शीर्षकहरू

आफन्तका कारण सबैभन्दा बढी विवादमा प्रचण्ड, ठूला नेताको साँघुरो घेरा

आफन्तका कारण सबैभन्दा बढी विवादमा प्रचण्ड, ठूला नेताको साँघुरो घेरा

काठमाडौं । प्रमुख दलका प्रमुख नेताका स्वकीय सचिव आफन्त छन्, त्यही कारण नेताहरू निरन्तर विवादमा पर्छन् । समाजले बारम्बार पेचिलो प्रश्न गर्दा पनि नेताहरू परिवारको घेराभन्दा बाहिर जान सक्दैनन् । ठूला नेताका ठूलै रहस्य, पर्खालभन्दा बाहिर नजाओस् भन्ने उद्देश्यले उनीहरूको घेरा पनि साँघुरिँदै छ । 

स्वकीय सचिवको भूमिकाका कारण विवादमा परिरहने नेतामा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल हुन् । वैशाख तेस्रो साता भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र विदेश सचिव विनयमोहन क्वात्रासँग दिल्लीमा भएको वार्तामा छोरी गंगा दाहाललाई सहभागी गराएपछि उनको तीव्र आलोचना भएको थियो । उक्त भेटवार्तामा परराष्ट्र मन्त्रालयका कुनै प्रतिनिधि सहभागी थिएनन् । टीकाटिप्पणी बढेपछि प्रधानमन्त्री दाहालले छोरी गंगा आफ्नो सचिवालयमा रहेको र पार्टीको केन्द्रीय सदस्यसमेत रहेकाले उपस्थिति स्वाभाविक रहेको स्पष्टीकरण दिएका थिए ।

सशस्त्र द्वन्द्वकै बेलादेखि माओवादी अध्यक्ष दाहालले छोरा प्रकाशलाई सचिवालयमा राखेका थिए । शान्ति प्रक्रियामा आइसकेपछि प्रकाश दाहालको भेटघाट निर्धारण गर्ने प्रमुख भूमिकामा थिए । ०६५ मा पहिलो पटक प्रधानमन्त्री हुँदा दाहालले प्रकाशसँगै भतिज समीरलाई पनि निजी सचिव बनाएका थिए । प्रधानमन्त्रीका रूपमा चीन भ्रमणमा जाँदा राज्यको प्रतिनिधिका रूपमा प्रकाशलाई लगेकामा आलोचना भएको थियो, फर्केपछि अन्तर्राष्ट्रिय विमानस्थलमा दाहालले स्पष्टीकरण दिएका थिए, ‘प्रकाश युद्धकालदेखि नै सचिवालयमा रहेर काम गर्दै आएको छ । प्राविधिक रूपमा काम गर्नुपर्ने भएकाले भ्रमणमा लगेको हुँ ।’

भृकुटीमण्डपमा भएको भेलामा ‘अब सचिवालयमा परिवारका सदस्य नराख्ने’ घोषणा गरेका दाहालले पछि नातेदार चूडामणि खड्कालाई स्वकीय सचिव राखेका थिए । तर, सचिवालय भने प्रकाशले नै चलाएका थिए । ०७४ मंसिरमा प्रकाशको निधन भएपछि दाहालले छोरी गंगालाई स्वकीय सचिव नियुक्त गरेका हुन् । प्रधानमन्त्री दाहालको निजी सचिवालयमा प्रमुख स्वकीय सचिव सन्तु दराई, सचिव रमेश मल्लसहित टिम पनि छ । दाहाल प्रधानमन्त्री हुनुअघिदेखि नै मल्ल स्वकीय सचिवका रूपमा कार्यरत छन् । तर, महत्त्वपूर्ण भेटघाटमा भने गंगाकै भूमिका हुन्छ । तर आफ्नो भूमिकालाई गंगा अन्यथा मान्दिनन् । भन्छिन्, ‘म पार्टी कार्यकर्ताका हैसियतले स्वकीय सचिवका रूपमा भूमिका पाएकी हुँ । मैले आफ्नो ठाउँबाट राम्रो काम गर्ने प्रयास गरिरहेको छु । प्रधानमन्त्रीकी छोरी भएकै कारण आलोचना गर्नु गलत हो ।’

कांग्रेस सभापति शेरबहादुर देउवाको स्वकीय सचिवमा लामो समयदेखि भतिज भानु छन् । लोकबहादुरका छोरा भानु करिब दुई दशकदेखि शेरबहादुरसँगै छन् । भानु आउनुअघि देउवाका प्रमुख स्वकीय सचिवमा गोविन्द बोहरा र कर्ण मल्ल थिए, तर अहिले मल्ल त देउवाविरोधी नै बनेका छन् । देउवा आफैं फोन बोक्दैनन्, त्यसैले सम्पर्क व्यक्ति नै भानु हुन् ।

कसले भेट पाउने, कुन कार्यक्रममा जाने वा नजाने निर्णय भानुमार्फत हुन्छ । यद्यपि ठूला निर्णयमा भने कांग्रेस सांसदसमेत रहेकी देउवा पत्नी आरजुकै भूमिका प्रबल हुने गरेको कांग्रेसजनको भनाइ छ ।

संसद् पुनःस्थापनासँगै ०७८ असार २९ मा प्रधानमन्त्री बनेका बेला देउवाले लामो समयसम्म प्रमुख स्वकीय सचिव नियुक्ति गर्न सकेका थिएनन् । श्रीमती आरजु अर्का भतिज प्रकाशलाई प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव बनाउन चाहन्थिन् । देउवा भने लामो समयदेखि आफैंसँगै रहेका भानुलाई दोहोर्‍याउन चाहन्थे । एक महिना कटेपछि मात्रै भानु नै प्रमुख स्वकीय सचिवमा नियुक्त भए । भानुले प्रमुख स्वकीयको भूमिकाका बारेमा केही बताउन चाहेनन् । यति मात्रै भने, ‘सबै कुरा तपाईंलाई थाहै छ नि ।’