काठमाडौं । उमेरले ६० नाघेकी उनी । दुख गरेर जोगाएको बचत फिर्ता पाइन्छ की भन्ने आसमा ठगी गर्ने सहकारी विरुद्धको आन्दोलनमा सहभागी हुन थालेकै नौ वर्ष भो ।
श्रीमान् रामचन्द्र र छोरी सहित ओरियन्टल सहकारी बचत गर्दै आएकी दुर्गादेवी श्रेष्ठको जस्तै पिडा बोकेर माइतीघर मण्डलामा विगत लामो समयदेखि आन्दोलन गर्दै आएका हरिश्चन्द्र श्रेष्ठ पनि ओरियण्टल पीडित नै हुन् । जसले अहिले सहकारी पीडित बचतकर्ता महासङ्घको संयोजकका रुपमा समेत भूमिका निभाइरहेका छन् ।
आफ्नो पिडा पोख्दै वर्षा र झरीको समेत पर्बाह नगरी धर्नामा बस्नुको कारणबारे उनी भन्छन्, ‘बर्से झरीको रुझाई भन्दा पनि पीडा बढी छ । पानीले बगाएको पनि थाहा पाइँदैन । भिजेको पनि थाहा पाइँदैन । घामले डढेको पनि थाहा पाइँदैन । ३३ दिनदेखि म यहीँ छु ।’
विगत १४ वर्षदेखि सहकारी विभाग, महासङ्घ, मन्त्रालय धाउँदा धाउँदा कपाल फुलिसकेको उनी सुनाउँछन् । राजनीतिक संरक्षणका कारण सहकारीहरूले ठगेको हो भन्ने उनको निष्कर्ष छ । उनी भन्छन्, ‘यो कहीँ फसेको होइन । सरकारसँग जायज माग लिएर हामी सडकमा आएका छौँ । ३५ दिन भइसक्यो । हाम्रो कुनै सुनुवाइ भएको छैन । जतिसक्दो छिटो सुनुवाइ होस् ।’
हुन पनि कपाल झरीले चुट्ने र कपाल फुल्ने मात्र होइन दुर्गा देवीका श्रीमान् रामचन्द्रको त सहकारीले रकम खाएको पिर कै कारण आन्दोलनमा रहेकै बेला निधन भएकै तीन वर्ष बितिसक्यो ।
दुर्गादेवीको परिवारले नै घर नजिकै कार्यालय भएका कारण बचत राख्दै, झिक्दै गर्ने गरेका थिए। बेला बेलामा ऋण पनि लिने गर्थे । त्यस बेला सहकारीले साढे १५ प्रतिशतको दरले ब्याज दिन्छु भनेको थियो । त्यसैले उनले व्यक्तिगत खाताका अतिरिक्त आमा र छोरीको संयुक्त बचत पनि गरेकी थिइन् । मुद्दती निक्षेपमा राखेको समय पनि सकिएको थियो । तर, फेरी एक लाख रुपैयाँ मुद्दती मै राखिन्, सञ्चालकको विश्वासमा परेर । आमा र छोरीको गरी ३ लाख रुपैयाँ उनीहरूले सहकारीमा जम्मा गरेका थिए भने उनका श्रीमान्को तीन लाख रुपैयाँ बचत थियो ।
उनले छोरालाई विदेश पठाउन भनेर बचत राखेकी थिइन् । पछि उनले अन्तै पैसा खोजेर छोरा बुहारीलाई विदेश पठाइन् । तर, पैसा उठ्ने कुनै छाँट छैन । अहिले उनलाई ब्याजको आस र लोभ छैन लगभग १० लाख जति सावाँ छ परिवारका सबैको नाममा गरेको बचत बस् त्यही पाइन्छ कि भन्ने आशाले धर्नामा छिन्, उनी ।
काठमाडौ कै मुलपानी हो, हरिश्चन्द्र श्रेष्ठको घर । ओरियण्टल पीडित उनले २०६४ सालदेखि उक्त सहकारीमा बचत गर्दै आएका थिए । दैनिक रुपमा २५ रुपैयाँ बचत गर्ने गरेका उनले पछि दैनिक ६ सय रुपैयाँसम्म बचत गरे ।
बि.स. २०४८ सालको सहकारी ऐन अनुसार खुलेको उक्त सहकारीले त्यस समयमा धेरै ब्याज दिएको थिएन । जम्मा ६ देखि ७ प्रतिशतसम्म ब्याज दिने गरेको थियो । मुद्दती खातामा पनि १२ प्रतिशतसम्म मात्र ब्याज दिने गरेको थियो ।
९० लाख रुपैयाँ जति रकम सहकारीले डुबाई दिएको उनी विगत लगातार सङ्घर्षमा छन्। बिचमा जग्गा बेचेर रकम फिर्ता गछौं भन्ने आश्वासन धेरै पटक पाए तर त्यो नितान्त रुपमा ठग्ने कुरा भएको उनको भनाई छ । अत्यन्तै चर्को मूल्य राखेर त्यही जग्गा लेउ भन्ने प्रस्ताव उनले स्वीकार गर्न सकेनन् ।
मुटुको व्यथा छ, दमको रोग छ, एउटा छोरा इन्जिनियर पढ्दै थियो । सहकारीले पैसा खाइदियो, शुल्क तिर्ने रकम नभएका कारण छोराले पढाई छोड्नुपर्यो । कपनमा कोठा भाडा तिर्न नसकेपछि सस्तोमा कोठा खोज्दै मुलपानीमा सरेकी छिन्, विमला दंगाल। काठमाडौँको उत्तरमा पर्ने गाउँ नाङ्ले भारे घर भएकी दंगाल सुमो बचत तथा ऋण सहकारीबाट ठगिएकी पीडित हुन् । कपनको खर बोट चोकमा कार्यालय रहेको उक्त सहकारीमा उनले बचत गरेकी थिइन् ।
आफ्नो परिवारसँग कपनमा कोठा भाडामा लिएर बसेका बेला उनले उक्त सहकारीमा दुई वर्षअघि बचत गरेकी थिइन् । उनका अनुसार गत आर्थिक वर्षको साउन महिनादेखि नै सो सहकारीले बचतकर्ताहरूको रकम फिर्ता गर्न छाडेको हो । जसमा उनले एक वर्षको अवधिका लागि मुद्दती खातामा रकम जम्मा गरेकी थिइन् ।
श्रीमानलाई क्यान्सर भएपछि उनको सम्पत्ति र जायजेथा सबै सिद्धियो । भएको थोरै रकम छोराको पठाई खर्च हुन्छ भनेर उनले बैङ्कमा बचत गरेकी थिइन्। सहकारीहरूले विभिन्न आश्वासन देखाएपछि उनले उक्त रकम सहकारीमा जम्मा गरिन् । सहकारीले एक वर्षको ब्याज दियो । ६० हजार रुपैयाँ ब्याज दियो । सहकारी कतै भाग्ने हुन् की भन्दै डर लागेका कारण उनले एक/एक वर्षका लागि मुद्दतीमा बचत गर्ने गरेकी थिइन् ।
सुरुमा पहिलो वर्षको ब्याज लिए । दोस्रो पटक फेरी पैसा जम्मा गरेपछि उक्त अवधिको ब्याज पनि साउनमा दियो । भदौ महिनादेखि सहकारी नै बन्द गरेर सञ्चालक भागे। उनले हनुमान ढोका प्रहरीसमक्ष उजुरी दिएकी छिन् । पैसा पाइन्छ कि भन्ने आशाले एक महिनादेखि माइतीघरमा धर्ना बस्न धाइरहेकी छिन् विमला ।
उनी भन्छिन्, 'बुबा बित्नु मेरो यो हालत छ । सहकारीले पैसा खाइदियो । रुँदै कराउँदै हिँडिरहेको छु । सहयोग गरिदिने आफ्नो ठूलो मान्छे पनि कोही छैनन् । गाउँमा भएको जग्गा र सम्पत्ति पनि श्रीमान्को उपचारमा सकियो । बचेको ५ लाख रुपैयाँ छोरा पठाउँछु भनेर राखेको राखेको थिएँ । त्यो पनि सहकारीले खाइदियो ।’
उनको समस्या सुन्दै टिठलाग्दो छ । भन्छिन्, 'खानका लागि रासन छैन । कहिले दिदी बहिनीको घरबाट गहुँ, मकै मागेर ल्याउँछु । चामल खाने र कोठा भाडा तिर्ने स्थिति पनि छैन।' उनको माग छ, 'सरकारले हामीजस्ता पीडितलाई हेरेर प्राथमिकतामा राखिदेओस् । मेरो छोराले पढ्न पाएन । सहकारीवालाहरुले हाम्रो पैसा लिएर जग्गा किनेर राखेको छ रे त्यसलाई खोजेर ल्याइदिनुपर्यो ।’
ललितपुर महानगरपालिका वडा नम्बर १५ सात दोबाटो स्थित देउराली बचत तथा ऋण सहकारीका पीडित हुन्, पुरुषोत्तम कार्की । सहकारीमा रकम जम्मा गरेको ७ वर्ष जति भयो । तर, फिर्ता लिन पाएका छैनन् । उनी भन्छन्, 'यस्तो स्थिति आउला भन्ने सोचेको थिइन । हाम्रो पसल थियो । पूजाको सामग्रीको मार्केटिङ र डिलर भएका कारण धेरै पसलहरूको पैसा देउराली सहकारीमा बचत गरेको थिएँ ।’
महिना दिन पुगेपछि गर्जो टरोस् भनेर उनले दैनिक रुपमा सहकारीमा उनले २ हजार रुपैयाँ बचत गर्ने गरेका थिए । उनका अनुसार एक वर्ष अघिदेखि सहकारीले बचत फिर्ता गर्न बन्द गर्यो । अहिले सहकारीको बोर्ड पनि हटाएर सो ठाउँमा अन्य अफिसहरू खुलेका छन् ।
उनको गुनासो सरकारसँग छ । भन्छन्, 'हामीले राज्यलाई गुहार्ने हो । राज्यबाट स्वीकृति पाएर खालेको सहकारी हो । राज्यको सहकारीहरूले ऐन कानुन न विपरीत, शेयर, घरजग्गा, गाडी आदिमा लगानी गरेको छन् । बचतकर्ताको रकम त्यसरी लगानी गर्न नपाइने कुरा अहिले ऐनमा छ । त्यसैले ठगलाई खोजेर कारबाही गर्ने जिम्मा सरकारको हो ।’
सरकारले समस्या समाधानको लागि समिति गठन गरेको छ । तर, सो कमिटीमा सहकारी पीडित बचतकर्ताको कोही पनि प्रतिनिधि छैन । त्यसैले उनी भन्छन्, 'पीडितहरूसँग आएर छलफल गरेको भए । हाम्रा कुरा सुनिने थिए की ?'