शीर्षकहरू

पर्यटक आगमन उत्साहजनक, सात महिनामा पाँच लाख भित्रिए

पर्यटक आगमन उत्साहजनक, सात महिनामा पाँच लाख भित्रिए

काठमाडौं । सन् २०२३ को सुरुदेखि नै नेपालमा पर्यटकीय गतिविधि उत्साहजनक देखिएको छ । जनवरीदेखि जुलाईसम्म अर्थात् सात महिना अवधिमा पाँच लाख ३४ हजार २१० जना पर्यटक नेपाल भित्रिएका छन् ।

अध्यागमन विभागका अनुसार सन् २०२३ को जनवरीमा ५५ हजार ७४ जना पर्यटक नेपाल भित्रिए । सो महिनामा सबैभन्दा बढी पर्यटक भारतबाट आएको देखिन्छ । जनवरीमा भारतबाट मात्रै १६ हजार ४३६ जना पर्यटक नेपाल आए ।

त्यसयता विदेशी पर्यटक आउने संख्या बढ्दै गएको तथ्यांकबाट पुष्टि हुन्छ । जनवरी महिनाको तुलनामा फेब्रुअरी महिनामा १८ हजारभन्दा बढी पर्यटक नेपाल आएका थिए । यस फेब्रुअरी महिनामा ७३ हजार २५६ विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।

अघिल्लो वर्ष सन् २०२२ को फेब्रुअरीमा १९ हजार सात सय ६६ पर्यटकको नेपाल आगमन भएको थियो । सन् २०२१ को सोही महिनामा नौ हजार एक सय ४६ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

त्यस्तै, मार्च महिनामा करिब एक लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यस महिना ९९ हजार ४२६ जना विदेशी पर्यटक नेपाल आएका छन् । मार्चपछि अप्रिल महिनामा पनि पर्यटक आगमन उत्साहजनक नै देखिएको छ । अप्रिल महिनामा ९८ हजार ७७४ पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागले जनाएको छ ।

यस अवधिमा पर्यटक बढी आउने मुलुकमध्ये पहिलो स्थानमा भारत रहेको छ । जहाँबाट ३१ हजार ४३७ पर्यटक आएका छन् । अमेरिकाबाट आठ हजार ४१३ पर्यटक नेपाल आउँदा बेलायतबाट पाँच हजार ४०९ पर्यटक नेपाल आएका छन् ।

त्यसैगरि, मे महिनामा  ७७ हजार ७०४ जना पर्यटक नेपाल भित्रिएका थिए भने जुन महिनामा ७२ हजार २५० जना आएका थिए । जुलाई महिनामा ५७ हजार ७२२ जना पर्यटक हवाईमार्ग हुँदै नेपाल भित्रिएको अध्यागमन विभागले जानकारी दिएको छ ।

कुन महिना कति आए ?