शीर्षकहरू

कृषि सडकमा अनियमितता गरेका पालिकाका कर्मचारी र उपभोक्ता समिति नै अख्तियारको फन्दामा

कृषि सडकमा अनियमितता गरेका पालिकाका कर्मचारी र उपभोक्ता समिति नै अख्तियारको फन्दामा
फाइल फोटो ।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको पिपरा गाउँपालिकाकी पूर्व प्रमुख प्रशासकीय अधिकृत रंजिजा झा सहित ५ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ । अधिकृत झा र सब-इन्जिनियर श्यामकिशोर मण्डलविरुद्ध सोही गाउँपालिका-१ को एकरहिया कृषि सडकमा अनियमितता गरेको आरोप लागेको थियो ।

झा र मण्डलले ओलारदेखि खैरबा सडकको पीसीसी ढलान कार्यमा नभए नगरेको कार्यलाई बढी काम भएको नापी किताब तयार पारी बढी मूल्याङ्‍कन गरी झुट्टा नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरेको अख्तियारले विशेष अदालतमा दायर गरेको आरोपपत्रमा उल्लेख छ । उनीहरूले उपभोक्ता समितिलाई १ लाख ४८ हजार ९१० रुपैयाँ बढी रकम भुक्तानी दिई सरकारी रकम हानी-नोक्सानी पुर्‍याएको देखिएको पनि आयोगले दाबी गरेको छ ।

निजहरुउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) (ग) र (ङ) बमोजिमको कसुरमा १ लाख ४८ हजार ९१० रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन र सोही दफा बमोजिम बिगो असुल हुनसमेत मागदाबी लिइएको छ।

यस्तै, महोत्तरीकै निर्माण उपभोक्ता समितिका अध्यक्ष नवोनारायण मिश्र, सचिव कमरुल खातुन र कोषाध्यक्ष रतन साहले सडकको पीसीसी ढलान कार्यमा बढी काम भएको नापी किताब तयार पारी १ लाख ४८ हजार ९१० रुपैयाँ बढी मूल्याङ्‍कन गराई गलत नापी किताब, बिल भरपाई र कार्य सम्पन्न प्रतिवेदन तयार एवं स्वीकृत गराएका थिए ।

नभए नगरेको काममा १ लाख ४८ हजार ९१० रुपैयाँ बढी भुक्तानी लिई सरकारी रकम हानिनोक्सानी पुर्‍याएको पुष्टि भएको अख्तियारको ठहर छ । निजहरु उपर भ्रष्टाचार निवारण, ऐन २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा १ लाख ४८ हजार ९१० रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन र सोही दफा बमोजिम बिगो जफत हुनसमेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।