसम्मका गाडी रहेका छन् । निसान लिफ्ट ईभीको मूल्य भने ६५ लाख रुपैयाँ रहेको छ ।  निशानका गाडी किन्न चाहने ग्राहकहरूले ८० प्रतिशतसम्म फाइनान्सको सुविधा छ ।

फोटो तथा भिडियोः श्यामसुन्दर गौरो