शीर्षकहरू

करका विषयमा उपभोक्तालाई बुझाउन आवश्यक: अर्थमन्त्री

करका विषयमा उपभोक्तालाई बुझाउन आवश्यक: अर्थमन्त्री

विराटनगर । अर्थमन्त्री डा. प्रकाश शरण महतले सोमबार बिहान विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री डा. महतले राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिएका हुन् ।  

सेवाग्राही माझ सहज रूपमा प्रस्तुत हुन, व्यक्तिगत फाइदा  नहेर्न, डा. महतले निर्देशन समेत दिए । कर्तव्यबाट पन्छिने छुट कसैलाई नभएको बताउँदै उनले जिम्मेवारी जे छ त्यसैमा कर्तव्यनिष्ठ भएर काम गर्न आग्रह गरे । ‘अहिले बजेटले करका दायरा फराकिलो बनाएको छ, यसमा तपाईँहरूले सेवाग्राहीलाई राम्रोसँग बुझाउनुपर्छ, मूल्य अभिवृद्धि कर राजश्वको महत्त्वपूर्ण पक्ष हो । तरकारी फलफूलको आयातमा मात्र कर लाग्छ । आम उपभोक्ताको लागि मूल्य अभिवृद्धि करको बारेमा बुझाउन जरुरी छ’, उनले भने । 

‘म राम्रो काम गर्न आएको हुँ, तपाईँहरूले पनि राम्रो काम गरिरहनु भएको छ र अझै राम्रो काम गर्नु होला । आम नागरिकलाई दुःख दिने काम नगर्नु होला’, मन्त्री डा. महतले अगाडी भने, ‘उच्च मनोबलकासाथ कर्तव्यनिष्ठ भएर काम गर्नु होला । आगामी आर्थिक वर्षको राजश्वको लक्ष्य पूरा गर्न सबै मिलेर कर्तव्य निष्ठ भएर काम गर्नु पर्छ ।’