शीर्षकहरू

सिटिजन लाइफको आईपीओ बाँडफाँट, ९ लाख आवेदकले पाए

सिटिजन लाइफको आईपीओ बाँडफाँट, ९ लाख आवेदकले पाए

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा विक्री गरेको आईपीओ विक्री बन्द भएको नौं दिनमा बाँडफाँट गरेको छ । कम्पनीले भदौ १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो । भदौ २८ गते सार्वजनिक विदाकाबीच विक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडले आईपीओ बाँडफाँट सम्पन्न गरेको हो ।

कम्पनीले सर्वसाधारणमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियम वापत १४४ रुपैयाँ थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा ९० लाख कित्ता आईपीओ विक्री गरेको थियो । मागभन्दा १ दशमलव ९५ गुणा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट ९ लाख आवेदकहरूलाई १० कित्ताका दरले आईपीओ बाँडफाँट गरिएको हो ।

रितपूर्वक आवेदन दिएका १४ लाख ७ हजार २३७ जनालाई आईपीओ बाँडफाँटमा सहभागी गराईएको विक्री प्रबन्धकको भनाई छ । रितपूर्वक नभएका ५ हजार ९२१ जनाको आवेदन रद्द गरिएको छ । 

कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत आईपीओ विक्री गर्न अनुमति पाएको थियो ।  १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको कम्पनीले कर्मचारीमा प्रतिशेयर १०० रूपैयाँमा ५ लाख ६२ हजार ५०० कित्ता आईपीओ बाँडफाँट गरिसकेको छ । बाँकी १ करोड ६ लाख ८७ हजार ५०० कित्ता आईपीओमध्ये ११ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र ५ लाख ६२ हजार ५०० कित्ता सामूहिक लगानीकोषका लागि समेत बाँडफाँट गरिसकेको जानकारी कमपनीले दिएको छ ।

नयाँ जीवन बीमा कम्पनीको रूपमा यो कम्पनीले २०७४ साल कात्तिक २ गतेदेखि कारोबार सुरू गरेको थियो । २०६४ साल असार १२ गते पब्लिक कम्पनीको रुपमा दर्ता भएको यो कम्पनीले २०७४ साल भदौ ७ गते जीवन बीमा सम्बन्धि कारोबार गर्न साविक बीमा समितिबाट स्वीकृति पाएको थियो । हाल कम्पनीले ४६ कार्यालय तथा ९४ उपशाखा कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ । कम्पनीको रजिष्टर्ड कार्यालय थापाथली, काठमाडौंमा रहेको छ । 

यो कम्पनीलाई ५ अर्ब रूपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने बाध्यात्मक अवस्था छ । जीवन बीमा कम्पनीका लागि ५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्ने व्यवस्था रहेकाले कम्पनीलाई पनि तोके बमोजिमको पूँजी कायम गर्नुपर्ने भएको हो । अधिकृत पूँजी ५ अर्ब रूपैयाँ रहेको कम्पनीको जारी पूँजी पनि ५ अर्ब रूपैयाँनै रहेको छ । हाल संस्थापक तर्फबाट चुक्ताभएको पूँजी २ अर्ब ६२ करोड ५० लाख रूपैयाँ छ ।

सर्वसाधारण तर्फको सम्पूर्ण कित्ता आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ३ अर्ब ७५ करोड रूपैयाँ कायम हुनेछ । आईपीओपछि कम्पनीलाई थप १ अर्ब २५ करोड पूँजी आवश्यक हुन्छ । कम्पनीले चालू आर्थिक वर्ष ०८०/÷८१ भित्र ५ अर्ब चुक्तापूँजी कायम गर्ने प्रक्षेपण गरेको छ । कम्पनीको प्रक्षेपणलाई आधार मान्दा थप पूँजी बोनस शेयरमार्फत पु¥याउने योजना रहेको देखिन्छ ।