aarthiknews.com शुक्रबार, २२ मंसिर २०८०   Friday, 08 December, 2023
 
Royal Enfield

बाराही सेदीले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १२ भदौ २०८०
Global IME
बाराही सेदीले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल
DHI
nmb

काठमाडौं । पोखराको लेकसाइडमा पाँचतारे होटेल बनाइरहेको बाराही सेदी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पुँजी १ अर्ब १६ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ११ करोड ६० लाख रुपैयाँबरावरको आईपीओ निष्कासन गर्ने तयारीमा रहेको हो । 

उक्त होटेलले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । होटेलले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा बाराही सेदीका तर्फबाट कार्यकारी सञ्चालक विप्लव पौडेल र एनएमबि क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले हस्ताक्षर गरेका छन।

अब कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएर स्वीकृती पाएपछि मात्रै आईपीओ निष्कासन गर्नेछ । हाल करिब ५१ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको उक्त होटल सन् २०२५ सालदेखि सञ्चालनमा ल्याउने योजनाका साथ तीव्रगतिमा निर्माण कार्य भइरहेको छ । होटेलमा १० वटा प्रिसिडेन्सियल स्विटसहित १५० कोठा र ११ वटा सर्भिस हाउस रहनेछन् । 

पोखराको लेकसाइडमै पाँचतारे होटेलको माग बढ्दै गएकाले क्यासिनोसहितको सुविधा सम्पन्न होटल बनाउन लागिएको कम्पनीले जनाएको छ । १ हजार २०० क्षमताको हलसमेत रहने यो होटेलमा इन्फिनिटी स्विमिङ पुल, हेल्थ क्लब, टावर लिफ्ट लगायतका आकर्षण हुनेछन् । विगत ३० वर्षदेखि पर्यटन व्यवसायमा संलग्न बाराही ग्रुपले यस बाराही सेदीको अलावा पोखराकै लेकसाइड होटेल बाराही, काठमाण्डौको ठमेलमा होटेल बाराही काठमाडौं, चितवनको मेघौलीमा बाराही जंगल लज सञ्चालन गरिरहेको छ । बाराही ग्रुपले होटेल आवास पोखरा, सराङकोट माउन्टेन लजका अलावा लेकसाइडमा द ब्यञ्जन रेस्टुरेन्ट र खपौदीमा द बिच रेस्टुरेन्ट पनि सञ्चालन गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस