शीर्षकहरू

७६ अर्ब रकम बाँड्ने सहमतिमा कष्टपूर्वक बजेट पारित गराए प्रचण्डले

७६ अर्ब रकम बाँड्ने सहमतिमा कष्टपूर्वक बजेट पारित गराए प्रचण्डले

काठमाडौ) । सरकारले कष्टपूर्वक बजेट पारित गराएको छ । योजना तथा रकम विनियोजनमा भेदभाव भएको भन्दै सत्तारूढ दलकै सांसदहरूले निर्णायक रूपमै अडान लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल आफैं मैदानमा उत्रनुपरेको थियो । विविध शीर्षकमा राखिएको ७६ अर्ब ६९ करोड ८१ लाख रुपैयाँबाट असन्तुष्टको माग सम्बोधन गर्ने प्रतिबद्धतासहित प्रधानमन्त्रीले सामान्य बहुमतले बजेट पारित गराएका छन् ।

बजेटबारे अन्तिम छलफल गर्न प्रतिनिधिसभामा बैठक बसिसक्दा पनि सत्तारूढ जसपाका सांसदहरू बजेटको पक्षमा मतदान गर्न तयार थिएनन् । जसपाका धेरैजसो सांसद बजेटको विपक्षमा मतदान गर्नपर्ने अडानमा बसेपछि प्रधानमन्त्री दाहाल बुधबार दिउँसो जसपाको संसदीय दल बैठकमै गएका थिए ।

उनले विविध शीर्षकको बजेट निकासा गर्ने सर्तमा उनीहरूलाई मनाएका छन् । संसद् बैठक चलिरहेकै बेला जसपा संसदीय दलको बैठक संसद् भवनकै शंकर हलमा बसेको थियो । जसपाका सांसदले आफ्नो क्षेत्रमा बजेट नभएकाले विपक्षमा मतदान गर्ने भन्दै सरकार र पार्टी अध्यक्ष उपेन्द्र यादवलाई चेतावनी दिएका थिए । बजेटको पक्षमा मतदान गर्ने वातावरण नभएको भन्दै यादवले संसद्मै रहेका प्रधानमन्त्री दाहाललाई आमन्त्रण गरेका थिए ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा २ सय ५५ जनाको उपस्थिति भए पनि बजेटको पक्षमा जसपाले समेत मतदान नगर्दा १ सय ३५ मत मात्रै हुन्थ्यो । बजेट पारित गर्न कम्तीमा १ सय ३८ मत आवश्यक पर्थ्यो । तर, जसपाका सांसदहरूले पार्टीले ह्वीप लगाए पनि बजेटको पक्षमा मतदान नगर्ने अडान लिएका थिए । ‘प्रधानमन्त्रीले बजेट दिने आश्वासन नदिएको भए औंला काटिए पनि पक्षमा मत दिन चाहेका थिएनौं तर हामीले पक्षमा मत नदिएको भए सरकार नै ढल्ने स्थिति थियो, त्यसैले हाम्रो माग पूरा गर्ने आश्वासन दिन प्रधानमन्त्री आउनुभएको थियो,’ जसपाका एक सांसदले भने, ‘उहाँ हाम्रो बैठकमा आएर म प्रधानमन्त्री नै बोलें, तपाईंहरूको माग पूरा गर्ने जिम्मा मेरो भयो, अहिले बजेट पास गर्न सहयोग गरिदिनुस् भन्नुभयो । त्यसैले पक्षमा मतदान गर्न हामी तयार भयौं ।’