शीर्षकहरू

अन्तरजातीय प्रेमविवाह भन्दै जलाइयो युवाको घर

अन्तरजातीय प्रेमविवाह भन्दै जलाइयो युवाको घर

 जुम्ला । दलितले आफ्नी बहिनीलाई प्रेमबिहे गरेको निहुँमा एक युवकले घर नै जलाइदिएका छन् । तातोपानी–४ गिडीखोलामा २१ वर्षीय मुकुन्द नेपालीको घरमा आगजनी गरेको आरोपमा आइतबार स्थानीय २१ वर्षीय युवालाई प्रहरीले पक्राउ गरेको छ । 

गत साता तातोपानी–४ गिडीखोला निवासी नेपाली थरका एक युवाले स्थानीय किशोरीसँग प्रेमबिहे गरेका थिए । स्थानीयका अनुसार ती दुवै जनाले २ वर्षको प्रेमपछि अन्तरजातीय ‘विवाह’ गरेका हुन् । यद्यपि आफन्तले किशोरी १६ वर्षको मात्र भएको बताएका छन् । बिहे अवैध भए कानुनअनुसार हुनुपर्नेमा घर नै जलाइदिएकोमा कारबाही गरिने प्रहरीको भनाइ छ ।

मुकुन्दका दाजु भरत नेपालीका अनुसार बिहान ४ बजेतिर भएको आगजनीमा घर र त्यसभित्र रहेका सामान नष्ट भएका छन् । गिडीखोला बस्तीको बीचमा रहेको भरतको घरमा धूवाँको मुस्लो देखिएपछि गाउँलेले निभाउने प्रयास गरेका थिए ।

आगलागीको खबर आएपछि १५ मिनेट दूरीको हाँकु चौकीबाट असई राजेन्द्र गिरी नेतृत्वको टोली घटनास्थल पुगेको थियो । उनले आफूहरू पुग्दा घर पूरै क्षतिग्रस्त भइसकेको बताए । संयोगले उक्त घरमा आगलागी भएको दिन कोही थिएनन् । गैरसरकारी संस्थामा काम गर्ने भरत शनिबार सदरमुकामतिर बसेका थिए ।