शीर्षकहरू

वैदेशिक लगानी भित्र्याउने सरकारको योजना विफल, एकै वर्षमा घट्यो ७४.९० प्रतिशत

वैदेशिक लगानी भित्र्याउने सरकारको योजना विफल, एकै वर्षमा घट्यो ७४.९० प्रतिशत

काठमाडौं । सरकारले बढीभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने भन्दै आए पनि पछिल्लो समय झन् घट्दै गएको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा ७४.९० प्रतिशतले नेपाल भित्रिने लगानी संकुचन भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। यो विगत ६ आर्थिक वर्षमध्येकै सबैभन्दा कम लगानी भित्रिएको वर्ष हो। 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ को १० महिनासम्ममा खुद प्रत्यक्ष वैदेशिक लगानी १७ अर्ब ३५ करोड रुपैयाँ भित्रिएको थियो। तर, आर्थिक वर्ष २०७९/८० को वैशाखसम्ममा ह्वात्तै घटेर ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ मात्रै लगानी भित्रिएको छ। यो करिब ७ वर्षयताकै सबैभन्दा कम हो। जबकी अघिल्लो वर्षको तुलनामा गत वर्ष भने ७.०९ प्रतिशतले बढेको थियो। 

यद्यपि चालु आवको तुलनामा यसअघिका आवमा अधिक लगानी भित्रिएको छ। जसअनुसार आव २०७७/७८ मा १६ अर्ब २० करोड १३ लाख रुपैयाँ, आव २०७६/७७ मा १८ अर्ब ७१ करोड ७१ लाख, आव २०७५/७६ मा ११ अर्ब ८० करोड ४९ लाख, आव २०७४/७५ मा १५ अर्ब ८६ करोड ८२ लाख रुपैयाँ र आव २०७३/७४ मा १२ अर्ब २७ करोड ५ लाख रुपैयाँ बराबरको खुद लगानी भित्रिएको थियो। 

राष्ट्र बैंकको तथ्यांक अन्तिम स्वीकृति दिएर भित्रिएको रकम हो। यो विदेशी लगानीकर्ताले नाफा, लाभांशजस्ता लगानी फिर्ता लगेकोलाई कटाएर खुद भित्रिएको रकम हो। चालु आवको १० महिनामा १ अर्ब ८० करोड ७३ लाख रुपैयाँ विदेशी लगानी फिर्ता भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। गत वर्षको सोही अवधिसम्म ४४ करोड २० लाख रुपैयाँ लगानी फिर्ता लगिएको थियो। यसअनुसार नेपालमा लगानी गरेका लगानीकर्ताहरूले फिर्ता लगेको रकम पनि बढ्दो छ। 

यता सरकारले आगामी आवको बजेटमार्फत विदेशी लगानी प्रोत्साहन गर्न सहज नीतिगत व्यवस्था गरेको दाबी छ। आव २०८०/८१ को बजेटअनुसार आन्तरिक तथा बाह्य लगानी प्रबद्र्धनका लागि नयाँ कम्पनी दर्ता गर्दा र कम्पनीको पुँजी वृद्धि गर्दा शुल्क लाग्दै आएकोमा अबदेखि कुनै पनि शुल्क वा दस्तुर नलाग्ने व्यवस्था मिलाउने उल्लेख छ। यसमा भनिएको छ, ‘न्यूनतम एक सय रुपैयाँमात्र अधिकृत पुँजी घोषणा गरेर पनि कम्पनी खोल्न सक्ने कानुनी व्यवस्था गरिनेछ ।

अनलाइनबाट नै कम्पनी दर्ता र खारेजी गर्न सकिने गरी प्रक्रियालाई सरल र पारदर्शी बनाइनेछ। विदेशी लगानीमा सञ्चालित उद्योगका लगानीकर्ता तथा सीपयुक्त जनशक्तिको भिसा प्राप्ति प्रक्रियालाई सरल र लचिलो बनाइनेछ ।’ लगानीकर्ताका लागि आवश्यक सबै सूचना उपलब्ध हुने गरी राष्ट्रिय पोर्टल तयार गरिने छ। यस पोर्टलमा लगानीका क्षेत्रहरू, अवसर, कानुनी तथा नीतिगत व्यवस्था, प्रोत्साहनसम्बन्धी व्यवस्था, लगानी फिर्ताका प्रावधान र प्रक्रियालगायतका सम्पूर्ण सूचना समावेश गरिने भनिएको छ। 

अझ आगामी आवमा नेपाललाई लगानीको गन्तव्यका रूपमा चिनाउन सरकारले तेस्रोपटक लगानी सम्मेलन गर्ने घमेषणा गरेकोे छ। सम्मेलनको जिम्मा लिएको लगानी बोर्डले आव २०८०–८१ भित्र (२०८१ अगावै) लगानी सम्मेलन गर्ने तयारी अगाडि बढाएको बताएको छ। यसअघिका सम्मेलनलाई हेर्दा खर्बौंको प्रतिबद्धता आए पनि लगानी भने अर्बमा सीमित हुने गरेको देखिन्छ। सरकारले यसअघि २०७२ चैत १५ र १६ गते र २०७३ फागुन १९ र २० गते लगानी सम्मेलन आयोजना गरेको थियो। जसमा पहिलो लगानी सम्मेलनमा करिब १४ खर्ब रुपैयाँको लगानी प्रतिबद्धता प्राप्त भएको थियो।