काठमाडौं । होटल संघ नेपाल (हान)ले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०।८१ को मौद्रिक नीतिले होटल तथा पर्यटन क्षेत्रको मौजुदा समस्या सम्बोधन गर्न नसकेको जनाएको छ । कोभिड–१९, रुस र युक्रेनको युद्धबाट चरम आर्थिक मन्दीको मारमा परेको होटल तथा पर्यटन क्षेत्रलाई मौद्रिक नीतिबाट पुनरकर्जा, पुनर्तालिकीकरण जस्ता मौद्रिक उपायहरूका साथै कम ब्याजदरको व्यवस्थाबाट यस क्षेत्रको जर्गेना गर्न होटल संघ नेपालले पहल गरेको हो ।
संघका अनुसार चालू आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतिले पर्यटक सङ्ख्या बढेको जनाउँदै आर्थिक गतिविधि समेत बढेको जनाए पनि निरन्तर थपिँदै गएको तारे लगायतका होटलहरुको कुल क्षमताको एक तिहाइ भन्दा पनि कम क्षमता उपयोग भई सञ्चालनमा समेत घाटा रहेको छ । वर्तमान अवस्थामा होटलहरुले बैंकलाई नियमित बुझाउनु पर्ने साँवा र व्याज तिर्न नसक्ने अवस्थामा पुगेको छ । गत आर्थिक वर्षको पछिल्लो तीन महिनाको मौद्रिक नीतिको समीक्षाले तिर्नु बुझाउनु पर्ने साँवा व्याजलाई पुनरकर्जा तथा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरेको भए तापनि हालको मौद्रिक नीतिमा यस्ता थप कुनै व्यवस्था नभएको हुँदा होटल तथा पर्यटन क्षेत्र अलमलमा परेको छ ।
मुलुकमा विश्व विख्यात होटल ब्रान्डहरू भित्रिने क्रम बढ्दै गएको भएता पनि मौजुदा मौद्रिक नीतिले यथेष्ट प्रोत्साहित गर्न नसकेको होटल संघ नेपालको बुझाई रहेको छ । ग्राहक पर्यटकका लागि उपयोग गर्ने तरकारीलगायतका कच्चा पदार्थमा लगाइएको कर र विलासिताका नाममा लिइएको करबाट पनि मुलुकमा पर्यटन अभिवृद्धि गर्न अप्ठ्यारो परेको छ । यस परिप्रेक्ष्यमा केन्द्रीय बैंकले लगानी आकर्षित गर्न र लगानी भइसकेका होटलहरुलाई प्रोत्साहन गर्न मौद्रिक नीतिको कार्यान्वयनमा आउने निर्देशिकाले उपयुक्त ढङ्गबाट यथेष्ट रूपमा सम्बोधन गरी होटल क्षेत्रलाई स्थायित्व प्रदान गर्ने छ भन्ने यस संघले विश्वास लिएको छ ।