शीर्षकहरू

चालू आवको पहिलो महिना नेपालले बेहोर्यो एक खर्ब १५ अर्ब व्यापार घाटा

चालू आवको पहिलो महिना नेपालले बेहोर्यो एक खर्ब १५ अर्ब व्यापार घाटा

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना अर्थात साउनमा नेपालले एक खर्ब भन्दा बढी व्यापार घाटा व्यहोरेको छ । यस अवधिमा नेपालले एक खर्ब १५ अर्ब ७१ करोड १० लाख व्यापार घाटा व्यहोरेको हो । गत वर्षको सोहि अवधिमा नेपालले एक खर्ब १६ अर्ब ४७ करोड ६३ लाख रुपैयाा व्यापार घाटा व्यहोरेको थियो ।   

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आवको पहिलो महिना साउनमा निर्यात ८.६५ प्रतिशतले घट्दा आयात १.५६ प्रतिशतले घटेको छ । यस अवधिमा १३ अर्ब ५२ करोड ८६ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । गएको वर्षको सोहि अवधिमा १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँको वस्तु र सेवा निर्यात गरिएको थियो ।     

त्यस्तै, यस अवधिमा १ खर्ब २९ अर्ब २३ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालले आयात गरेको छ । गत वर्षको यही अवधिमा एक खर्ब ३१ अर्ब २८ करोड ६० लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको थियो ।    

यस अवधिमा वैदेशिक व्यापार २.२८ प्रतिशतले घटेको छ । गत साउन महिनामा एक खर्ब ४२ अर्ब ७६ करोड ७६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको सोहि अवधिमा एक खर्ब ४६ अर्ब ९ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।