शीर्षकहरू

चार किलोमिटर सुरुङ खन्न चीनसँग सहयोग माग्दै सरकार

चार किलोमिटर सुरुङ खन्न चीनसँग सहयोग माग्दै सरकार
फोटो : रासस ।

नुवाकोट । सरकारले करिब ४ किलोमिटर लामो टोखा-छहरे सुरुङमार्ग बनाउन चीनसँग सहयोग माग्ने भएको छ । नेपालमै जलविद्युत र नदी स्थानान्तरण आयोजनामा टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरी सुरुङ खन्ने काम भइरहँदा सरकारले ४ किलोमिटर हाराहारी सुरुङ खन्न चीनलाई गुहार्न लागेको हो ।

सुरुङमार्ग निर्माण गर्न सरकारले एक अर्ब २५ करोड रुपैयाँ बजेट छुट्याइसकेको छ । तर, अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा यो सुरुङ निर्माण निम्ति चिनियाँ सहयोग खोजिने जानकारी दिएका हुन्‌ ।

अर्थमन्त्री महतसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोलगायतले हिजो (सोमबार) सुरुङमार्ग निर्माण हुने क्षेत्रमा स्थलगत अवलोकन तथा निरीक्षण गरेका छन्‌ ।

सुरुङमार्ग निर्माण निम्ति वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) सुरु गर्न अनुगमन भएको सरकारी अधिकारीहरूले बताएका हुन्‌ । आयोजना निर्माणबाट लिनसक्ने लाभ र पुग्नसक्ने प्रभावको सम्बन्धमा ईआइए गर्न लागिएको वनमन्त्री महतोले दाबी गरे ।

भौतिक पूर्वाधारमन्त्री ज्वालाले चीन सरकारको सहयोगमा यसअघि सुरुङमार्गको प्रारम्भिक अध्ययन गरिएको र निर्माण गर्न ‘उपयुक्त हुने’ देखिएकाले काम सुरु गर्न लागिएको बताए । उनका अनुसार सुरुङ निर्माण गर्न काठमाडौँतर्फ टोखा नगरपालिका वडा नं १ झोरमा दुईवटा बिन्दुको पहिचान गरिएको छ भने नुवाकोटतर्फ शिवपुरी गाउँपालिका वडा नं ७ र ८ मा तीनवटा बिन्दु सम्भावित देखिएका छन् ।

टोखा–छहरे सुरुङमार्ग निर्माणले चीनसँगको व्यापारिक गतिविधिमा उल्लेख्य योगदान पुग्ने भएकाले सरकारको प्राथमिकता प्राप्त र राष्ट्रिय गौरवको आयोजनाका रूपमा काम सुरु गर्न लागेसँगै विषयगत मन्त्रालयका मन्त्री, सचिवसहित नुवाकोटबाट प्रतिनिधित्व गरेका प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ, विमला सुवेदीलगायतका सरोकारवालाबाट स्थलगत अवलोकन गरिएको हो ।

प्रारम्भिक अध्ययनको क्रममा सुरुङमार्ग निर्माणका लागि विभिन्न तीनवटा बिन्दुलाई केन्द्रित गरेर थप अध्ययन गर्न लागिएको छ । तीन दशमलव तीन, तीन दशमलव छ र चार दशमलव दुई किलोमिटर लम्बाइको हुनसक्ने अध्ययनमा देखिएको छ ।

सुरुङमार्ग निर्माणले नुवाकोटबाट काठमाडौँ जानका लागि अहिले सञ्चालनमा आइरहेको छहरेबाट टोखा पुग्न शिवपुरी निकुञ्ज पार गर्दै जानुपर्ने करिब १२ किमी सडक छोटो हुनेछ ।

नेपालमा यसअघि नै भेरी-बबई डाइभर्सन परियोजनामा टीबीएम प्रयोग गरी १२.२ किलोमिटर सुरुङ खनिसकिएको छ । यद्यपी, यो सुरुङ जलप्रवाहका लागि खनिएको हो ।

यसैगरी सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको १३.३ किलोमिटर सुरुङ खन्ने काम पनि अहिले धमाधम भइरहेको छ । यातायात पूर्वाधारतर्फ थानकोट-नागढुंगा-सिस्नेखोला (२.७) किलोमिटर सुरुङमार्ग निर्माण पनि अन्तिम चरणमा पुगेको छ । भेरी-बबई आयोजनामा टनेल बोरिङ मेसिनले सुरुङ खन्न थाल्दा सरकारले नेपालमा सुरुङयुग शुरू भएको दाबी गरेको थियो ।