शीर्षकहरू

रसुवागढी नाकाबाट २९ अर्बको मालवस्तु आयात

रसुवागढी नाकाबाट २९ अर्बको मालवस्तु आयात

रसुवा । नेपालको उत्तरी नाका रसुवागढी हुँदै मालसामग्री आयात एवं निर्यात हुने क्रम बढ्न थालेको छ । गत वर्षको फागुनसम्म प्रायः शून्य रहेको निर्यात चैत १८ यता क्रमिक रूपमा बढ्न गई रु एक अर्ब ४३ करोड दुई लाख बराबरको नेपाली मालवस्तु चीनतर्फ निर्यात भएको छ ।

चीनतर्फ निर्यात भएका मालवस्तुमा चाउचाउ, धातु, तामा तथा आल्मोनियमका भाडा, ऊनी गलैँचा, कार्पेट, नक्कली गहना, फलामे भाडा, डस्ना, नक्कली कपाल, अगरबत्तीलगायत रहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । तयारी कपडा, जुत्ता, चप्पल, सवारी साधन, मोबाइल, टेलिफोन, हाते झोला, सुति कपडा, मेशिनरी पार्टस, बिजुलीका तार सयौँ प्रकारका सामग्री चीनबाट आयात भएको छ । 

सो अवधिमा रू २९ अर्ब ९० करोड ४५ लाख बराबरको सामग्री नेपाल आयात भएको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले जानकारी दिए । यस नाकाबाट दश लाख केजी दाँतेओखर आयात भएको छ । अन्य आयात सामग्रीमा अप्टिकल फाइबर केबुल, मोटर्स पार्टस्, चश्मा, बिजुलीका तार, मेशिनरी पार्टस्का साथै स्याउ, लसुन रहेका छन् । प्रमुख भन्सार अधिकृत पाठकका अनुसार नियमानुसारको मूल्याङ्कनबाट भन्सार शुल्कवापत रू आठ अर्ब २४ करोड ८३ लाख राजस्व असुली भएको छ ।

सवारी साधनतर्फ चीनमा निर्मित साना ठूला गरी कूल एक हजार दुई  सय ८९ थान सवारी साधन रसुवागढी नाकाबाट नेपाल भित्रिएको छ । नेपालमा सञ्चालित जलविद्युत् आयोजनाको अधिकांश उपकरण रसुवागढीबाट आयात हुने गरेको सूचना प्रविधि अधिकृत निर्मल कँडेलले बताए । व्यापारीले चीनबाट आयात गरेका केही सवारीसाधन भने भन्सार हातामै रहेको र भन्सार प्रक्रिया पुर्याइ छुटाउने कार्य भने क्रमिक रूपमा अगाडि बढीरहेको जनाइएको छ । 

कोरोना सङ्क्रमणपश्चात गत चैत १८ गतेदेखि अर्थात् अप्रिल  महिनाको  १ तारेखदेखि नेपाली कन्टेनर सिधै केरूङ जान पाएपछि रसुवागढी नाकाबाट दुई हजारभन्दा बढी मालवाहक नेपाली ट्रक कन्टेनरले सामान बोकी केरूङ–काठमाडौँ ओेहरदोहर गरिसकेका छन् । नेपाली व्यापारीले आयात गरेका सवारीसाधनको मात्र मूल्याङ्कन गर्ने हो भने तीन अर्ब ८९ करोड ४२ लाख बराबरको हुन आउँछ । वर्षायामको बाढीपहिरो जस्ता समस्याले सडक मार्ग बिग्रने भएका कारण साउन भाद्र महिनाको ढुवानीमा भने केही मात्रामा कमी आउन सक्ने बताइएको छ । 

यद्यपी भन्सार विभागले तोकेको लक्ष्यभन्दा १२ प्रतिशत कम राजस्व सङ्कलन भएको छ । रु नौ अर्ब ३८ करोडको लक्ष्य राखिएकोमा गत आवमा आठ अर्ब २४ करोड ८३ लाख मात्र असुली भएको छ । यो लक्ष्यको प्रतिशत ८८ मात्र हो । चीनबाट आयात भएका जुत्तालगायतका माल सामग्री लोड भएका दुई सयभन्दा बढी ट्रक कन्टेनरको सामग्री व्यापारीद्वारा गत वर्ष जाँच पास गराउन बाँकी राख्दा राजस्व असुली कमी भएको बताइएको छ । 

गत वर्ष २०७९/८० को राजस्व असुली भने छ अर्ब ५५ करोड  रहेको छ । विगत तीन आर्थिक वर्षको तुलनामा राजस्व असुलीमा केही कमी हुँदै गएको छ । तत्कालीन कार्यालय प्रमुख रामप्रसाद रेग्मी कार्यरत रहँदा आर्थिक वर्ष २०७६/७७ मा आठ अर्ब २७ करोड ७७ लाख  राजस्व सङ्कलन भएको थियो भने आव २०७७/७८ मा  तीन अर्ब ५४ करोड २७ लाख राजस्व मात्र असुली भएको जनाइएको छ । भन्सार कार्यालयले गत आवमा व्यापारीबाट २९ करोड जरिवाना असुलिएको छ । 

व्यापारीले आयात गरेका माल सामग्री जाँच पास गर्नु पूर्व गरिएको घोषणा परिमाणको विवरणमा तथ्य फरक पर्ने र लेखिएका र कन्टेनरमा भेटिएका परिमाणमा फेरबदल पार्ने गरेका कारण जाँचकीको प्रतिवेदन एवं नियमको प्रवधान अनुरूप जरिवानाको राजस्व असुल उपर गरिएको भन्सार कार्यालयले जनाएको छ ।