शीर्षकहरू

व्यवसाय गर्ने सोचले डोहोर्‍यायो, अघि बढिरहे ईश्वर

व्यवसाय गर्ने सोचले डोहोर्‍यायो, अघि बढिरहे ईश्वर

अर्घाखाँचीको खिल्जीमा जन्मिएका हुन्, ईश्वरप्रकाश श्रेष्ठ । परिवारको आर्थिक अवस्था सामान्य रहेकाले अर्घाखाँचीको सम्पत्ति बेचेर २०५२ सालमा दाङ, लमही नगरपालिका वडा नं. १ सुण्डवरीमा १९ कट्ठा जग्गा खरिद गरेर बसाइ सरी आए । 

आर्थिक अवस्था सामान्य भएकोले पढाइलाई निरन्तरता दिन नसकेका कारण २०५२ सालदेखि बोर्डिङ स्कुलमा अध्यापन गरी अघि पछिको समयलाई सदुपयोग गर्न केही व्यवसाय गर्ने सोच राखेको ईश्वर बताउँछन् । व्यवसाय सञ्चालन गर्न कर्जाको लागि राष्ट्रिय वाणिज्य बैंकमा सम्पर्क गर्दा अहिले कर्जा लगानी नभएको जवाफ पाए । 

धेरै पटक फर्किन परेको र अन्तमा व्यवसायका लागि कर्जा कृषि विकास बैंकले दिन्छ भनी कृषि विकास बैंकको शाखा लमहीमा सम्पर्क गरी २०६३ सालमा उक्त शाखाबाट कुखुरा पालन उद्देश्यमा कर्जा २४ हजार रुपैयाँ लिई ५० वटा ब्रोइलर कुखुराबाट व्यवसाय सञ्चालन गरेको जानकारी उनले बताए । 

व्यवसायलाई निरन्तरता दिँदै कुखुराको माग अनुसार सङ्ख्यामा विस्तार गर्दै २०६५ सालमा अध्यापन पेशा छोडेर एक लटमा १६ हजार ब्रोइलरसम्म पालेको अनुभव पनि सुनाउँछन् । ठूलो सङ्ख्यामा ब्रोइलर पालन गर्दा बजार व्यवस्थापनमा निकै समस्या झेल्नु परेकोले व्यवसायमा बदलाव ल्याउने सोचका साथ ब्रोइलर कुखुराको सङ्ख्या घटाउँदै लेयर्स कुखुरा पालन गर्न लागेका थिए । 

ब्रोइलर पालन व्यवसाय गर्दा बजारको अध्ययन पनि सँगसँगै गरेको र यही क्रममा बजारमा अण्डाको माग बढी भएको र स्थानीय स्तरमा माग अनुसारको अण्डाको आपूर्ति हुन नसकेको यथार्थलाई मनन गर्दै आफूले यो व्यवसाय गर्ने अठोट गरेको उनी बताउँछन् । 

कुखुरा पालनको पूर्वाधार र बजार सम्बन्धी जानकारी भएकाले व्यवसाय सञ्चालनको सुरुवाती दिनहरूमा खासै समस्या नभए पनि सञ्चालन गर्नु र जनयुद्ध पनि चरम बिन्दुमा पुग्नु, त्यस लगत्तै भारतीय नाकाबन्दीले व्यवसायमा विराम ल्याउनुपर्ने अवस्थामा आइपुगेको र यस्तो विषम परिस्थितिमा पनि कृषि बैंकले व्यवसायमा माग अनुसारको कर्जा थप गरिइदिँदाको प्रतिफल नै अहिलेको आफ्नो अवस्था हो भन्ने उनको भनाइ छ । बैंकबाट कर्जा कारोबार गर्दा बैंक प्रबन्धक तथा कर्मचारीबाट एकदम राम्रो सहयोग र सद्भाव पाएको, बैंकको सेवा छ । र सुविधाबाट सन्तुष्ट रहेको उनले सुनाए । 

हाल उनको खजाना एग्रो फार्म प्रालिको नाममा ब्याज अनुदान कर्जा रकम ४ करोड स्वीकृत भइसकेको व्यवसायमा निरन्तरता, लगाव, बजारको सूक्ष्म अध्ययन, बजारको माग अनुसार गुणस्तरीय उत्पादन, उत्पादित वस्तु बजारमा सहज रूपमा उपलब्ध गराउनु आवश्यक्तानुसार क्षमता विस्तार गर्नु र बैंकबाट समयमै आवश्यक वित्तीय सहयोग पाउनु उनको सफलताका कारक तत्त्वहरू हुन् । 

व्यवसायमा निरन्तरता र लगाव भएमा सानो लगानी वाट सुरु गरेको व्यवसायबाट एक सफल उद्यमी बन्न सकिने उदाहरणीय व्यक्ति बन्न सफल हुनुभएका ईश्वर कुखुरा व्यवसायसँग सम्बन्धित अन्य व्यवसायीहरूले पनि संयुक्त रूपमा लगानी गरी उद्योग सञ्चालन गर्न सकिने धारणा राख्छन् । 

सुरुमा १९ कट्ठा जग्गा, कच्ची इँटाको घर र कुखुराको सानो खोर रहेकोमा अहिले परियोजना स्थलमानै थप ३७ कट्ठा जग्गा र २ तले पक्की घर भई कुखुराको १६ वटा पक्की खोर र ३ वटा गोदाम घर, भविष्यमा परियोजना विस्तारको लागि प्युठानमा ११० रोपनी जग्गा कम्पनीको नाममा खरिद, कुखुरा पालनसँग सम्बन्धित अन्य परियोजनाहरू फिड इन्डस्ट्रिज, पोल्ट्री ब्रिडिङ्गमा शेयर लगानी, २ वटा कार, २ वटा अण्डा सप्लाई गर्ने पिकअप भ्यान, १ वटा ट्र्याक्टर खरिद गरिसक्नु भएको छ । यसका साथै स्थानीय स्तरमा प्रत्यक्ष रूपमा २५ जनालाई रोजगारीको अवसर प्रदान गर्दै आए ।

आर्थिक अभावका कारण आफ्नो पढाइलाई निरन्तरता दिन नसके ईश्वरले आफ्ना २ छोरामध्ये जेठोलाई आफ्नै व्यवसायसँग सम्बन्धित विषय भेटनरी डाक्टर बनाइसक्नु भएको छ । छोरा र उनको संयुक्त लगानीमा कपिलवस्तुमा भिन्दुना एग्रो प्रालि पनि सञ्चालनमा आएको छ भने कान्छो छोरा कृषिमा स्नातक पढ्दै गरेको उनी बताउँछन् । 

समयानुकूल ठूला उद्यमी व्यवसायीहरूलाई आकर्षित गर्न उद्यमीको हित हुने किसिमको व्याजमा सहुलियत कर्जा, बैंकको सेवा सुविधामा छिटो छरितो तरिका, सहज कर्जा उपलब्धताको व्यवस्था, उत्कृष्ट उद्यमीलाई सम्मान तथा प्रोत्साहनको वातावरणमा बैंकले ध्यान दिनुपर्ने उनको सुझाव छ ।

(कृषि विकास बैंकले सार्वजनिक गरेको सफलताको कथाबाट साभार ।)