काठमाडौं । देशभरका अधिकांश स्थानीय सरकारले आइतबार बजेट सार्वजनिक गरेका छन्। स्थानीय सरकारले असार १० भित्र आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने कानुनी व्यवस्थाअनुसार आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याएका हुन्। यसअघि नै केही स्थानीय तहले बजेट ल्याएका थिए।
यसैबीच ६ महानगरपालिकामध्ये काठमाडौं महानगरपालिकाले सबैभन्दा बढी २५ अर्ब ५४ करोड ७८ लाखको बजेट प्रस्तुत गरेको छ। यो महानगरले अघिल्लो आर्थिक वर्षभन्दा यसपटक बढाएर बजेट ल्याएको हो। अघिल्लो आर्थिक वर्ष २५ अर्ब ४१ करोड ९६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको थियो। यसपटक पनि सबैभन्दा कम वीरगन्ज महानगरपालिकाले बजेट प्रस्तुत गरेको छ। यो महानगरले ३ अर्ब २१ करोड ३५ लाखको बजेट सार्वजनिक गरेको छ। यो बजेट अघिल्लो आर्थिक वर्षको भन्दा पनि कम हो। यसले अघिल्लो आर्थिक वर्ष ३ अर्ब ३३ करोड ६३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो।
काठमाडौंपछि पोखराले बढी अंकको बजेट ल्याएको छ। पोखराले ७ अर्ब १५ करोड १५ लाखको बजेट सार्वजनिक गरेको छ। यस्तै ललितपुरले ६ अर्ब ५० करोड ५ लाख, भरतपुरले ६ अर्ब ३१ करोड ७९ लाख र विराटनगरले ३ अर्ब २८ करोड ५० लाखको बजेट प्रस्तुत गरेका छन्। अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को परिच्छेद ७ को दफा २१ को उपदफा ३ मा गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार महिनाको १० गतेभित्र आगामी आवको राजस्व र व्यायको अनुमान सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ।
काठमाडौंका १० गौरव, २५ स्वर्णिम आयोजना
मुलुकको राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा महत्त्वपूर्ण आयोजनालाई समेटेको छ। उपमेयर सुनिता डंगोलले प्रस्तुत गरेको बजेटमा पहिलोपल्ट १० वटा गौरवका आयोजना र २५ वटा स्वर्णिम आयोजनाको प्रस्ताव गरिएको छ। गौरवका आयोजनाका लागि ३ अर्ब ८० करोड र स्वर्णिम आयोजनाका लागि २ अर्ब विनियोजन गरिएको छ। काठमाडौंले महानगरले सुन्दर र धुलोरहित सहर बनाउने बजेटमा उल्लेख गरेको छ।
सहरी पूर्वाधारलाई प्राथमिकता दिँदै महानगर उपमेयर डंगोलले पूर्वाधारतर्फ ७ अर्ब ३४ करोड विनियोजन गरिन्। यो रकम डीपीआर भएका सडक तथा पेटीको मर्मत तथा निर्माण गर्न, फाइवर तथा अन्य केवल विस्तारका लागि आफ्नो युटिलिटी डक्ट निर्माण गर्न, सडक, रेलिङ, वाल, कार्यालय परिसर, पार्क क्षेत्रलाई नियमित एवं स्वचालित रूपमा सुन्दर तथा जीवन्त बनाउन, सडक तथा गल्लीमा सडक बत्ती जडान गर्न विनियोजन गरेको हो।
‘धुलोरहित काठमाडौं’ योजनालाई १ अर्ब रकम विनियोजन गरेको महानगरले आस्फाल्ट प्लान्ट स्थापनासहित पूर्वाधार एम्बुलेन्सका लागि २५ करोड छुट्याएको छ। महानगरले एक सय मुख्य चोकमा ‘हाइमास्ट लाइट’ पनि हाल्ने भएको छ।
ललितपुरमा सडक पूर्वाधार र सम्पदा संरक्षणलाई प्राथमिकता
ललितपुर महानगरपालिकाले आफ्नो बजेटमा सडक पूर्वाधार र सम्पदा संरक्षणलाई प्राथमिकता राखेको छ। महानगरपालिकाकी उपप्रमुख मञ्जिला शाक्यले प्रस्तुत गरेको बजेटमा सडक पूर्वाधार, सम्पदा संरक्षण, एक वडा एक उद्यान, एक घर एक बोट, स्मार्ट स्ट्रिट लाइट, प्रत्येक वडामा सार्वजनिक शौचालय, अपांगमैत्री फुटपाथलगायत विषयलाई प्राथमिकतामा राखेको उल्लेख छ।
विराटनगरमा स्रोत संकुचनले घट्यो बजेट
विराटनगर महानगरपालिकाले यसपटक स्रोत संकुचनलाई कारण देखाउँदै बजेट घटाएको छ। उपमेयर शिल्पा निरौला कार्कीले बजेट प्रस्तुतका क्रममा स्रोतमा संकुचन देखाउँदै आगामी आर्थिक वर्षका लागि ८८ करोड ५९ लाख ९८ हजार रुपैयाँ कमको बजेट ल्याएको बताइन्। महानगरले आगामी वर्षका लागि कार्यालय सञ्चालन र प्रशासनिक खर्चमा मात्रै ६८ करोड रुपैयाँ विनियोजन गरेको छ।
वीरगन्जमा शिक्षा, स्वास्थ्य र कृषि प्राथमिकतामा
वीरगन्ज महानगरपालिकाले यसपटक शिक्षा, स्वास्थ्य र कृषि प्राथमिकतामा राखेको छ। उपमेयर इम्तियाज आलमले प्रस्तुत गरेको बजेटमा चालु आर्थिक वर्षको भन्दा करिब १२ करोडभन्दा कम रकमको बजेट ल्याएको उल्लेख छ। यसअघि चालु आर्थिक वर्ष २०७९÷८० मा भने महानगरपालिकाले ३ अर्ब ३३ करोड ६३ लाख २ हजार बराबरको बजेट ल्याएको थियो।
पोखरामा पुरानै लयको बजेट
पोखरा महानगरपालिकाले यसपटक पनि पुरानै लयको बजेट ल्याएको छ। उपप्रमुख मञ्जुदेवी गुरुङले प्रस्तुत गरेको बजेटमा खर्च बेहोर्ने स्रोतहरू पहिले जस्तै संघीय सरकार अनुदानबाट २ अर्ब ७६ करोड ३२ लाख, प्रदेश सरकार अनुदानबाट १० करोड २३ लाख ६२ हजार, अन्तरिक आयबाट २ अर्ब २७ करोड ८७ लाख बेहोरिने उल्लेख छ। नयाँ स्रोत खोजिएको छैन।
यसैगरी संघीय राजस्व बाडँफाँटबाट ३६ करोड ६२ लाख बेहोरिने छ। प्रदेश राजस्व बाँडफाँटबाट ८ करोड २५ लाख बेहोरिने बताइएको छ। स्थानीय राजस्व बाँडफाँटबाट १ अर्ब १ करोड ७५ लाख र संघीय सरकार सहरी विकास आयोजना अनुदानबाट ८ करोड ४० लाख ९१ हजार प्राप्त हुने अनुमान गरिएको छ।
भरतपुरमा एक घर दुई रूख अनिवार्य
भरतपुरले यसपटक एक घर दुई रूख रोप्न बजेटमार्फत नै अनिवार्य गरेको छ। महानगरका उपप्रमुख चित्रसेन अधिकारीले पेस गरेको बजेटमा नयाँ–नयाँ यस्ता योजना समेटिएका छन्। महानगरले आगामी वर्ष आन्तिरिक आय १ अर्ब ७५ करोड हुने प्रक्षेपण गरेको छ।
कार्यक्रममा महानगरकी मेयर रेणु दाहालले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्। कृषि र पशु विकासको क्षेत्रमा महानगरले ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। महानगरपालिकाले कृषिको उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि कृषकस्तरमा कृषि प्रविधि प्रसारका कार्यक्रमलाई प्राथमिकता दिएको छ।