शीर्षकहरू

लेखा अधिकृतसँग स्रोत नखुलेको चार करोड ६७ लाखको सम्पति, भ्रष्टाचार आरोपमा मुद्दा दायर

लेखा अधिकृतसँग स्रोत नखुलेको चार करोड ६७ लाखको सम्पति, भ्रष्टाचार आरोपमा मुद्दा दायर

काठमाडौं । चार करोड रुपैयाँभन्दा बढी सम्पत्तिको स्रोत नखुलेपछि जलस्रोत अनुसन्धान विकास केन्द्रका लेखा अधिकृत तोरणबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीविरुद्ध विशेष अदालतमा आरोपपत्र (मुद्दा) दायर गरेको हो ।

आयोगमा कार्कीविरुद्ध पदको दुरुपयोग अकुत सम्पत्ति आर्जन गरेको उजुरी परेको थियो । सो उजुरीमाथि अनुसन्धान कार्कीले १६ वर्षमा एक करोड आठ लाख ४८ हजार ५९० रुपैयाँ छ पैसा मात्र वैध आर्जन गरेको अख्तियारले ठहर गरेको छ ।

तर, कार्कीले सोही अवधिमा जोडेको घरजग्गा, रजिष्ट्रेसन दस्तुर, अध्ययन खर्च, ऋण लिएबापत तिरेको ब्याज, बीमा प्रिमियमवापत तिरेको रकम, सवारी साधन खरिद, विभिन्न कम्पनीहरूको शेयर खरिदरलगानी गर्दा भएको खर्च, पुँजीगत लाभकर, घर वहाल कर, बैंक मौज्दात गरी चार करोड ६७ लाख ३८ हजार ७८० रुपैयाँ ६६ पैसाको स्रोत नखुलेको अख्तियारले जनाएको छ ।

अधिकृत कार्कीको वैधानिक आयको तुलनामा खर्च एवं लगानीसहितको सम्पत्ति विवरण अमिल्दो र अस्वभाविक देखिएको ठहर गर्दै अख्तियारले निजविरुद्ध साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर लगाएको हो । निजलाई स्रोत नखुलेको बराबरको रकम अर्थात्‌ चार करोड ६७ लाख ३८ हजार ७८० रूपैयाँ ६६ पैसा कायम गरी बिगो बमोजिम जरिवाना र कैद सजाय माग गरिएको छ ।

यसैगरी कार्कीले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानूनी रुपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति श्रीमती उर्मिला थापा कार्कीसमेतको नाममा जग्गाहरू खरिद, शेयर खरिद, सवारी साधन खरिद तथा बैंक खाताहरूमा रकम मौज्दात लगायतमा गरिएका खर्चमध्ये स्रोत पुष्टि हुन नसकेको लागत मूल्य बराबरको भागको स्रोत नखुलेको सम्पत्ति विगो जफत गर्न पनि माग गरिएको छ

यस प्रयोजनार्थ मात्र साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग, दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ख बमोजिम उर्मिला थापा कार्कीलाई प्रतिवादी कायम गरी स्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको सम्पत्तिमध्येबाट बिगो र जरिवाना जफत गरी पाउन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप(पत्र दायर गरिएको अख्तियारले जानकारी दिएको छ ।