काठमाडौं । नेपाली विद्युत भारत र बङ्गलादेशमा बिक्री गर्ने योजना बने सँगै नेपाल विद्युत प्राधिकरणले उत्पादक कम्पनीहरूसँग धमाधम विद्युत खरिद सम्झौता गरिरहेको छ । यसै क्रममा चालु आर्थिक वर्षको १० महिनामा मात्र करिब चार दर्जन जलविद्युत कम्पनी र नेपाल विद्युत् प्राधिरकणबीच विद्युत् खरिद बिक्री सम्बन्धी सम्झौता भएको छ ।
विद्युत् नियमन आयोगका अनुसार चालु आर्थिक वर्षमा मात्रै ४७ वटा हाइड्रोपावर कम्पनीको २ हजार १८४ दशमलव ८३ मेगावाट विद्युत् खरिद बिक्री दरको निर्धारण तथा विद्युत् खरिद सम्झौतामा सहमति भएको छ । आयोगका अनुसार विद्युत् खरिद बिक्री दरको निर्धारण तथा विद्युत् खरिद सम्झौता भएका जलविद्युत कम्पनीमा मौला कालिका हाइड्रोपावरदेखि बलेफी हाइड्रोपावरसम्म रहेका छन् ।
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा यस्तो सम्झौता कुनै पनि कम्पनीसँग भएन । तर, दोस्रो महिना अर्थात् भदौमा भने ९ वटा कम्पनीसँग सम्झौता आयोगले जनाएको छ । यस बीच असोज महिनामा पनि कुनै कम्पनीको सम्झौता नभएको आयोगको तथ्याङ्कमा उल्लेख छ । आयोगका अनुसार चैत्रमा सबैभन्दा बढी ७७३.७१४ मेगावाट विद्युत् खरिद बिक्रीको सम्झौता भएको छ भने जेठ महिनामा एघार हाइड्रोपावर कम्पनीको विद्युत् खरिद बिक्रीको सम्झौता भएको छ ।
सम्झौताको प्रक्रिया
विद्युत् नियमन आयोगका सचिव तथा प्रवक्ता गोकर्णराज पन्थका अनुसार आयोगले कम्पनीहरूको विद्युत् खरिद बिक्री दरको निर्धारणको स्वीकृति दिने गर्छ । त्यसका लागि प्रारम्भिक चरणको सबै काम नेपाल विद्युत् प्राधिकरणबाट हुन्छ । सरकारले एक सय मेगावाट क्षमता भन्दा माथिका लागि र एक सय मेगावाटसम्मको विद्युत् खरिद सम्झौता (पीपीई) का लागि छुट्टा छुट्टै मूल्य निर्धारण गरेको छ ।
प्राधिकरण र जलविद्युत कम्पनीबिच दुई पक्षीय छलफल गर्नुपर्ने हकमा वार्ता र पोस्टेड रेट भएमा पोस्टेट रेट अनुसार मस्यौदा बनाउँछन् । उनीहरूले बनाएको मस्यौदा फाइनल भएपछि स्वीकृतिका लागि आयोगमा आउँछ । र, आयोगले सहमति दिएपछि कार्यान्वयनमा जान्छ ।
कति छ मूल्य
ऊर्जा मन्त्रालयले जलाशययुक्त र नदी बहावमा आधारित (पीआरओआर) अर्धजलाशययुक्त जलविद्युत् आयोजनाहरूको भिन्न भिन्नै विद्युत् खरिद–बिक्री (पीपीए) दर निर्धारण गरेको छ । मन्त्रालयले आयोजनाको प्रकृति र सिजनअनुसार प्रतियुनिट ४ रुपैयाँ ८० पैसादेखि बढीमा १२ रुपैयाँ ४० पैसासम्म पीपीए दर निर्धारण गरेको छ ।
त्यसैगरी, जलाशययुक्त आयोजनालाई मङ्सिर १६ देखि जेठ १५ सम्मका लागि प्रतियुनिट १२ रुपैयाँ ४० पैसा र जेठ १६ देखि मङ्सिर १५ सम्मका लागि प्रतियुनिट ७ रुपैयाँ १० पैसा निर्धारण गरेको छ ।
त्यस्तै, आरओआर आयोजनालाई वैशाखदेखि मङ्सिरसम्म ४ रुपैयाँ ४० पैसा र पुसदेखि चैतसम्म ८ रुपैयाँ ४० पैसा तोकेको छ भने आरओआरकै ‘पिकिङ’ ऊर्जाका लागि ४ रुपैयाँ ४० पैसादेखि १० रुपैयाँ ५५ पैसासम्म तोकेको छ । मन्त्रालयले मङ्सिर १६ देखि जेठ १६ सम्म सुख्खायाम मानिने ६ महिनाका लागि बढी र त्यसबाहेक वर्षायाम मानिने ६ महिनाका लागि कम मूल्य निर्धारण गरेको हो ।
भदौमा नौ वटा हाइड्रोपावर कम्पनीको विद्युत् खरिद सम्झौता
आयोगका अनुसार भदौ महिनामा नौ वटा हाइड्रोपावर कम्पनीको खरिद बिक्री सम्झौता भएको छ । जसमा मौला कालिका हाइड्रोपावर कम्पनीको ३८.१६ मेगावाटको कालिगण्डकी जलविद्युत आयोजना, हलेसी ऊर्जा कम्पनीको २ मेगावाटको रालाखोला आयोजना र तेह्रथुम पावरको २ मेगावाटको खोरुङगा खोला आयोजना रहेका छन् ।
त्यसैगरी, सोही महिना एसके इनर्जी प्रालिले निर्माण गर्न लागेको ७.२ मेगावाटको श्यामखोला जलविद्युत आयोजना, ९९.६ मेगावाटको तामाकोसी पाँचौँ आयोजना, मेवा डेभलपर्सको ९.३ मेगावाटको सिवाखोला जलविद्युत आयोजना, डाइनामिक पावरको ४.४४ मेगावाटको मनहरी खोला जलविद्युत आयोजना, वाटर इनर्जी सोलुसन प्रालिको ८.३ मेगावाटको देउमाइ खोला साना जलविद्युत आयोजना र इष्ट सोलार प्रालिको ५ मेगावाटको बैगुन धुरा सैर्य फार्मको खरिद सम्झौता भएको हो ।
त्यसैगरी कात्तिकमा तमोर सानिमा इनर्जी प्रालिले निर्माण गर्न लागेको २५५.२८१ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजनाको खरिद बिक्री सम्झौतामा सहमति भएको आयोगले जनाएको छ ।
आयोगका अनुसार मङ्सिरमा कालिगण्डकी गर्ज जलविद्युत आयोजनाको १८० मेगावाट, साङ्ग्रिला ऊर्जा प्रालिको ६३ मेगावाटको छुजुङखोला जलविद्युत आयोजना र यारु हाइड्रोपावर कम्पनीले निर्माण गरेको ३०.५४२ मेगावाटको यारु खेला अर्थजलासय युक्त जलविद्युत आयोजनाको विद्युत् खरिद सम्झौता भएको छ ।
पुसमा १७०.२५ मेगावाटको विद्युत् खरिद सम्झौता
विद्युत् नियमन आयोगका अनुसार चालु आवको पुस महिनामा १७०.२५ मेगावाटको ५ वटा आयोजनाको विद्युत् खरिद सम्झौता भएको छ । जसमा डाइनामिक हाइड्रो इनर्जीको ४० मेगावाटको लाप्चे जलविद्युत आयोजना, २ मेगावाटको चपे खोला क्यासकेड जलविद्युत आयोजना र समिट इनर्जी सोलुसन प्रालिको ४४ मेगावाटको बकान खोला आयोजना रहेका छन् ।
त्यस्तै, पुस महिनामा नै विद्युत् खरिद सम्झौता भएका आयोजनामा फ्लावर इनर्जी कम्पनीको ४०.७ मेगावाटको माथिल्लो छुजुङग खोला जलविद्युत आयोजना र सिकोस हाइड्रोपावरले निर्माण गरेको ३.४५ मेगावाटको सिकोस खोला जलविद्युत आयोजना रहेका छन् ।
त्यसैगरी, माघमा दुई जलविद्युत कम्पनीको ५५.१ मेगावाटको विद्युत् खरिद सम्झौता भएको छ । जसमा इसुवा इनर्जीको ४०.१ मेगावाटको इसुवाखोला क्यासकेड र धौलाश्री पावर कम्पनीको १५ मेगावाटको धौलाखोला आयोजना रहेका छन् ।
फागुनमा ५ आयोजनाको १२१.४५३ मेगावाट खरिद सम्झौता
आयोगका अनुसार फागुन महिनामा पाँच जलविद्युत आयोजनाको १२१.३५३ मेगावाट क्षमताको आयोजनाको विद्युत् खरिद सम्झौता भएको छ । जसमा मोदी जलविद्युत कम्पनीको ४२ मेगावाटको माथिल्लो मोदी ए जलविद्युत आयोजना र नेशनल हाइड्रोपावरको ४.१५३ मेगावाटको तल्लो इन्द्रावती जलविद्युत आयोजना रहेका छन् ।
त्यसैगरी, गोखार्ज हिमालयन हाइड्रो प्रालिको ४.७ मेगावाटको माथिल्लो जुनवेशी खोला जलविद्युत आयोजना, एभरेष्ट इनर्जी एण्ड इन्फ्रास्ट्रक्चर फण्ड प्रालिको १४.७ मेगावाटको मुडी खोला जलविद्युत आयोजना र अपर स्याङगे हाइड्रोपावरको २४.५ मेगावाटको दोभान खोला आयोजनाको विद्युत् खरिद सम्झौता भएको हो ।
चैतमा सर्वाधिक विद्युत् खरिद सम्झौता
चालु आर्थिक वर्षको नौ महिना अर्थात् चैत महिनामा सर्वाधिक विद्युत् खरिद सम्झौता भएको । आयोगका अनुसार यस अवधिमा ६ वटा आयोजनाको ७७३.७१४मेगावाट विद्युत् खरिद सम्झौता भएको छ ।
चैतमा विद्युत् बिक्रीका लागि सम्झौता भएका आयोजनाहरूमा कार्बोनलेश एलर्जी फण्डको ३०.४ मेगावाटको माथिल्लो दुधखोला जलविद्युत आयोजना, शिल्क पावर प्रालिको २४.८२४ मेगावाटको लुजा खोला आयोजना र एससी पावर कम्पनीको २९८.७५ मेगावाटको तिला प्रथम जलविद्युत आयोजनाको विद्युत् बिक्री सम्झौता भएको हो ।
सोही अवधिमा जगदुल्ला हाइड्रोपावर कम्पनीको १०६ मेगावाट र ओमपावर कम्पनीको १७ मेगावाटको ठुलीगाड खोला जलविद्युत आयोजनाको पनि विद्युत् खरिद सम्झौता भएको आयोगले जनाएको छ ।
वैशाखमा चार जलविद्युत कम्पनीको विद्युत् खरिद सम्झौता
चालु आवको वैशाखमा चार जलविद्युत कम्पनीको विद्युत् खरिदका लागि सम्झौता भएको आयोगले जनाएको छ । यस अवधिमा लोअर मिड रावा खोला हाइड्रोपावर प्रोजेक्ट प्रालिको ४ मेगावाटको तल्लो रावा खोला जलविद्युत आयोजना र अपर म्याग्दी हाइड्रोपावरको ५३.५ मेगावाटको माथिल्लो म्याग्दी १ जलविद्युत आयोजनाको सम्झौता भएको हो ।
त्यस्तै, सोही अवधिमा नार खोला हाइड्रो इनर्जी प्रालिको ६१.११० मेगावाटको माथिल्लो नारखोला आयोजना र रसुवा हाइड्रोपावरको ५ मेगावाटको फलाँखु खोला जलविद्युत आयोजनाको विद्युत् खरिद सम्झौता भएको आयोगले जनाएको छ ।
जेठमा एघार आयोजनाको विद्युत् खरिद सम्झौता
आयोगमा अनुसार चालु आवको जेठ महिनामा एघार आयोजनाको २३५.८८ मेगावाटको विद्युत् बिक्री सम्झौता भएको छ । यस अवधिमा मिलारोपा इनर्जी प्रालिको २३.६ मेगावाटको सुपर मेलम्ची आयोजना, साङ्ग्रिला हाइड्रोपावरको २०.७३१ मेगावाटको जल्दिगाढ जलविद्युत आयोजना र हाइड्रो सपोर्ट प्रालिको ५३.५३९ मेगावाटको मध्य कालिगण्डकीको विद्युत् बिक्रीका लागि सम्झौता भएको हो ।
त्यस्तै, जेठ महिनामा नै माँ दुर्गा काली हाइड्रोपावरको ४.९५० मेगावाटको मिवाजे जलविद्युत आयोजना, हव पावर प्रालिको १२.६ मेगावाटको लोवर म्याग्दी जलविद्युत आयोजना, वाटर इनर्जी डेभलपमेन्टको १६ मेगावाटको माछाखोला र गुल्मी हाइड्रो कम्पनीको १.८६ मेगावाटको तल्लो रुपसे खोला जलविद्युत आयोजनाको विद्युत् बिक्री सम्झौता भएको आयोगले जनाएको छ ।
आयोगका अनुसार सानिमा जोम हाइड्रोको ५ मेगावाटको जुमखोला, बुढी गण्डकी हाइड्रोको ४.६ मेगावाटको सुपर माछाखोला जलविद्युत आयोजना, हिमालयन इन्जिनियरिङ एण्ड इनर्जी प्रालिको २ मेगावाटको अरुण खोला २ जलविद्युत आयोजना र बलेफी इनर्जीको ४० मेगावाटको बलेफी खोला जलविद्युत आयोजनाको विद्युत् बिक्री सम्झौता भएको छ ।