शीर्षकहरू

हवाई सुरक्षा थप प्रभावकारी बनाउन ‘टास्क फोर्स’ समिति गठन

हवाई सुरक्षा थप प्रभावकारी बनाउन ‘टास्क फोर्स’ समिति गठन

काठमाडौं । हवाई सुरक्षा सुधार थप प्रभावकारी बनाउन ‘टास्क फोर्स’ समिति गठन गरिएको छ । वायुसेवा सञ्चालक संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै उक्त समिति गठन गरेको जानकारी दिइएको हो ।      

यस समितिमा चार जना सदस्य रहेका छन् । जसमा संयोजक पूर्व पर्यटन सचिव यज्ञप्रसाद गौतम रहेका छन् । गौतमसहित क्याप्टेन हिराबाबु दाहाल, नारायण बहादुर सिंह डंगोल र रवि कंसाकार  रहेका छन् । यसले हवाई दुर्घटनाको कारण, न्यूनीकरण, सुरक्षा अभिवृद्धि लगायत विषयहरुमा अध्ययन गर्ने भएको छ ।   

यस समितिले गर्ने कामका लागि एक महिनाको समय सीमा तोकिएको हुन्छ । उनीहरूले एक महिनाभित्रमा यी सबै कामहरू गरेर रिपोर्ट तयार पार्नेछन् । रिपोर्टपछि हवाई क्षेत्रमा सुधार गर्नु पर्ने पाटोहरू सुधार गरिने संघले जनाएको छ ।   

कुनै पनि हवाई दुर्घटना भएमा सरकारले छुट्टै समिति गठन गर्ने गर्छ । उनीहरूको रिपोर्ट अनुसार पनि हवाई क्षेत्रमा सुधारका कामहरू पनि भइरहेका छन् । तर, आफ्नै समिति गठन गर्दा थप केही सुधार गर्न सकिने संघका अध्यक्ष क्या. रामेश्वर थापाको भनाई छ ।    

सरकारले पनि आफ्नो तर्फबाट समिति बनाएको हुन्छ । तर, यसमा आफैले बनाएको समिति हुँदा आफूहरू भित्रको कमी कमजोरीलाई सुधार गर्नमा सहज हुने उनको तर्क छ । ‘सरकारले बनाएको रिपोर्टमा भन्दा आफैले तयार पारेको रिपोर्टहरू अझ बढी आन्तरिकरुपमा छलफल र सुधार गर्न सहज हुन्छ’, अध्यक्ष थापाले भने ।