शीर्षकहरू

अस्पतालको रकम तिर्न नसक्दा अलपत्र परेकी छिन् टीकादेवी

अस्पतालको रकम तिर्न नसक्दा अलपत्र परेकी छिन् टीकादेवी

झापा । अर्जुनधारा–१ साधुटारकी ६४ वर्षीया टीकादेवी लिम्बूको डेढ महिनादेखि अस्पतालमै बास छ । जेठ १२ मा छिमेकी ६९ वर्षीय बिर्खबहादुर योङहाङ लिम्बूले खुकुरी प्रहार गर्दा घाइते भएकी उनलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पताल भर्ना गरिएको थियो । भर्ना भएको आठौं दिनमा अस्पतालले ‘डिस्चार्ज’ दिए पनि उपचार र औषधि खर्च चुक्ता नगरी उनलाई घर जान दिएको छैन ।

चौपायाले मकै खाएको सामान्य विवाद थियो, छिमेकी बिर्खबहादुरले उनीमाथि खुकुरी प्रहार गरेका थिए । ‘राति सुत्ने सुरसारमा थिएँ,’ टीकादेवीले घटना सुनाइन्, ‘मेरो पाडोले तेरो के खायो रे ? भन्दै खुकुरीले हाने ।’ खुकुरीको प्रहार रोक्ने क्रममा उनको देब्रे हातको नाडीमा गम्भीर चोट लाग्यो ।

हातको नसा काटिएकाले उनी बेहोस भइन् । आफन्तको सहयोगमा राति १ बजे अस्पताल भर्ना गरिएको थियो । बिर्खबहादुर फरार भए । भागेर पाँचथर पुगेका उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडले ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको छ । डीएसपी सुरज कार्कीका अनुसार सरकारी वकिलको कार्यालयमार्फत पेस मुद्दा अदालतमा विचाराधीन छ ।

विपन्न परिवारकी टीकामाया भने खर्च तिर्न नसक्दा घर फर्कन सकेकी छैनन् । छोरी सम्झनाका अनुसार सोमबारसम्म अस्पताललाई १ लाख ४८ हजार, औषधि पसललाई ४४ हजार र होटललाई २० हजार गरी २ लाख १२ हजार तिर्न बाँकी छ ।