शीर्षकहरू

यो वर्षको प्रगति ९० प्रतिशत पुर्‍याइनेछ : मन्त्री ज्वाला

यो वर्षको प्रगति ९० प्रतिशत पुर्‍याइनेछ : मन्त्री ज्वाला

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चालु आर्थिक वर्षमा ९० प्रतिशत प्रगति हासिल गर्नेगरी काम गरिने बताएका छन । मन्त्रालयले राजधानीमा आयोजित एक कार्यक्रममा उनले गत वर्ष ७० प्रतिशत प्रगति भएकामा चालु आवमा २० प्रतिशत बढाइने बताए । कोभिडको असर बाँकी रहनु, निर्वाचनको वर्ष हुँदाहुँदै पनि हासिल भएका उपलब्धि नराम्रो नभए पनि अझै सुधार गर्नुपर्ने ठाउँ रहेको उनको भनाइ छ । 

भौगोलिक अवस्थाका कारण बाढीपहिराले ठाउँठाउँमा सडक अवरुद्ध भए पनि सकेसम्म चाँडो खुलाएको उनले बताए । बाढीपहिरोको जोखिम रहेका स्थानमा उपकरण तयारी अवस्थामा राखी सडक अवरुद्ध हुनासाथ खुलाएको मन्त्री ज्वालाको भनाइ थियो । 

उनले भने, “हेवा खोलामा आएको बाढीले अवरुद्ध सडक तदारुकताका साथ खुलाइयो भने नारायणगढ–बुटवाल सडक खुलाउँदै आइएको छ ।” मन्त्री ज्वालाले आगामी दशैँसम्ममा काठमाडौँ उपत्यकाका सडक खाल्डाखुल्डीरहित बनाइने बताए । 

अहिले वर्षाका कारण ठाउँठाउँमा खाल्डाखुल्डी देखिएको भए पनि वर्षा कम हुनासाथ हटाइने उनको भनाइ छ । मन्त्री ज्वालाले निर्माण व्यवसायीको मागप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै उनीहरुको माग पूरा गर्नका लागि छलफल भइरहेको जानकारी दिए । उनले भने, “भुक्तानीको समस्या समाधान भएपछि अरु समस्या पनि कसरी समाधान गरिने भन्ने विषयमा छलफल हुनेछ ।”

भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माले भुक्तानीको समस्या र कोभिडको असर हुँदाहुँदै पनि देशभरका आयोजनाको औसत प्रगति राम्रो भएको दाबी गरे । काठमाडौँ उपत्यकामा कतै खानेपानीको पाइप त कतै नेपाल विद्युत् प्राधिकरणको ‘अण्डर ग्राउण्ड’ तारका कारण सडकमा समस्या आएको उनको भनाइ थियो । 

सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले देशभरमा ठूलो सङ्ख्यामा पुल निर्माण भइरहेको बताए । भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव अर्जुनजङ्ग थापाले देशभरका सडकको वर्गीकरण सुुरु गरिएको भए पनि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि सहभागी नहुँदा गति नलिएको बताए ।