शीर्षकहरू

निजी क्षेत्रप्रति अर्थमन्त्री क्रुद्ध, भने- ‘कर नतिर्ने, नचाहिँदो हल्ला गर्ने ?’

निजी क्षेत्रप्रति अर्थमन्त्री क्रुद्ध, भने- ‘कर नतिर्ने, नचाहिँदो हल्ला गर्ने ?’

काठमाडौं । अर्थतन्त्रबारे नकारात्मक हल्ला फैलाएको भन्दै निजी क्षेत्रप्रति अर्थमन्त्री डा. प्रकाश शरण महत क्रुद्ध देखिएका छन्‌ । कर नतिर्ने र अर्थतन्त्रबारे नकारात्मक हल्ला फैलाउने गतिविधि गरेको भन्दै अर्थमन्त्रीले निजी क्षेत्रप्रति रोष प्रकट गरेका हुन्‌ ।

आन्तरिक राजस्व विभागले आज (मंगलबार) आयोजना गरेको व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले भने, ‘कर तिर्नेको सङ्ख्या थोरै छ, कर तिर्नुपर्नेको सङ्ख्या धेरै छ । उनीहरूले कर तिर्न पनि सक्छन्‌ । उनीहरूलाई करको दायरामा ल्याउनुपर्छ ।’

कार्यक्रममा नेपाल उद्योग वाणिज्य  महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले नेपालको अर्थतन्त्र झन्झन् गम्भीर मोडमा रहेको बताएका थिए । सोका विषयमा अर्थमन्त्री महतले भने, ‘निजी क्षेत्रले सम्पूर्ण रूपमा खराब छ भन्नु हुँदैन, अहिले अर्थतन्त्र सकारात्मक गतिमा छ । बिस्तारै ब्याज घटिरहेको छ । सकारात्मक गतिमा गइरहेको अर्थतन्त्रलाई सधैँ नकारात्मक भन्नु हुँदैन । हामी सकारात्मक दिशामा जानुछ, जानुपर्छ । यसो गर्न सक्दा मुलुक राम्रो गतिमा जान सक्छ ।’

उनले निजी क्षेत्रलाई नकारात्मक कुरा मात्र नगर्न, बरु सकारात्मक कुराहरूको चर्चा गर्न सुझाए । उनले भने, ‘सकारात्मक गतिमा गइरहेको अर्थतन्त्रलाई सधैँ नकारात्मक भन्नु हुँदैन । अब अर्थतन्त्र सुधारतर्फ जान्छ  । नकारात्मक मात्र कुरा गर्ने हैन । निजी क्षेत्रले खराब मात्र छ भनेर हल्ला फैलाए । हाम्रो देशमा नकारात्मकता नै लोकप्रिय हुने गरेको छ । राम्रो कुराको चर्चा  नै हुँदैन । सकारात्मक कुराहरूको चर्चा हुनुपर्छ ।’

पछिल्लो समय बैंकहरूसँग पैसा (तरलता) रहेपनि यस्तै नकारात्मक हल्लाका कारण कर्जा विस्तार हुनबाट रोकिएको अर्थमन्त्री डा. महतले उल्लेख गरे ।  नेपाल ऋणात्मक वृद्धि नभएको भन्दै उनले वृद्धिको रफ्तार मात्रै कम भएको बताए ।

आन्तरिक उत्पादन बढाउनका लागि संरक्षण गर्ने सरकारको नीतिको किसानहरूले स्वागत गरेको उल्लेख गर्दै उनले अगाडी प्रश्न गर्दै भने, ‘आन्तरिक उत्पादन बढाउनुपर्छ भन्नेमा सबैको एकमत छ। यसका लागि सरकारले एक तहको संरक्षणको ग्यारेन्टी गरेको पनि छ तर निजी क्षेत्रबाटै यसको विरोध किन भयो ? के सधैँ आयातमात्र गर्नुपर्छ भन्ने कुरा हो ?’ 

‘आन्तरिक उत्पादन बढाउन सरकारले धेरै नै सुविधा ल्याएको छ, ती कुराहरूलाई बिर्सनु भएन । आन्तरिक उत्पादन बढाउन दिएको सुविधालाई किन यस्तो गरेको, भएन भनेर भन्ने गरिएको छ, यो विरोधाभास हो ।’ अर्थमन्त्री महतले पछिल्लो समय नेपालको अर्थतन्त्र सकारात्मक गतिमा रहेको दाबी गरे । यसप्रति निजी क्षेत्र सकारात्मक हुनुपर्ने उनको भनाइ छ ।

‘कर तिर्ने भन्दा छल्ने धेरै’

नेपालमा कर तिरिरहेकाको तथ्याङ्क हेर्दा धेरैले कर नतिरेको (छलेको) पनि अर्थमन्त्री डा. महतले बताएका छन्‌ । हाल कर तिरिरहेका भन्दा धेरै सङ्ख्यामा व्यक्ति तथा फर्मलाई करको दायरामा ल्याउन आवश्यक रहेको उनको भनाइ छ ।

केही व्यक्ति तथा फर्मले भने बढी कर तिर्न तयार रहे पनि मूल्य अभिवृद्धि कर (भ्याट) मा आउन आनाकानी गरिरहेको अर्थमन्त्रीले बताए । उनले प्रश्न गरे, ‘बढी कर तिर्न तयार, तर भ्याटमा आउन नचाहने पनि छन्‌ । भ्याटमा आउन किन समस्या हो त ? यसमा पनि गम्भीर कुरा हुनसक्छ । यसको खोजी गर्नुपर्छ ।’

मन्त्री महतले आन्तरिक राजस्व विभागका अधिकारीहरूलाई आफ्नो जिम्मेवारी पूरा गर्न गम्भीर ध्यान दिन सुझाए । गत आर्थिक वर्षमा लक्षित राजस्व सङ्कलन नहुँदा बजेटको आकार नै खुम्च्याउनु परेपछि झस्किएका अर्थमन्त्रीले भने, ‘आगामी दिनमा राजस्वको लक्ष्य पूरा गर्ने, यसमा के कस्ता समस्या छ र त्यो समस्यालाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर सम्पूर्ण ध्यान दिनु पर्नेछ ।’ ग्रे मार्केटलाई करको दायरामा ल्याउन पनि राजस्वले गम्भीर ध्यान दिनुपर्ने अर्थमन्त्री महतकाे भनाइ छ ।

‘कर प्रशासनको छवि बदलिनुपर्छ’

अर्थमन्त्री महतले कर प्रशासनको छवि (इमेज) नै बदल्न जरुरी रहेको पनि बताएका छन्‌ । सबै करदाताहरूलाई सम्मानपूर्वक मित्रवत्‌ व्यवहार गर्न उनले कर प्रशासनलाई निर्देश गरे ।

‘कर तिर्नुपर्ने भए पनि विभिन्न बहाना बनाएर करको दायरामा नआएकाहरूलाई छुट दिनु हुँदैन, यसो गर्न दियो भने अरू करदाताहरू पनि भाग्न सक्छन्,’ उनले भने, ‘हाम्रोमा सानोतिनोलाई लछारपछार पार्ने, तर जो अनेक चलखेल गर्छ-उसलाइ के गर्ने हो या होइन भन्ने छ । करको दायरामा ल्याउने हो ।’