शीर्षकहरू

प्रधानमन्त्रीसँग सहमति गरेका ओलीले सल्लाहकारको विज्ञप्ति हेरेपछि तोडे सहमति

प्रधानमन्त्रीसँग सहमति गरेका ओलीले सल्लाहकारको विज्ञप्ति हेरेपछि तोडे सहमति

काठमाडौं । सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहालले असार १८ गते दिएको अभिव्यक्तिबारे संसद्को रोष्ट्रमबाट ‘आत्माआलोचना’ गर्ने र अगाडि बढ्ने तीन शीर्ष नेताको समझदारी कार्यान्वयन नहुँदै फेरि अड्चन आएको छ । संसद् सञ्चालनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच संसद् खोल्नेबारे समझदारी भएको थियो । 

प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवासँग के समझदारी भयो भन्ने प्रश्नमा ‘भरे देख्नुहुन्छ...’ भन्ने जवाफ दिएर संसद् भवन बानेश्वर गएका ओलीले फेरि प्रधानमन्त्रीलाई फोन लगाएका थिए । केहीबेर अघि भेटेका प्रधानमन्त्रीलाई प्रमुख प्रतिपक्षी दलका नेता ओलीले फोन लगाउनुको कारण थियो असार १८ को घटनाबारे असार २१ मा प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जारी गरेको विज्ञप्ति ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यले असार २१ मा जारी गरेको विज्ञप्ति ओलीले आइतबार मात्रै पढेका थिए । एमाले सांसदहरूका अनुसार बानेश्वरमा पुगेर ओलीले पूरै विज्ञप्ति पढेका थिए । त्यसअघि एमालेका प्रमुख सचेतक पदम गिरी, सचेतक महेश बर्तौला, अरु नेता र सचिवालयका कसैले पनि ओलीलाई उक्त विज्ञप्तिबारे जानकारी गराएका थिएनन् ।

ओलीले विज्ञप्ति पढेपछि प्रधानमन्त्री दाहाललाई फोन गरेका थिए । एमालेका एक सांसदले भने, ‘अध्यक्षले प्रधानमन्त्री दाहालको असार १८ को भाषण मात्रै हेर्नुभएको रहेछ । उक्त अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीका सल्लहकार गोविन्द आचार्यले असार २१ गते जारी गरेको विज्ञप्तिबारे जानकारी नै रहेनछ । आज बानेश्वर आएपछि हेर्नुभयो,ु ती सांसदले नाम उल्लेख नगर्न आग्रह गर्दै भने, ुलगत्तै प्रधानमन्त्रीलाई फोन गर्नुभयो । विज्ञप्तिमा एमालेप्रति गम्भीर आरोप लगाउनुभएको रहेछ, त्यो फिर्ता लिन्छु भन्नुस् भन्नुभयो । विज्ञप्तिमा उल्लेख भएअनुसार गल्ती गरेको हो भने प्रमाणित गरेर, समातेर लैजानुभए हुन्छ भन्नुभयो ।’

प्रधानमन्त्रीले जवाफमा विज्ञप्ति आफूले नलेखेको र सल्लाह गर्छु भनी फोन राखेको ती सांसदले बताए । लगत्तै सभामुख देवराज घिमिरेलाई बालुवाटारबाट फोन गरेर बैठक सोमबारसम्मका लागि सार्न आग्रह गरिएको थियो । सोहीअनुसार सभामुखले सोमबार ३ बजेसम्मका लागि बैठक सरेको सूचना टाँस्न लगाएका थिए ।