शीर्षकहरू

इलामको पशुपति सामुदायिक वनमा भ्रष्टाचार, ८ जनाविरुद्ध मुद्दा दायर

इलामको पशुपति सामुदायिक वनमा भ्रष्टाचार, ८ जनाविरुद्ध मुद्दा दायर

इलाम । इलामको माइ नगरपालिका-१, २ र ३ मा रहेको पशुपति सामुदायिक वनको आम्दानी हिनामिना प्रकरणमा अध्यक्षदेखि लेखापरीक्षकसम्म कारबाही प्रकृयामा परेका छन्‌ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो सामुदायिक वनमा अनियमितता गरेको आरोपमा ८ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

वनको आम्दानी हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा पशुपति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुमारबहादुर बराईलीले प्रक्रिया नपुर्‍याई लागत इस्टिमेट, प्राविधिक बिल भरपाई नराखी समूहको निर्णय बिना आफू अनुकूल कागजात तयार गरी मिलेमतोमा भ्रष्टाचार गरेको आयोगले जानकारी दिएको छ । 

आयोगका अनुसार गरिबी निवारण शीर्षकका लागि विनियोजित रकमलाई अध्यक्ष बराइलीले लगायतले कार्यक्रम नभएको पुल निर्माणमा खर्च भएको भनी ४ लाख र आफू अनुकूल किर्ते कागजातसमेत तयार गरी स्टेशनरी सामाग्री, बोटविरुवा खरिद तथा वितरण, संयुक्त अनुगमन तथा झाडी सरसफाई, बैठक भत्ता तथा गरिबी निवारणका लागि विनियोजित रकमलाई कार्यक्रम नभएको ऐलानी जग्गा खरिद गरी पशुपति सामुदायिक वन उपभोक्ता समूहको ११ लाख ५ हजार ९३० समेत गरी कुल १५ लाख ५ हजार ९३० रुपैयाँ भुक्तानीको लागि झुट्ठा बिल भरपाई पेश गरेका थिए ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को (ङ) बमोजिम झुट्ठा बिल भरपाई बनाई भुक्तानी दिने कसुर गरेको देखिन आएकोले निज कुमार बहादुर बराईलीलाई १५ लाख ५ हजार ९३० रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना गरी बिगो असुल उपर हुन मागदाबी लिइएको आयोगले जनाएको छ ।

सो वन उपभोक्ता समूहका तत्कालीन सल्लाहकार समूह संयोजक अर्जुन कुमार थापा र सोही समूहका तत्कालीन कोषाध्यक्ष राम कुमारी खत्री विरुद्ध पनि झुट्ठा बिल भरपाई बनाई भुक्तानी दिने कसुर गरेको देखिन आएकोले चार लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।

यसैगरी सोही वन समूहका उपभोक्ता एवम्‌ चिलाउने गौडा हिले खोला क्रसिङ्ग फुटपात पुलका अध्यक्ष दिल बहादुर मगर र सोही समूहका उपभोक्ता एवं पुलका कोषाध्यक्ष रस्मिला बराईलीले  मतियारको कसूर गरेको देखिन आएकोले निजहरूलाई चार लाख रुपैयाँ बिगो कायम गरी सजाय मागदाबी लिइएको आयोगले जानकारी दिएको छ ।

दर्तावाला लेखापरीक्षक चन्द्र बहादुर बस्नेतले पनि वन उपभोक्ता समूहसँग मिलेमतो गरी नभएका कुरा देखाई लेखापरीक्षण प्रतिवेदन पेश गरेको पुष्टि हुन आएको आयोगले जनाएको छ । उनीविरूद्ध पनि कैद र जरिवाना हुन मागदाबी लिइएको आयोगले उल्लेख गरेको छ । 

वन उपभोक्ता समूहका तत्कालीन सचिव राम बहादुर मगर र सोही समूहका तत्कालीन कोषाध्यक्ष चन्द्र कला श्रेष्ठले झुट्ठा बिल भरपाई बनाई भुक्तानी दिने कसुर गरेको देखिन आएकोले निजहरू विरुद्ध कैद र जरिवाना गरी बिगो रकम असुल उपर हुन मागदावी लिइएको आयोगले जानकारी दिएको छ ।