शीर्षकहरू

भैरहवा भन्सार कार्यालयमा प्रज्ञापनपत्र भर्ने बढे

भैरहवा भन्सार कार्यालयमा प्रज्ञापनपत्र भर्ने बढे

बेलहिया । भैरहवा भन्सार कार्यलयले गत जेठ १६ गतेदेखि रू एक सय भन्दा बढी मूल्यको समान ल्याउदा अनिवार्य भन्सार महसुल लिने व्यवस्थामा कडाइ गरेपछि प्रज्ञापनपत्र भर्नेको सङ्ख्या बढेको छ । प्रज्ञापनपत्रमा कडाइ नहुँदा घरयासी प्रयोजनका लागि भन्दै भारतबाट समान ल्याउनेको सङ्ख्या उल्लेख्य रहेकामा अनिवार्य भन्सार महसुल लिने व्यवस्थामा कडाइ गरेपछि प्रज्ञापनपत्र भर्नेको सङ्ख्या बढेको हो ।

भन्सार कार्यालयका प्रमुख मणिराम पौडेलले भने, “हामीले प्रज्ञापनपत्र नभरी कुनै पनि घरायासी होस् वा अन्य कुनै प्रयोजनको समान नेपाल ल्याउन दिएका छैनौँ । यसैले सर्वसाधरणले स्वतःस्फूर्त रुपमा प्रज्ञापनपत्र भरिरहनुभएको छ ।”

भन्सारको अभिलेख अनुसार जेठ १६ देखि जेठ मसान्तसम्मको अवधिमा ३० हजार तीन सय ६६ जनाले प्रज्ञापनपत्र भरेर समान लिएका छन् । गत वर्षको जेठ महिनाभरी तीन सय छ जनाले मात्रै प्रज्ञापनपत्र भरेर समान लिएको तथ्याङ्क छ । भन्सारको अभिलेखका अनुसार विसं २०७९ फागुनमा एक हजार दुई सय १५ जनाले, चैतमा एक हजार तीन सय ४४ जनाले प्रज्ञापनपत्र भरेका छन् । 

विसं २०८० वैशाखमा एक हजार एक सय ८३ र जेठमा तीन सय ५७ जनाले मात्रै प्रज्ञापनपत्र भरेका थिए । भन्सार व्यवस्थालाई कडाइ गरेपछि जेठ १६ देखि ३२ सम्मको १६ दिनको अवधिमा ३० हजार तीन सय ६६ जनाले प्रज्ञापन भरेका कार्यालयका प्रमुख पौडेलले जानकारी दिए ।