शीर्षकहरू

बैंकमा थुप्रियो तीन खर्बभन्दा बढी रकम, राष्ट्र बैंकले बीस अर्ब खिच्ने

बैंकमा थुप्रियो तीन खर्बभन्दा बढी रकम, राष्ट्र बैंकले बीस अर्ब खिच्ने

काठमाडौँ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम बढी भएपछि नेपाल राष्ट्र बैंकले फेरि २० अर्ब रुपैयाँ खिच्ने भएको छ । राष्ट्र बैंकले रिभर्स रिपोमार्फत २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्न लागेको हो ।

एक सूचना जारी गर्दै बैंकले असार १० देखि १७ गतेसम्म ७ दिने अवधिका लागि बोलकबोलमार्फत २० अर्ब खिच्न लागेको जनाएको छ । यसअघि हिजो बिहीबार मात्रै १० अर्ब रुपैयाँ खिचिएको थियो । रिभर्स रिपोमार्फत १० अर्ब माग गर्दा बैंकहरुले २६ अर्ब ३३ करोड रुपैयााको आवेदन प्रस्ताव गरेका थिए ।

बोलकबोलमार्फत १० अर्ब रुपैयाँ खिच्दा न्यूनतम २.७३९९ देखि अधिकतम ३.२४०० प्रतिशतसम्म ब्याजदर कायम भएको छ । बैंकिङ प्रणालीमा हाल ३ खर्बभन्दा बढी रकम थुप्रिएको छ । बैंकहरुमा निक्षेप संकलन बढ्दै गएपनि कर्जा प्रवाह बढ्न नसक्दा नगद थुप्रिएको हो ।