शीर्षकहरू

‘डिजिटल बैंकिङको डाटा सुरक्षा र गोपनीयतामा शंका गर्नुपर्दैन’

‘डिजिटल बैंकिङको डाटा सुरक्षा र गोपनीयतामा शंका गर्नुपर्दैन’

काठमाडौं । कोरोना महामारी पछि नेपालको बैंकिङ क्षेत्रमा आएको एउटा महत्त्वपूर्ण परिवर्तन भनेकै ग्राहकमा बढेको डिजिटल कारोबार प्रतिको विश्वास हो । त्यही कारण ग्राहकहरुको प्राथमिकतामा परेको डिजिटल कारोबार तीव्र गतिमा बढिरहेको छ ।      

सिटिजन्स बैंक इन्टरनेसजल लिमिटेडले पनि कारोबार सुरु गरेदेखि नै डिजिटलाइजेसनलाई विशेष प्राथमिकता दिएको छ । वि.स. २०६४ सालमा यो बैंक स्थापना हुँदा मोबाइल बैंकिङका प्रयोगकर्ता त्यति थिएनन् । तर, कार्ड प्रयोगकर्ताहरू भने बढ्दो क्रममा रहेका थिए । बैंकले त्यो बेलामा कार्डको सेवा उत्कृष्ट रुपमा प्रदान गरेको थियो । त्यो दिनदेखि अहिलेसम्म बैंकको डिजिटल तर्फको यात्रा निरन्तर जारी रहेको सिटिजन्स बैंकका चिफ मास बैंकिङ अफिसर रोशन मानन्धर बताउँछन् ।

राष्ट्र बैंकले पनि डिजिटल कारोबार गर्नलाई नै प्रोत्साहन गरिरहेको छ । त्यसले गर्दा बैंकहरु पनि डिजिटल कारोबारमा नै प्राथमिकता दिएर अगाडी बढेका छन् । यसरी कारोबार गर्नेहरुले आफ्नो सेवालाई सहर केन्द्रित मात्र गरेका छैनन् बरु ग्रामीण क्षेत्रमा पनि डिजिटल कारोबार बढाउनु पर्छ भन्ने सोचले अघि बढिरहेका छन् । जसमध्ये एक हो, सिटिजन्स इन्टर्नेशनल बैंक ।   

डिजिटल कारोबारमा धेरै चुनौतीहरू रहेको मानन्धर बताउँछन् । डिजिटल ठगीका घटनाहरू पनि बढिरहेका छन् । गलत व्यक्तिहरूले चिट्ठा पर्‍यो भन्दै बैंक खाताको पिन नम्बर माग्ने लगायत गरेर ठगी गर्ने गरिएको पनि पाइएको छ । यस्ता घटनाहरू नहोस् भनेर सिटिजन्स बैंकले विभिन्न प्रकारका जनचेतनामूलक कार्यक्रमहरू गर्दै आएको उनले जानकारी दिए । 

ठगीबाट जोगिने उपायबारे उनी भन्छन्, ‘यस्ता ठगीमा नपर्नका लागि ग्राहकहरूले मोबाइल बैंकिङ प्रयोग गर्दा आफ्नो मोबाइलबाट मात्रै प्रयोग गर्ने गर्नु पर्छ । सकभर पब्लिक वाई फाइ प्रयोग नगर्ने, आफ्नै डाटामा प्रयोग गर्ने गर्नु पर्छ । आफ्नो खाता नम्बर र पिन नम्बर भनेको एकदम संवेदनशील कुरा हो त्यो जो पाए त्यसलाई दिन हुँदैन । आफ्नो पासवर्डहरू कसैलाई शेयर गर्नु हुँदैन । कसैले ह्वाट्सएपबाट विभिन्न डकुमेन्ट मागेमा कसैलाई पनि दिन हुँदैन । ग्राहकले आफ्नो बैंकको इन्फरमेसन कसैलाई पनि नदिने हो भने यस्ता ठगीमा घटना घट्न सक्दैनन् ।’ 

‘डिजिटल कारोबारमा अवसरहरू धेरै छन् । अवसरहरूमा चुनौतीहरू पनि हुन्छ । विभिन्न चुनौतीहरूको वावजुदपनि डिजिटल कारोबार गर्नेहरू बढिरहेका छन् । यो एकदमै राम्रो हो’, मानन्धरले भने ।  

डिजिटल कारोबारले ग्राहकसँगै बैंकहरुलाई पनि फाइदा पुर्‍याएको उल्लेख गर्दै उनी भन्छन्, "डिजिटल कारोबार नहुँदा धेरै शाखा, धेरै टेलर अनि धेरै कर्मचारीहरू राख्नु पर्ने हुन्थ्यो । बैंकमा भिडभाड हुने गर्थ्यो । तर, डिजिटल कारोबारले गर्दा थोरै कर्मचारीहरूबाट धेरै काम हुने गरेको छ ।" 

सिटिजन्स बैंकमा डिजिटलरुपमा सबैजसो प्रोडक्टहरु छन् । अहिले नम्बर सबैभन्दा बढी कारोबार गर्ने प्लेटफर्म भनेको नै मोबाइल बैंकिङ हो । पहिले जस्तो बैंक मै गएर नगद निकाल्ने चलन एकदमै कम हुँदै गएको छ । उनका अनुसार दोस्रोमा भने कार्ड छ । त्यसमा नेपाली रुपैयाँसँगै डलरबाट कारोबार गर्ने समेत सेवा दिइरहेको उनले बताए।

कार्डको प्रचलनसँगै क्युआरको प्रयोग पनि राम्रो छ । डिजिटल कारोबारले ग्राहकलाई पुगेको लाभ बारे उनी भन्छन्,  "नगद बोकेर नै किनमेल गर्नु परेको छैन । पहिले पहिले लामो लाइनमा बसेर शेयर भर्नु पर्ने बाध्यता थियो । हामीले डिम्याटको सेवा ल्यायौँ । त्यसले गर्दा अहिले मोबाइलबाट नै एक क्लिकमा शेयर भर्न सकिन्छ ।"

डिजिटल बैंकिङमा डाटा सुरक्षा र ग्राहकको गोपनीयता महत्त्वपूर्ण हुन्छ । यसबारे बेलाबेला कति सुरक्षित छ भनेर ग्राहकहरूले सोध्ने गरेको अनुभव उनीसँग छ । जसको जवाफमा उनी भन्छन्, "ग्राहकको गोपनीयतालाई बैंकले विशेष प्राथमिकता दिएको नै हुन्छ । सिटिजन्स बैंकका ग्राहकले आफ्नो गोपनीयतामा शङ्का गर्नु नै पर्दैन ।" 

उनले थपे, "डिजिटलरुपमा सेवा लिनका लागि ग्राहकहरूले दिएका कागजात प्रमाणीकरणको लागि एक पटक बैंकमा नै ग्राहकहरूलाई बोलाउने गरेका छौँ । कुनै ग्राहकले अनलाइन खाता खोल्नु भयो भने त्यो खातालाई हामीले ग्राहक एक पटक भेरिफाइको लागि बैंकमा उपस्थित नभएसम्म सुचारुको अनुमति दिँदैनौँ । ग्राहकको सुरक्षाको लागि पनि यो काम गरेका छौँ ।" 

सिटिजन्स बैंकले फिनटेकहरुसंग साझेदारी र सहकार्यको वृद्धिसँगै बैंकको डिजिटल चक्रमा एकिकृत गर्दै पनि आएको छ । यसबारे स्पष्ट पार्दै उनी भन्छन्, "अहिले बैंकले जुनसुकै प्राडक्टहरु ल्याउँदा त्यसलाई आफैले विकास गर्न सक्दैन । त्यसले गर्दा बैंकहरुले फिनटेकहरुसंग साझेदारी गर्नै पर्छ । उहाँहरूको प्रडक्ट हामीले लिनु परेमा त्यसको परीक्षण पहिले नै गरेर, त्यसमा भएको विभिन्न समस्या र गोपनीयताको विषय सुल्झाएर मात्रै सेवा लिने गरेका छौँ ।"

उनका अनुसार सिटिजन्स बैंकको अगामी योजना पनि डिजिटल कारोबारलाई बढाउँदै लैजाने नै हो । काउन्टर ट्रान्जेसनहरु घटाउँदै लैजानु पर्छ भनेर यो बैंक अगाडी बढिरहेको छ । यसको लागि बजारमा चलिरहेका र ग्राहकहरूले चाहिरहेका सम्पूर्ण डिजिटल कारोबारका प्राडक्टहरु ल्याउने र लागू गर्ने काम सिटिजन्स बैंकले गरिरहेको छ । यसले गर्दा बैंकमा खाता खोल्दा नै ग्राहकहरूलाई डिजिटलरुपमा कारोबार गर्न मिल्ने सबै सेवाहरू सुचारु गर्न सुझाउने गरेको मानन्धर बताउँछन् ।

मानन्धरका अनुसार अहिले सिटिजन्स बैंकले कल सेन्टरहरू पनि सुरु गरेको छ । जुन २४ सैं घण्टा सेवाका लागि उपलब्ध छ । ग्राहकहरूले डिजिटल कारोबार मात्रै होइन बैंकसंग सम्बन्धित अन्य जुनसुकै कुराहरू सोध्नु परेमा कल गर्न सक्छन्। उनको दाबी छ, "हामी अन्य कुनै पनि वाणिज्य बैंकहरूभन्दा कम छैनौँ । कुन बैंकले के गरिरहेको छ भनेर हामीले बजारमा बेला बेलामा एनलाइसिस पनि गरिरहेका हुन्छौ । अझै पनि सुधार गर्नु पनि धेरै कुराहरू हुन सक्छन् । त्यसका लागि हामीले लागिरहेका छौँ ।"

अबको भविष्य भनेको नै डिजिटल कारोबार रहेको बताउँदै उनले भने, ‘पहिले जसरी बैंकमा नै गएर नगद बोकेर सेवा लिनु पर्छ भन्ने छैन । डिजिटल कारोबार गर्दा आफूलाई मात्रै होइन मुलुकको अर्थतन्त्रलाई नै पनि सपोर्ट गर्छ भन्ने उनको धारणा छ । डिजिटल कारोबार हुने बित्तिकै त्यहाँ नगद हुँदैन । नगद नहुने बित्तिकै रेकर्ड भन्दा बाहिर जाने भन्ने हुँदैन । सबै चिज बैंकिङ प्रणालीमा आउँछ । व्यक्तिदेखि व्यवसाय सबैको ट्रान्जेसन पारदर्शी हुन्छ । डिजिटल कारोबारले ग्राहक, बैकदेखि देशको अर्थतन्त्रलाई सघाउ पुर्‍याउने भएकोले यसलाई नै सबैले पहिलो प्राथमिकता दिनु पर्छ ।’  (मानन्धरसंग आर्थिक न्युजकी रिता राउतले गरेको कुराकानीमा आधारित)