शीर्षकहरू

१३ भन्सारबाट निर्यात शून्य, अर्थतन्त्रमा छैन सुधारको संकेत

१३ भन्सारबाट निर्यात शून्य, अर्थतन्त्रमा छैन सुधारको संकेत

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनाको वैदेशिक व्यापार हेर्दा मुलुकको आर्थिक अवस्था निकै संकट उन्मुख रहेको देखिएको छ । सरकारले आयात प्रतिबन्ध लगाएको गत वर्षको सोही अवधिको तुलनामा पूर्ण रुपमा खुला हुँदा समेत यो साल आयातमा आएको गिरावटले यस्तो सङ्केत गरेको हो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आवको पहिलो महिना साउनमा १ खर्ब २९ अर्ब २३ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालले आयात गरेको छ । गत वर्षको यही अवधिमा एक खर्ब ३१ अर्ब २८ करोड ६० लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको थियो ।

यसरी वस्तु तथा सेवा आयातमा देखिएको कमीले नेपालीको क्रय क्षमतामा ह्रास आएको चित्र प्रस्तुत भएको छ । सँगसँगै सरकारको राजश्व परिचालनमा समेत त्यसको असर देखा पर्छ । यसअघी नै प्रकाशित पहिलो महिनामा राजश्व सङ्कलनका तथ्याङ्कसमेत निराशाजनक देखिएका छन् । जसले हाम्रो अर्थतन्त्रलाई थप जटिल परिस्थिति तर्फ डोर्‍याइरहेको रुपमा विश्लेषकहरूले टिप्पणी गर्दै आएका छन् ।

त्यसो त यस अवधिमा निर्यातमा पनि कमी आएको छ । यस अवधिमा १३ अर्ब ५२ करोड ८६ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । गएको वर्षको सोही अवधिमा १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँको वस्तु र सेवा निर्यात गरिएको थियो। यसले हामी निर्यात बढाउनै पर्ने बाध्यात्मक अवस्थामा पुगेका बेला त्यो समेत गर्न सकिरहेका छैनौ भन्ने देखाएको छ ।      

समग्र व्यापार तर्फ हेर्ने हो भने चालू आर्थिक वर्ष २०८०/०८१ को पहिलो महिना अर्थात् साउनमा एक खर्ब ४२ अर्ब ७६ करोड ७६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको सोही अवधिमा एक खर्ब ४६ अर्ब ९ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।    

१३ भन्सारबाट निर्यात शून्य
साउन महिनामा १३ भन्सारबाट निर्यातको तथ्याङ्क शून्य रहेको छ । जसमा भद्रपुर भन्सार, चोभार, गौर, गौतम बुद्ध एयरपोर्ट भन्सार र जनकपुर भन्सार रहेका छन् ।

भन्सार विभागका अनुसार साउन महिनामा निर्यात गर्न नसक्ने अर्को भन्सारहरूमा महेशपुर, राजविराज, सती, सिराहा, सुनसरी, सुनौली, ठाडी र तातोपानी रहेका छन् । यी भन्सारबाट साउन महिनामा कुनै पनि वस्तु तथा सेवा निर्यात हुने सकेन ।

आठ नाकाबाट एक अर्बको पनि भएन निर्यात
चालू आवको साउन महिनामा आठ नाकाबाट एक अर्ब रुपैयाँ बराबरको पनि वस्तु तथा सेवा निर्यात हुन सकेको छैन । यस महिनामा कञ्चनपुरबाट १५ लाख ३५ हजारको मात्रै निर्यात भएको छ भने सर्लाही भन्सारबाट एक करोड १६ लाख ५४ हजारको मात्रै निर्यात भएको छ ।  

त्यस्तै, यस अवधिमा कैलाली भन्सारबाट ८ करोड ६८ लाख २० हजार रुपैयाँ बराबरको निर्यात भएको छ भने यस्तै, कृष्णनगरबाट १३ करोड ७३ लाख ९८ हजार, नेपालगन्ज भन्सारबाट १३ करोड ४४ लाख ६३ हजार, रसुवाबाट २२ करोड ४१ लाख ४ हजार, वीरगन्ज ड्राइपोर्टबाट ४५ करोड २८ लाख २२ हजार र जलेश्वरबाट २२ करोड ९१ लख ६८ हजार रुपैयाँ बराबरको निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।  

हवाई मार्गबाट सर्वाधिक निर्यात  
चालू आवको साउन महिनामा सबैभन्दा बढी हवाई मार्गबाट निर्यात भएको छ । यस अवधिमा अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट सर्वाधिक निर्यात भएको हो । चालू आवको साउन महिनामा यहाँबाट तीन अर्ब ३२ करोड ६७ लाख ४३ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।  

त्यस्तै, भैरहवा भन्सारबाट एक अर्ब ६ करोड ९३ लाख २१ हजार, विराटनगर भन्सारबाट दुई अर्ब ६९ करोड १० लाख ५५ हजार, वीरगन्जबाट दुई अर्ब ४२ करोड ४५ लाख ३८ हजार र मेचीबाट २ अर्ब ७३ करोड ९० लाख ३४ हजार बराबरको वस्तु तथा सेवा निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।   

८७ लाखको टमाटर निर्यात
एक महिनामा ८७ लाख रुपैयाँ भन्दा बढीको टमाटर निर्यात भएको छ । चालू आवको साउन महिनामा ८७ लाख ३० हजार रुपैयाँ बराबरको ६ लाख ७० हजार ५२० केजी टमाटर निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

भारतले गत साउन २१ गते नेपालको टमाटर आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको थियो । त्यसयता नेपालबाट टमाटर निर्यात बढेको हो । निर्यातित टमाटर सबैजसो भारत गएको भन्सार विभागले जनाएको छ ।