aarthiknews.com शनिबार, १६ मंसिर २०८०   Saturday, 02 December, 2023
 
Royal Enfield
sarbottamcement

बीमा व्यवसायमा पनि देखियो मन्दीको असर, घट्यो निर्जीवन बीमा कम्पनीहरूको व्यापार

  • रिता राउत
    रिता राउत
  • मंगलबार, १२ भदौ २०८०
Global IME
ime Limited
बीमा व्यवसायमा पनि देखियो मन्दीको असर, घट्यो निर्जीवन बीमा कम्पनीहरूको व्यापार
DHI
nmb

काठमाडौं । मुलुकको आर्थिक गतिविधिमा सुस्तता छाउँदा त्यसको असर बीमा क्षेत्रमा समेत स्पष्ट रुपमा देखिएको छ । त्यस्तो सुस्तता देखिने गरी चालू आर्थिक वर्षको पहिलो महिना साउनमै निर्जीवन बीमा कम्पनीहरूको व्यापार नै घटेको छ ।

गत आवको साउन महिनाको तुलनामा चालू आवको साउनमा ४९ करोड ७० लाख रुपैयाँले निर्जीवन बीमा कम्पनीहरूको व्यवसायमा गिरावट आएको हो । गत आव २०७९/८० मा साउन महिनामा निर्जीवन बीमा कम्पनीहरूले चार अर्ब ४८ करोड २९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । सो बीमाशुल्क २ लाख २१ हजार ६४४ वटा बीमालेख जारी गरेर प्राप्त भएको थियो  ।

तर, चालू आव २०८०/८१ को साउन महिनामा भने ३ अर्ब ९८ करोड ५८ लाख रुपैयाँ बराबरको मात्रै बीमाशुल्क संकलन भएको छ । यो बीमाशुल्क २ लाख १३ हजार ८०३ वटा बीमालेख जारी गरेर प्राप्त भएको छ ।  

‘आर्थिक गतिविधि घट्दा बीमा व्यवसायमा असर पर्‍यो’

मुलुकको आर्थिक गतिविधि घटेका कारण बीमा व्यवसायमा असर परेको नेपाल बिमक संघका अध्यक्ष चंकी क्षेत्री बताउँछन् । ‘अहिले अर्थतन्त्र चलायमान छैन । आर्थिक गतिविधि घटेको छ । सबैको क्रय क्षमता घटेको छ । खर्च गर्नका लागि आम्दानी हुनु पर्‍यो, आम्दानी नै नभएपछि कहाँबाट खर्च गर्न सक्नु ?’ उनी प्रश्न गर्दै अगाडी भन्छन्, ‘यी सबै कारणले गर्दा बीमा व्यवसाय घटेको हो ।’ 

आर्थिक गतिविधि बढ्ने बित्तिकै निर्जीवन बीमा कम्पनीहरूको पनि व्यवसाय बढ्ने दाबी गर्दै उनले अगाडी भने, ‘सबै क्षेत्रमा मन्त्री हुँदा हाम्रो व्यवसाय बढ्ने कुरै भएन । गाडी आयात खुला छ तर किन्ने ग्राहक नै छैन । किन्न सक्ने क्षमता नै घटेको छ । अर्थतन्त्र सुधार भयो भने, नागरिकको क्रय क्षमता बढ्यो भने, आर्थिक गतिविधि चलायमान हुन्छन् । त्यसपछि हाम्रो व्यवसाय पनि बढ्छ ।’ 

त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडका कम्पनी सचिव सुदर्शन आचार्य पनि आर्थिक गतिविधि घटेका कारण कम्पनीहरूको बीमाशुल्कमा पनि असर परेको बताउँछन् । उनी भन्छन्, ‘अहिले आर्थिक क्रियाकलापहरू घटेका छन् । आर्थिक क्रियाकलापहरू घट्ने बित्तिकै त्यसको असर बीमा क्षेत्रमा पनि पर्ने भइहाल्यो । जसको परिणाम कम्पनीहरूको बीमाशुल्क घट्यो ।’ गत वर्षको तुलनामा बीमाशुल्क संकलन धेरै नघटेका कारण आर्थिक स्थिति सुधार हुने बित्तिकै कम्पनीहरूको बीमाशुल्क पनि बढ्ने उनको भनाई छ ।   

‘नम्बर वान’ बन्यो सगरमाथा लुम्बिनी

चालु आर्थिक वर्षको पहिलो महिनामा राम्रो व्यापार सहित निर्जीवन बीमा तर्फ अग्रणी स्थानमा सगरमाथा लुम्बिनी इन्स्योरेस कम्पनी रहेको छ । पहिलो महिना ‘नम्बर वान’ बन्न यो कम्पनीले सबैभन्दा बढी बीमाशुल्क संकलन गरेको छ । यस अवधिमा सगरमाथाले २४ हजार ४८० बीमालेख बिक्री गरेर ५५ करोड १५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै, सर्वाधिक बीमाशुल्क संकलन गर्ने दोस्रोमा सिद्धार्थ प्रिमियम इन्स्योरेन्स कम्पनी रहेको छ । यस कम्पनीले चालू आवको साउन महिनामा २७ हजार १८४ वटा बीमालेख बिक्री गरेर ४२ करोड ५० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । तेस्रोमा भने हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । यसले १९ हजार ४७० वटा बीमालेख बिक्री गरेर ३४ करोड ३७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

बढी बीमाशुल्क संकलन गर्ने चौथो नम्बरमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । यस कम्पनीले सो अवधिमा ३३ करोड ६८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । जुन बीमाशुल्क २२ हजार ५८३ वटा बीमालेख बिक्री गरेर प्राप्त गरेको हो । पाँचौँमा रहेको आइजिआई प्रूडेन्सियल इन्स्योरेन्स कम्पनीले १८ हजार ८६७ वटा बीमालेख बिक्री गरेर ३० करोड ४० लाख बीमाशुल्क संकलन गरेको बीमा प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।

अन्य कुन कम्पनीले कति गरे संकलन ? 

बीमा प्राधिकरणका अनुसार चालू आवको साउन महिनामा निर्जीवन बीमा व्यवसाय गर्नेहरूमध्ये नेपाल इन्स्योरेन्स कम्पनीले १४ करोड १९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीले २० करोड ७२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने राष्ट्रिय बीमा कम्पनीले २९ करोड ४४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

बीमा प्राधिकरणका अनुसार चालू आवको साउन महिनामा नेशनल इन्स्योरेन्स कम्पनीले चालू आवको साउनमा १९ करोड ६० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यस अवधिमा नेको इन्स्यारेन्स कम्पनीले २४ करोड ९८ लाख, प्रभु इन्स्यारेन्स कम्पनीले २५ करोड ६ लाख, एनएलजी इन्स्यारेन्स कम्पनीले २४ करोड ८ लाख र सानिमा जिआईसी इन्स्यारेन्स कम्पनीले १७ करोड ८८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।  

त्यस्तै, चालू आवको पहिलो महिनामा युनाइटेड अजोड इन्स्यारेन्स कम्पनीले २६ करोड ४६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । जुन बीमाशुल्क १६ हजार ७२१ वटा बीमालेख जारी गरेर प्राप्त भएको प्राधिकरणले जनाएको छ । 

यस्तो छ लघुबीमा व्यवसाय

हाल दुई वटा लघुबीमा कम्पनीहरू सञ्चालनमा रहेका छन् । लघु बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको साउन महिनामा ९५ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

जसमा नेपाल माइक्रो इन्स्यारेन्स कम्पनीले चालू आवको साउनमा ६३ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । जसका लाग यो कम्पनीले १७ वटा बीमालेख जारी गरेको थियो ।

त्यस्तै, प्रोटेक्टिभ माइक्रो इन्स्यारेन्स कम्पनीले चालू आवको साउन महिनामा ३२ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । जुन बीमाशुल्क ८ वटा बीमालेख बिक्री गरेर प्राप्त भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।      

प्रतिक्रिया दिनुहोस