शीर्षकहरू

भ्रष्टाचार आरोपमा वडाध्यक्षसहित तीन जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार आरोपमा वडाध्यक्षसहित तीन जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ । कपिलबस्तुको विजयनगर गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष तिलकराम कंडेलसहित तीन जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको हो ।  

वडाध्यक्षले बिजयनगर गाउँपालिकालाई बुझाउनुपर्ने शंकरपुर ताल ठेक्काको रकम ठेकेदारबाट लिई उक्त रकम गाउँपालिकालाई नबुझाई आफै हिनामिना गरेको पाइएको छ । कंडेलले शंकरपुर तालको ठेक्कावापतको रकम बिजयनगर गाउँपालिकाको खातामा जम्मा नगरी आफैले लिईखाई सार्वजनिक सम्पत्ति छ लाख दश हजार हिनामिना गरेको देखिन आएको आयोगको ठहर छ । उनीसंग सोहि रकम बराबरको बिगो मागसहित कैद सजाय माग गरिएको छ ।

त्यस्तै, शंकरपुर तालको ठेक्का कार्यमा पत्थरदेईया गाउँ विकास समितिको कार्यालयका तत्कालीन गाविस सचिव कृष्ण कुमार चौधरी  र ठेकेदार सेराज महम्मद विच सम्झौता भएकोमा ठेक्का सम्झौता बमोजिमको रकम दाखिला नभएको पाइएको छ । हालसम्म पनि दुई लाख ७० हजार रुपैयाँ रकम बिजयनगर गाउँपालिकाको खातामा जम्मा हुन बाँकी नै रहेको पाइएको छ । उनीहरुसंग पनि सोहि बराबर बिगो माग गरिएको छ । तीनै जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।