शीर्षकहरू

जलस्रोत विभागका तत्कालिन महानिर्देशकविरुद्ध मुद्दा दायर, साढे तीन करोड बिगो माग

जलस्रोत विभागका तत्कालिन महानिर्देशकविरुद्ध मुद्दा दायर, साढे तीन करोड बिगो माग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग जलस्रोत तथा सिंचाई विभागका तत्कालीन महानिर्देशक (अवकाश प्राप्त सुई) मधुकर प्रसाद राजभण्डारीविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले राजभण्डारीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो । 

तत्कालीन महानिर्देशक राजभण्डारीले महानिर्देशकका रुपमा सरकारी पदमा कार्यरत रहँदा अकुत सम्पत्ति आर्जन गरेको पाइएको अख्तियारको भनाई छ । सार्वजनिक सेवामा उनी २०५१/११/३० देखि मिति २०७९/०५/३१ गतेसम्म रहेका थिए । उक्त अवधिमा उनको विभिन्न आयमा तीन करोड पचासी लाख एकाउन्न हजार सात सय चालीस रुपैया अड्चालीस पैसा वैधानिक आय स्रोत खुल्न आएको देखिन्छ । 

अख्तियारका अनुसार उनको सम्पूर्ण व्यय (खर्च तथा लगानी) मा जग्गा खरिद, घर निर्माणदेखि सवारी साधन खरिदमा भएको खर्च र बैंक मौज्दात रकमसमेत गरी सात करोड बयालीस लाख उनान्तीस हजार छयासी रुपैयाँ पैसठ्ठी पैसा खर्च तथा लगानी गरेको देखिन्छ । उनको कुल वैधानिक आयलाई कुल व्ययसँग तुलना गर्दा आयभन्दा तीन करोड छपन्न लाख सतहत्तर हजार तीन सय छयालीस रुपैया सत्र पैसाको वैधानिक स्रोत पुष्टि हुन नसकेको अख्तियारको भनाई छ । 

प्रचलित कानून बमोजिम सार्वजनिक पद धारण गरेको राष्ट्रसेवक कर्मचारीले पदमा बहाल रहँदाका बखत अमिल्दो तथा अस्वभाविक सम्पत्ति आर्जन उनले गरेको पाइएको छ । मनासिब कारणबिना अमिल्दो र अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको अख्तियारको भनाई छ । राजभण्डारीले सार्वजनिक पदको दुरुपयोग गरेको पुष्टि भएकोले री सो रकम बराबर बिगो माग गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जानकारी दिएको छ ।