शीर्षकहरू

प्रचण्ड नेतृत्वको सरकार ढल्न लागेको हो ? धर्मरायो गठबन्धन

प्रचण्ड नेतृत्वको सरकार ढल्न लागेको हो ? धर्मरायो गठबन्धन

काठमाडौं । सत्तासीन कांग्रेस महामन्त्री गगन थापाले चित्त नबुझे सत्ता गठबन्धन फेरिने बताए। सत्ता समीकरण फेरेर नयाँ बनाउने चलखेल भइरहेको चर्चा चलेका बेला कांग्रेस महामन्त्री थापाले शनिबार ‘गठबन्धन फेरिनु र नयाँ सरकार बन्नु’ कुनै नौलो नभएको बताए। कांग्रेस–एमालेबीच सत्तासमीकरणका दोस्रो तहका नेताबीच छलफल चलिरहेका बेला कांग्रेस महामन्त्री थापाले ‘सत्ता गए जाओस्’ भन्ने अभिव्यक्ति एक कार्यक्रममा दिए। 

सत्तासीन दलका नेता एवं पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले पनि ‘संयुक्त सरकार’ बन्नुपर्ने धारणासहितको ट्वीट शुक्रबार गरे। सत्तासीन एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि शुक्रबार नै ‘कांग्रेसलाई सत्ता दिन’ एमाले लागिपरेको आरोप लगाउँदै नयाँ समीकरणको चलखेलबारे संकेत गरे। सत्तासीन दलभित्रै ‘बजेट’ प्रतितीव्र असन्तुष्टि व्यक्त भइरहेका बेला ‘भित्रभित्रै सत्तासमीकरणका चलखेल’ भइरहेको नेताहरूले नै बताउन थालेका छन्। 

कांग्रेस र एमाले मिलेर सत्ता चलाउनुपर्नेमा दुवै दलका दोस्रो तहका नेताहरूबीच छलफल र वार्ता भइरहेका छन्। त्यसबाट गठबन्धनका अरू दल सशंकित छन्। गठबन्धनका एकीकृत समाजवादी, जनता समाजवादी र जनमत पार्टीले सरकारकै बजेट संशोधन हुनुपर्ने भन्दै संसद्मा विरोध जनाइरहेका बेला गठबन्धन परिवर्तनको बहस पनि उत्तिकै छ। 

मुलुकमा अस्थिरता झनै बढ्दै गइरहेको भन्दै एमालेले स्थिरताका लागि कांग्रेस–एमालेको सरकार बन्नुपर्ने प्रस्ताव कांग्रेसलाई गर्दै आएको छ। एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले राजनीति स्थिरताका लागि दुई ठूला दलबीच नयाँ गठबन्धन बन्ने संकेत गरेका छन्। यसमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने कुनै प्रतिक्रिया दिएका छैनन्। 

देउवा विदेशमा छन्। तर, दुवै दलका दोस्रो तहका नेताहरू यसको गृहकार्यमा छन्। राष्ट्रपतिको निर्वाचन लगत्तै एमाले अध्यक्ष ओलीले कांग्रेससँग मिलेर नयाँ सरकार गठन हुन सक्ने बताउँदै भनेका थिए, ‘राजनीतिमा जे पनि सम्भव छ, केही पनि सम्भव छैन भन्छन नि १, त्यही हो। एक ठाउँमा नआउने भनेर कसम खाएको छैन। कांग्रेससँग हामी मिल्न सक्छौं।’ मुलुकको स्थायित्व र समृद्धिका लागि दुई ठूला दल मिल्ने प्रयासमा थिए।