शीर्षकहरू

आर्थिक मन्दीका कारण खुम्चियो फ्यान र एसीको व्यापार

आर्थिक मन्दीका कारण खुम्चियो फ्यान र एसीको व्यापार

काठमाडौं । गर्मीबाट बच्न उपभोक्ताहरू फ्यान, एसी लगायत विद्युतीय सामग्रीप्रति आकर्षित बन्ने गर्छन् । जसका कारण अन्य समयभन्दा गर्मीको बेला फ्यान, एसी, कुलर लगायतको व्यापार बढ्ने गर्छ । तर, यस वर्षको गर्मी समयमा यस्ता सामाग्रीको व्यापार भने खुम्चिएको छ । 

मुलुकमा देखिएको आर्थिक मन्दीको असर यस्ता विद्युतीय सामानहरूमा पनि देखिएको छ । गर्मी बढे पनि गत वर्षको तुलनामा बजारमा विद्युतीय सामानहरूको माग घटेको व्यापारीहरू बताउँछन् । गत आर्थिक वर्षको तुलनामा बजारमा उक्त सामानहरूको माग ७५ प्रतिशतले घटेको व्यापारीहरुको भनाई छ ।   

भन्सार विभागको तथ्याङ्क हेर्ने हो भने पनि टेबल, फ्लोर, सिलिङ र रुफ फ्यानहरू आयात घटेको देखिन्छ । चालु आवको एघार महिना अर्थात् जेठ मसान्तसम्म एक अर्ब ७७ करोड १७ लाख ६९ हजार रुपैयाँ बराबरको यस्ता सामानहरू आयात भएका छन् । 

जसमा १९ लाख ५९ हजार ३८३ वटा टेबल, फ्लोर, सिलिङ र रुफ फ्यानहरू रहेका छन् । यसबाट ३८ करोड ४४ लाख ६ हजार रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको छ । यी सामानहरू विभिन्न ४६ वटा देशहरूबाट आयात भएको छ ।  

भन्सार विभागका अनुसार गत आवको तुलनामा टेबल, फ्लोर, सिलिङ र रुफ फ्यानहरू आयातको आयात ३६.७२ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा विभिन्न ४२ देशबाट २ अर्ब ४२ करोड २४ लाख ३२ हजार रुपैयाँ बराबरको २७ लाख एक हजार ५८७ वटा टेबल, फ्लोर, सिलिङ र रुफ फ्यानहरू आयात भएको थियो । जसबाट ५२ करोड २१ लख ६८ हजार रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको थियो । 

चालु आवको जेठ मसान्तसम्म ८ करोड ९ लाख २६ हजार रुपैयाँ बराबरको एक हजार ६४ वटा कुलिङ आयात भएको छ । यस अवधिमा २२ करोड ५३ लाख ८८ हजार रुपैयाँ बराबरको ३ हजार ९८९ वटा एयर कन्डिस्निङ मेसिन आयात भएको छ । 

त्यस्तै, यस अवधिमा ३१ करोड ६८ लाख ९१ हजार रुपैयाँ बराबरको ७५ हजार ४४ वटा एसी मोटर आयात भएको छ । जसबाट ८ करोड २५ लाख ९६ हजार रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको छ ।

गत वर्षको तुलनामा बजारमा यस्ता सामानहरूको बिक्री घटेको व्यवसायीको भनाई छ । बजारमा देखिएको आर्थिक मन्दीका कारण पनि सामानहरूको माग घटेको ईश्वर इलेक्ट्रिकका सञ्चालक ईश्वर बस्नेत बताउँछन्  । उनी भन्छन्, ‘गत वर्षको तुलनामा फ्यान, एसी लगायतका सामानहरूको माग घटे पनि गर्मीका कारण केही मात्रामा व्यापार त बढेको छ । बजारमा देखिएको आर्थिक मन्दीका कारण पनि इलेक्ट्रिक सामानहरूको माग घटेको हो ।’ 

उनका अनुसार अहिले दैनिक २५ प्रतिशतको व्यापार हुने गरेको छ । गत वर्षको यस अवधिमा दैनिक एक सय पिसको माग हुने गरेकोमा अहिले २५ पिसको माग हुने गरेको उनले सुनाए । हाल बजारमा बिक्री भएका सामानहरूमा पनि धेरैजसो स्टयाण्ड फ्यान, सिलिङ फ्यान र वाल फ्यानको व्यापार हुने गरेको उनले बताए ।

उनका अनुसार स्ट्याण्ड फ्यानको मूल्य प्रतिपिस १७ सय रुपैयाँदेखि ४५ सय रुपैयाँसम्म पर्ने गरेको छ । गत वर्षको तुलनामा प्रतिपिस एक सय रुपैयाँसम्मले मूल्य बढेको छ ।

त्यस्तै, राजेश इलेक्ट्रिकका प्रोप्राइटर राजेश कुमार शाह पनि व्यापारमा मन्दी आएको बताउँछन् । उनी भन्छन्, ‘अहिले गर्मी बढे पनि व्यापार भने कम छ । दैनिक रूपमा २ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्मको व्यापार हुने गरेको छ ।’

बजारमा अहिले बिक्री भएका सामानहरूमा पनि धेरैजसो स्ट्याण्ड फ्यान बिक्री हुने गरेको उनको भनाई छ । यसका साथै गत वर्षको तुलनामा सामानको मूल्य पनि बढेको उनले बताए । उनका अनुसार गत वर्ष १४ देखि १५ सय रुपैयाँ पर्ने पङ्खा अहिले २ हजार भन्दा माथि पुगेको छ । ‘हामीले रिटेलमा बेच्दा २५ सय रुपैयाँसम्म बेच्ने गरेका छौँ’, उनले सुनाए ।  

तर, सिजीका सामानहरूको बिक्री भने बढेको सिजी इलेक्ट्रिक्सका सिनियर सेल्स म्यानेजर मनमोहन झाको दाबी छ । बजारमा गर्मी बढेसँगै कुलर र एसीको माग बढेको उनको भनाई छ । 

उनी भन्छन्, ‘गर्मी बढेका कारण बजारमा अहिले फ्यान, एसी कुलर लगायतका इलेक्ट्रिक सामानहरूको व्यापार बढेको छ । बजारमा माग बढेको छ । कुलर र एसी १ हजार पिस मात्र आएको छ । पुरानो स्टकमा बाँकी रहेको सबै बिक्री भयो ।’

उनका अनुसार अहिले बजारमा टेबल फ्यान माग बढेको छ भने स्टयाण्ड र वाल फ्यानहरूको पनि राम्रो बिक्री भएको छ । तर, सिलिङ फ्यानको माग भने घटेको उनले बताए । पहिले धेरैजसो सिलिङ फ्यानको माग हुने गरेको थियो । तर, अहिले अपेक्षा गरे अनुसारको व्यापार हुन नसकेको उनले बताए ।  

यस्ता सामानहरूको माग उपत्यका बाहिरका धेरैजसो गर्मी हुने ठाउँहरूमा बढी हुने गरेको छ । उपत्यका बाहिरका विशेषगरी नेपालगन्ज, नारायणघाट, बुटवल, वीरगन्ज, विराटनगर  र जनकपुर लगायतका ठाउँहरूबाट बढी माग हुने गरेको छ । त्यसबाहेक पोखरा र काठमाडौंका क्षेत्रहरूमा पनि उक्त सामानको माग औषतमा रहेको छ ।

उनका अनुसार कुलर धेरैजसो भारतबाट आयात हुने गरेको छ भने यस बाहेक एसी भने भारत, युरोप र चीनबाट आयात गरेको छ । यसका साथै भियतनाम मलेसिया, दुबै लगायतका देशहरूबाट पनि उक्त सामानहरूको आयात हुने गरेको छ । 

डलरको मूल्यमा आएको परिवर्तनका कारण इलेक्ट्रिक सामानहरूको मूल्यमा पनि केही मात्रामा थपघट भएको उनले सुनाए ।  उनले भने, ‘डलरको मूल्य बढ्यो । यसले गर्दा डलरमा कारोबार हुने सबै सामानहरूको मूल्यमा असर परेको छ । तर, ठूलो मात्रामा भने मूल्यमा परिवर्तन भएको छैन ।’

उनका अनुसार फ्यान र कुलरको मूल्य गत वर्षकै हाराहारीमा रहेको छ भने एसीको मूल्यमा ५ प्रतिशतले वृद्धि भएको छ । कम्पनी अनुसार र सामानहरूको क्षमताको आधारमा सामानहरूको मूल्य निर्धारण हुने उनले बताए ।

होलसेल मूल्यमा पङ्खाको मूल्य ३५ सय रुपैयाँदेखि ६ हजार रुपैयाँ भन्दा माथिसम्म रहेको उनले जानकारी दिए । टेबुल फ्यानको मूल्य होलसेलमा ३६ सय रुपैयाँदेखि ८ हजार ४६० रुपैयाँ पर्छ भने वाल फ्यानको मूल्य ३७ सय रुपैयाँदेखि ५१ सय रुपैयाँसम्म रहेको छ । सिलिङ फ्यानको मूल्य पनि ३ हजार १४० रुपैयाँदेखि १३ हजार २ सय रुपैयाँसम्म रहेको छ ।