शीर्षकहरू

७२ करोड भुक्तानी पाएपछि कम्पनीहरुले फेरी शुरु गरे कृषि बीमा

७२ करोड भुक्तानी पाएपछि कम्पनीहरुले फेरी शुरु गरे कृषि बीमा

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले कृषि बीमालेख पुन जारी गर्ने भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बीमकहरुलाई केहि आंंशिक रकम उपलब्ध गराई बाँकी रहेको अनुदानको रकम पनि तत्काल उपलब्ध गराउने प्रतिवद्धता गराएसँगै कृषि बीमालेख जारी गरिएको हो । 

नेपाल बीमक संघका महासचिव अशोक कुमार खड्काका अनुसार कम्पनीहरुले एक परिपत्र जारी गर्दै एक महिनादेखि बन्द गरिएको उक्त बीमालेख असार मसान्तसम्मका लागि जारी गर्न लागिएको हो । महासचिव खड्काका अनुसार गत जेठ ३० गते कृषि मन्त्री डा. बेदुराम भुसालको अध्यक्षतामा मन्त्रालयका दुवै सचिवहरुको संयुक्त सहभागीतामा बसेको बैठकले अनुदान रकम तत्काल उपलब्ध गराउने प्रतिवद्घता भएको हो । 

मन्त्रालयले अनुदानको रकम उपलब्ध गराउने प्रतिवद्धता गरी बीमालेख जारी गर्न आग्रह गरेकाले असार मसान्तसम्मको लागि बीमालेख जारी गर्न शुरु गरिएको संघले जनाएको छ । यसका साथै संघले उक्त समय भित्र अनुदान रकम प्राप्त नभएमा पुनःबीमालेख बन्द गरिने चेतावनी समेत दिएको छ ।सरकारले कृषि बीमा वापत कम्पनीहरुलाई पहिलो किस्ता वापत ७२ करोड रुपैयाँ निकासा गरेको छ ।

यसका साथै संघले कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका विभागहरु तथा नेपाल बीमा प्राधिकरणलाई कृषि बीमा वापतको अनुदान तत्काल उपलब्ध गराउन सहजता अपनाई पहल गरि दिन समेत अनुरोध गरेको छ ।

सरकारले २०६९ सालदेखि कृषक र कृषिलाई प्राथमिकता दिई कृषि बीमाशूल्कमा क्रमशः अनुदान दिँदै आएकोमा २०७७ सालदेखि कृषि बीमाको अनुदान करिब रु ३ अर्ब बाँकी रहेको थियो । बीमकहरुले अनुदान रकम पाउन बारम्बार पहल गर्दा समेत विभिन्न बहानामा अनुदान रोकिएपछि संघले जेठ ७ गते देखि कृषि सम्बन्धी बीमालेख जारी गर्न बन्द गरेको थियो ।