शीर्षकहरू

तस्करहरूको ‘कनेक्सन’ केही राजनीतिक दलका उच्च नेतृत्वसँग

तस्करहरूको ‘कनेक्सन’ केही राजनीतिक दलका उच्च नेतृत्वसँग

काठमाडौं । अहिलेसम्मकै ठूलो मानिएको सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका तस्करहरूको ‘कनेक्सन’ केही राजनीतिक दलका उच्च नेतृत्वसँग देखिएपछि राजस्व अनुसन्धान विभागका अनुसन्धान अधिकृतहरू सकस र दबाबमा पर्न थालेका छन् ।

अझै सत्तारुढ दल माओवादी केन्द्रकै केही नेतासँग तस्करको उठबस भएका केही तथ्यहरूसमेत देखिएपछि अनुसन्धान अधिकृतहरूलाई थप सकस परेको बताइएको छ । यद्यपि, अनुसन्धान नरोकिने दाबी विभागका अधिकारीहरूको छ ।

त्रिभुवन विमानस्थलको भन्सार प्रशासनलगायत सबै सुरक्षा निकायलाई छलेर बाहिरीनै लाग्दा राजस्व अनुसन्धान विभागले सिनामंगलको सडकबाट तस्करीको सय किलो सुन गत २ असारमा बरामद गरेको थियो ।

सो तस्करी प्रकरणमा संलग्न भएको आरोपमा राजस्व अनुसन्धान विभागको टोलीले सशस्त्र प्रहरीको सहयोगमा १८ जनालाई पक्राउ गरी छानबिन जारी राख्दै आइरहेको छ ।

विभागले आइतबार सुन तस्करीका प्रमुख योजनाकारमध्येका एक दावा छिरिङलाई पक्राउ गरेलगत्तै सुन तस्करीका थप तथ्यहरू पत्ता लाग्ने विश्वास अधिकारीहरूले गरेका छन् । तर, छिरिङको कनेक्सन केही उच्च राजनीतिक नेतृत्वसँग देखिएपछि अनुसन्धानमा वाधा पुग्ने चिन्तासमेत अनुसन्धान अधिकृतमा देखिएको छ । नेपाल समाचारपत्र