शीर्षकहरू

ललितानिवास प्रकरणमा मुछिएका पूर्वप्रम भट्टराईले भने, ‘भ्रष्टाचार छानबिन गर्न बलियो आयोग चाहियो’

ललितानिवास प्रकरणमा मुछिएका पूर्वप्रम भट्टराईले भने, ‘भ्रष्टाचार छानबिन गर्न बलियो आयोग चाहियो’

काठमाडौं । बालुवाटारस्थित ललितानिवासको जग्गा किनबेच मामिलामा मुछिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिन गर्न बलियो र निष्पक्ष आयोग गठन हुनुपर्ने बताएका छन्‌ ।

उनले विगतका आयोगजस्तो नभई भ्रष्टाचारका सबै फाइल खोल्ने गरी उच्चस्तरीय आयोग गठनको आवश्यकता रहेको बताए । बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री भट्टराईले भ्रष्टाचार निर्मूल पार्नका लागि व्यक्ति व्यक्तिलाई मात्रै कारबाही गरेर नहुने जनाउँदै संरचनागत ढङ्गले जानुपर्ने बताए ।

उनले देशको प्रमुख कार्यकारीमाथि नै प्रश्न उठेको अवस्थामा उच्चस्तरीय र निष्पक्ष छानबिनका लागि आयोग गठन गर्नु आवश्यक रहेको बताए । संसद्मा प्रमुख विपक्षी दल नेकपा (एमाले)ले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्नु अधिकारको कुरा भएको बताए ।

ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले आफूमाथि पनि छानबिन गर्नुपर्ने आदेश दिएको विषयमा उनले आफू सहयोग गर्न तयार रहेको बताए । ‘मेरो पालामा थोरै एउटा सानो निर्णय भएको रहेछ, त्यो मेरो व्यक्तिगत कुरा थिएन’, भट्टराईले भने, ‘म बयान दिन म तयार छु ।’

पार्टीको प्रदेशस्तरीय प्रशिक्षण अभियान लिएर हिँडेका अध्यक्ष भट्टराईले संविधान जारीपछि माओवादी आन्दोलनको कार्यभार पूरा भएकाले आफू त्यसभन्दा पनि अघि बढेको बताए । मुलुकमा नयाँ र वैकल्पिक शक्तिको खाँचो औँल्याउँदै उनले सोहीअनुसार नेसपा अघि बढेको बताए ।