शीर्षकहरू

भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुन्छौँः प्रधानमन्त्री

भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुन्छौँः प्रधानमन्त्री
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुने बताएका छन् । उनले त्यसलाई सुशासनको पक्षमा नयाँ ढङ्गको क्रान्तिको संज्ञा दिएका हुन् ।  

प्रधानमन्त्री निवास बालुवाटारमा आज नेकपा माओवादी केन्द्र सम्वद्ध वाइसिएल नेपालका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री दाहालले सुशासनको पक्षमा आफूले कोही कसैसँग पनि सम्झौता नगर्ने र विगतका सबै जसो काण्डको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याएर छाड्न दृढता व्यक्त गरे । नक्कली शरणार्थी प्रकरणमा जस्तै, बालुवाटार जग्गा प्रकरणमा संलग्न दोषीले कुनै पनि हालतमा उन्मुक्ति नपाउने स्पष्ट पार्दै उनले विगतमा सबैजसो ठूला काण्डका दोषीलाई पनि कानुनी दायरामा ल्याएरै छाड्ने उनले बताए ।  

भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने सवालमा सरकारले कोही कसैसँग सम्झौता नगर्ने स्पष्ट पार्दै त्यसमा साथ र सहयोग दिन युवा नेतृत्वलाई प्रधानमन्त्री दाहालले आग्रह गरे । सरकार स्पष्ट दृष्टिकोणका साथ प्रस्तुत भएको उल्लेख गर्दै उहाँले जनअपेक्षा पूरा गर्ने र भ्रष्टाचारलाई कुनै पनि अर्थमा संरक्षण नगर्ने नीति रहेको बताए । सरकारको सकारात्मक कामलाई जनतामाझ लैजान र पार्टीलाई विस्तार गर्न, युवालाई थप आकर्षित गर्न प्रधानमन्त्री दाहालले वाइसिएललाई निर्देशन दिए ।