शीर्षकहरू

टिमुरलाई ब्राण्ड बनाएकी बसुमाया यसरी बनिन् अन्तर्राष्ट्रिय व्यापारी

टिमुरलाई ब्राण्ड बनाएकी बसुमाया यसरी बनिन् अन्तर्राष्ट्रिय व्यापारी

‘समय कसैको लागि अनुकूल र कसैको लागि प्रतिकुल हुँदैन । व्यक्तिको आँट र मेहनतले सबै कुरा निर्धारण हुन्छ ।’ अहिले यसो भन्न सक्ने अवस्थामा पुगेकी छिन्, बसुमाया तामाङ । तर, उनको अवस्था १४ वर्षअघि धेरै नै भिन्न थियो । सफल महिला उद्यमी बनेसँगै उनी अरूलाई हौसला दिँदै उल्लेखित वाक्य भन्न सक्ने अवस्थामा पुगेकी हुन् ।      

धादिङमा जन्मिएकी तामाङ नेपाली मन उद्योग खोल्नुअघि ज्यामी काम गरेर जीविकोपार्जन गरिरहेकी थिइन् । उनले विगतमा बालुवा चाल्ने, चर्खा कात्नेदेखि ठेलामा मःम बेच्चे जस्ता काम गरिन् । अहिले उनी सफल महिला उद्यमी बनेकी छिन् । 

कठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. १९ मा तामाङले नेपाली मन उद्योग सञ्चालन गरेकी छिन् । जितपुर फेदीमा समेत उनको अर्को उद्योग छ । जहाँ उनले विभिन्न थरिका अचार बनाएर देश विदेशमा पुर्‍याइरहेकी छिन् ।  

संघर्षबाट सफलतासम्म    

सफल उद्यमीको ‘ट्याग’ लिन उनले गरेका सङ्घर्ष सम्झँदा उनी आफै आश्चर्यमा पर्छिन् । ‘मेरो विगत एकदमै दुखदायी थियो । त्यस्ता दिन कसरी पार गरेर आएँ भनेर सोच्दा अहिले पनि आश्चर्य लाग्छ । कसैले पनि कल्पना गर्न नसक्ने दुखका दिन मैले बिताएँ’, उनी सुनाउँछिन् ।  

आमाबुवाको सम्बन्धमा खटपट भएपछि उनी परिवार धान्नका लागि उनी काठमाडौँमा आइन् । परिवारको जेठी सन्तान भएकोले पनि उनमा आफूभन्दा साना भाइको जिम्मेवारी थियो । एसएलसीसम्म उनी धादिङमै पढिन् । त्यसपछिको पढाई उनले काठमाडौंमै आएर गरिन् ।

‘कलेज पढ्दा मैले आफै काम गर्दै खर्च जुटाएर पढेको हो । आइए पछि भने मैले पढ्न पाइन । भाइहरूको जिम्मेवारी आफूमा भएकोले त्यहाँभन्दा अगाडी मैले पढाइलाई निरन्तरता दिन सकिन् । छोरी भएर पनि छोराको झैँ जिम्मेवारी निर्वाह गर्नु पर्यो’, उनले भनिन् ।

एक्लै सङ्घर्ष गर्दै आएकी उनी सहारा पाउने आसमा विवाहमा बाँधिइन् । अन्तरजातीय विवाह गरेकी उनको सम्बन्ध लामो समयसम्म टिक्न सकेन । ‘माइतमा आमाबुवाको मैले जे भोगेको थिएँ आफूमा पनि त्यस्तै परिवेश भयो । साथमा बच्चा लिएर म एक्लिएँ ’, तामाङ सुनाउँछिन् ।

एक्लै सङ्घर्ष गर्ने सोच सहित श्रीमान् परिवारसँग अलग्गिएपछि उनका सङ्घर्षका कठिन दिनहरू फेरि सुरु भए । जागिर खोजिन् । तर, पाइनन् ।  ‘काठमाडौंका गल्लीमा म धेरै भौँतारिएर हिँडेँ । जागिर कति ठाउँमा खोजे । पहुँचमा आफ्ना मान्छे थिएनन्  । काम पाउन सकिन ।’, विगतका व्यथा सुनाउँछिन् उनी ।

चर्खामा धागो कात्ने काम गरिन् । पाँच दिनमा जम्मा एक केजी धागो बन्थ्यो । त्यसबाट १७ रुपैयाँ आउँथ्यो । त्यसले गुजारा चलाउन सकस भएपछि उनी भाडामा स्विटर, मोजा बन्न थालिन् । 

त्यो बेला सम्झँदै उनी सुनाउँछिन्, ‘अनेक काम गरे । चर्खा कात्नेदेखी ज्याला मजदुरीसम्मको काम गरेँ । विष्णुमतीको खोलाबाट बालुवा निकालेर बेच्ने पनि गरियो । मैनबत्ती बनाएर बेचेँ । त्यसले पनि नभएपछि ठेला गाडामा मःम बेच्न थालेँ । मःम बेच्दा त्यहीँ अरूले पनि राख्न थालेपछि अचार मिठो बनाएर आफ्नामा ग्राहक तान्न टिमुरको छोप हालेर बनाउन थाले । त्यो धेरैले रुचाए ।’  

यसरी बन्यो टिमुरको ब्राण्ड

टिमुरको छोप हिमाली भेगमा धेरैले खानेकुरा हो । टिमुर जङ्गलमा यतिकै खेर जाने गरेको चिज हो । गाउँबाट आमासँग थोरै मगाएर उनले मःमको अचारसँगै टिमुरको छोप पनि चखाउन थालिन् । उनले जस जसलाई छोप दिन्थिन् उनीहरू फर्केर आउन थाले । ती ग्राहकले उनलाई यो छोप बनाएर बेच्यौँ भने बिक्री हुन्छ भनेर सुझाए । त्यसपछि उनी छोप पनि बनाउन थालिन् ।  

प्लास्टिकको पोका बनाएर टिमुरको छोप नाङ्लोमा राखेर बेच्न थालिन् । कहिलेकाहीँ स्कुलबाट फर्केपछि छोरीलाई त्यो छोप बेच्न लगाउने गर्थिन । उनले बनाएको छोप किनेर खाएका केही मानिसहरू उनी बस्ने ठाउँमै आएर अर्डर गर्न थाले । बाहिर जान लागेका उनीहरूले ठूलो प्याकेटमा बनाइदिनु न साह्रै मिठो रहेछ भन्दा उनी खुसीले दङ्ग पर्थिन् ।    

त्यसपछि बिस्तारै उनको टिमुरको व्यापारमा छोपको माग बढ्न थाल्यो । ‘विदेशजानेहरुले अर्डर गर्न थालेपछि नेपालमा पनि बजारको लागि प्याकेट बोकेर भाटभटेनी तिर कुदेँ । तर, उनीहरूले यस्तो नाङ्गो लिँदैनौँ । कम्पनी कुन हो के हो सबै लेबल चाहिन्छ भने । त्यसपछि मैले उद्योग नै दर्ता गरेर अचार बनाउन थालेँ’, उनले अगाडी भनिन्, ‘१० केजीसम्म अर्डर आउँदा खुसीको सीमा रहँदैन थियो । मेरो अचारको शक्ति एक पटक खाएपछि फेरि ग्राहक फर्केर आउने खालको छ । मैले अर्डर अनुसार नै बनाउने गरेँ ।’

जङ्गलमा खेर गइरहेको चिजलाई उनले सदुपयोग गरिन् । यसको माग बढ्दै गएपछि उनले विभिन्न ठाउँमा जग्गा लिएर टिमुरको खेती गर्न थालिन् । उनले नवलपुर, धादिङ लगायत विभिन्न ठाउँमा खेती गरेकी छिन् । आफैले खेती गरेर घरायसी मसला प्रयोग गरेर अचार बनाउँदै आएकी छिन् ।

‘टिमुरको भ्यालु नै नभएको बेला मैले यसलाई ब्राण्ड बनाएको हो । नेपालमा टिमुरको छोपको ब्राण्ड नेपालमा मैले नै बनाएको हो । अहिले अरूले पनि बनाउँछन् । उनीहरूले पनि मलाई नै देखेर बनाएका हुन्’, उनले सुनाइन् ।  

आफूले ब्राण्ड बनाएपछि धेरै उद्यमीहरू जन्मिएको उनी बताउँछन् । तामाङ भन्छिन्, ‘मैले बाटो देखाएर नै हो आज टिमुरको अचार बनाउने हजारौँ उद्यमीहरू जन्मिएका छन् । मैले बनाएको भन्दा टेस्ट फरक होला । तर, टिमुर अन्तर्राष्ट्रिय रूपमा माग हुने गरेको छ । नेपालीले मात्रै होइन विदेशीले समेत माग गर्ने गरेका छन् ।’

कहिल्यै हिम्मत हारिनन्

सानैदेखि आँटिली स्वभावकी उनी ’दुख पर्दा नआत्तिनु, सुख पाउँदा नमात्तिनु’ भन्ने उखानलाई आफूले आत्मसाथ गरेको सुनाउँछिन् । ‘दुख पर्दा म आत्तिएको थिइन र अहिले सुख पाउँदा समेत म मात्तिएको छैन । कति दिन म भोकै बसेँ । कुनै दिन मेरो छोराछोरीले खान माग्दा दिन नसक्ने अवस्था पनि मसँग थियो । तरकारी खुवाउन नसक्दा नुन र पानीमा प्याजको तरकारी बनाएर खुवाएका दिनहरू पनि थिए । यस्तोमा पनि मैले हिम्मत भने हारिन्’, उनले अगाडी थपिन्, ‘मान्छेहरू अहिले अलिकति ऋण लाग्यो भने, दुख प¥यो भने आत्मदाह, आत्महत्या गरिहाल्छन् । जिउन हिम्मत हार्छन् ।’  

‘म एक दिन सफल हुन्छु भनेर आफ्नो लक्ष्य लिएर अगाडी बन्ने हो भने एक दिन सफल भइन्छ । निरन्तरता दिने हो भने लक्ष्यमा पुग्न कुनै गाह्रो छैन’, उनको सुझाव छ ।  

मासिक ३५ लाखको अचार बिक्री

अहिले उनले मासिक २० देखि ३५ लाख रुपैयाँसम्मको अचार बेच्ने गर्छिन् । यसमा उनले प्रत्यक्षरुपमा ९५ जनासम्मलाई रोजगारी दिएकी छिन् । अप्रत्यक्षरुपमा दुई सय जनासम्मले रोजगारी पाएका छन् । विशेषगरि उनले एकल महिलाहरूलाई नै प्राथमिकतामा राखेर रोजगारी दिएकी छिन् ।

चार वर्षसम्म उनले टिमुरको छोप मात्रै बिक्री गरिन् । टिमुरको छोपबाट सफलता पाएपछि उनले बिस्तारै अन्य अचारहरू पनि बनाउन थालिन् । माछाको अचार, सुकुटीको अचार, डल्ले अकबरे, आँप, फर्सी, लौका, तामा, करेला, मुला, काँक्रो लगायतको अचार उनले बनाउँदै आएकी छिन् ।

पाइनन् सरकारको सहयोग

उद्यमी बनेको १४ वर्षको दौरानमा उनले सरकारबाट कुनै सहयोग पाइनन् । उनी भन्छिन्,  ‘सरकारको सहयोग पाउन पहुँच चाहिने रहेछ । मेरो त कोही थिएन । कहीँबाट केही सहयोग पाइन ।’ तर, यस वर्ष भने राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत उनले दुई लाख बराबरको प्रविधि पाएकी छिन् ।

झन्झटिलो प्रक्रियाले गर्दा उद्यमीहरू समस्यामा रहेको बताउँदै उनले भनिन्, ‘महिलाहरूले उत्पादन गरेको वस्तुहरूमा कर धेरै लगाउने गरेको छ । यसमा सरकारले ध्यान दिनु पर्छ । कर छुट हुनु पर्छ । बैङ्कसँग ऋण लिनु प¥यो भने भ्याटमा अनिवार्य जानु पर्ने अवस्था छ । गाउँबाट ल्याएको समानको भ्याट बिल आउने कुरा भएन । यसले घरेलु उद्यमीहरू समस्यामा परेका छन् ।’

सरकारले कागजलाई मात्रै हेरेर अनुदान दिन नहुने तामाङको भनाई छ । उनी भन्छिन्, ‘सरकारले कागज बोलेको भरमा अनुदान दिने होइन । वास्तविक उद्यमी को हो त्यसको पहिचान गरेर अनुदान दिनु पर्यो ।’     

अन्तर्राष्ट्रिय बजारमा निर्यात

उनले बनाएको आचार नेपालमा मात्रै होइन विदेशमा समेत निर्यात हुन्छ । बेलायतमा उनले कम्पनी नै दर्ता गरेर चलाएकी छिन् । त्यहाँको सबै काम उनका भाइले हेर्ने गर्छन् । दुबइमा समेत उनले कम्पनी दर्ता गरेर चलाएकी छिन् । त्यसबाहेक उनले बनाएको अचार अन्य मुलुकबाट समेत माग हुने गरेको छ । जसका लागि उनले अमेरिका, अस्ट्रेलिया, जापान, मलेसिया, सिंगापुर, हङकङ, बेल्जियम, जर्मन, कोरिया लगायत देशहरूमा डिलरसिप मार्फत निर्यात गर्ने गर्छिन् । नेपालमा पनि उनको अचार भाटभटेनीदेखि सेल्सबेरी स्टोरहरूमा समेत पाइन्छ ।  

उनले बनाएको अचार सुरुवातमा अमेरिकामा निर्यात भएको थियो । त्यसपछि अन्य देशहरूबाट समेत माग हुन थाल्यो । ‘सोसल मिडिया मार्फत अर्डर आएको थियो । नदेखिएको मानिससँग विश्वासको आधारमा मैले सामान पठाउन थालेँ । विश्वास अनुसार राम्रो नै भयो’, उनले भनिन् ।  

फोटो तथा भिडियोः श्यामसुन्दर गौरो/आर्थिकन्युज