शीर्षकहरू

विश्व अर्थतन्त्रमै महंगाी र बेरोजगारी बढ्यो

विश्व अर्थतन्त्रमै महंगाी र बेरोजगारी बढ्यो

काठमाडौं । विश्व अर्थतन्त्रमै एकातिर बेरोजगारीको संख्या बढ्दै छ भने अर्कोतर्फ महंगी आकासिएको छ । यसको चपेटामा विश्व भरका मानिसहरू दिनप्रतिदिन परिरहेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को तथ्यांकले देखाएको छ ।

कोषका अनुसार मूल्यवृद्धि दर बर्सेनि उकालो लाग्दैछ । सन् २०२१ मा ४.७ प्रतिशत रहेको विश्व अर्थतन्त्रको मूल्यवृद्धि दर सन् २०२२ मा बढेर ८.७ प्रतिशत रहेको कोषले औंल्याएको छ । 

नेपाल राष्ट्र बैंकले कोषको तथ्यांकमा आधारित भएर मंगलबार सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययनको अर्ध वार्षिक प्रतिवेदनमा भनिएको छ, ‘सन् २०२१ को तुलनामा सन् २०२२ मा दक्षिण एसियाली मुलुकहरूमध्ये भुटान बाहेकका मुलुकहरूको उपभोक्ता मुद्रास्फिति बढ्न गएको छ । भारत र चीनको उपभोक्ता मुद्रास्फिति सन् २०२१ मा क्रमशः ५.५ प्रतिशत र ०.९ प्रतिशत रहेकोमा सन् २०२२ मा ६.७ प्रतिशत र १.९ प्रतिशत रहन गएको छ । नेपालको मुद्रास्फिति सन् २०२१ को तुलनामा सन् २०२२ मा बढ्न गएको छ ।’ 

यस्तै, ओईल पाईस डन नेटमा उपलब्ध तथ्यांक अनुसार सन् २०२२ को जनवरी १ मा ७९.२० अमेरिकी डलर प्रति ब्यारल रहेको कच्चा तेलको मूल्य सन् २०२३ को जनवरी ३ मा अमेरिकी डलर ८२.१० मा पुग्यो । कोभिड–१९ पछि प्रभावकारी माग वृद्धि र आपूर्ति श्रृङ्खलामा आएको अवरोधका कारण तेलको मूल्यमा अत्यधिक वृद्धि भएको राष्ट्र बैंकले बताएको छ ।

यस्तै, विश्व अर्थतन्त्रको आर्थिक वृद्धिदर घट्दो क्रममा छ । अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा अप्रिल २०२३ मा अद्यावधिक गरिएको वल्ड ईकोनोमि आउटलुकअनुसार सन् २०२२ मा ३.४ प्रतिशतले वृद्धि भएको विश्व अर्थतन्त्र सन् २०२३ मा २.८ प्रतिशतका दरले वृद्धि हुने प्रक्षेपण छ ।