शीर्षकहरू

जेठमा करिब पाँच अर्ब वैदेशिक लगानी प्रतिबद्धता, नाफाकारुपमा बाहिरियो १६ अर्ब

जेठमा करिब पाँच अर्ब वैदेशिक लगानी प्रतिबद्धता, नाफाकारुपमा बाहिरियो १६ अर्ब

काठमाडौं । सरकारले वैदेशिक लगानी आकर्षित गर्ने नीतिलाई थप प्राथमिकतामा राखेको नीति तथा कार्यक्रम र बजेट मार्फत घोषणा गरेको महिना जेठमा ७० वटा प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत गरेको छ । चालू आर्थिक वर्षको जेठ महिनामा नयाँ ५७ वटा वैदेशिक लगानी स्वीकृत हुँदा शेयर पचेर्ज र शेयर सब्सक्रिप्सनका सात वटासँगै प्रविधि हस्तान्तरणका ६ वटा स्वीकृत भएका हुन् ।  

उद्योग विभागका अनुसार जेठ महिनामा नयाँ परियोजना अन्तर्गत चार अर्ब ९६ करोड ५३ लाख पुँजी नेपाल भित्रिने प्रतिबद्धता भएको हो । परियोजना मार्फत स्वीकृत पाएका २५६९ जनाले रोजगारी पाउने भएका छन् ।  

चालू आर्थिक वर्षमा जम्मा चार सय वटा परियोजनाका लागि लगानी स्वीकृत भएको छ । जस अन्तर्गत ५० अर्ब रुपैयाँ लगानी भित्रिने देखिएको छ । 

जेठ महिनामा आएको लगानी प्रतिबद्धतामध्ये सर्वाधिक बढी पर्यटन क्षेत्रमा आएको देखिएको छ । जसमा २६ वटा लगानी प्रतिबद्धता आएका हुन् । सेवा क्षेत्रमा भने २१ वटा परियोजनाको लगानी प्रतिबद्धता आउँदा कृषि र खनिज उत्खननमा भने विदेशीको चासो देखिएन । 

चालू आर्थिक वर्षमा जम्मा एक सय ४ वटा पर्यटन क्षेत्रका लागि लगानी प्रतिबद्धता आउँदा सेवा क्षेत्रमा एक सय १९ वटा लगानी प्रतिबद्धता भएको विभागले जनाएको छ । यो आर्थिक वर्षमा ऊर्जा र कृषि क्षेत्रमा भने एकएक वटा परियोजनाका लागि मात्र लगानी भित्रिने प्रतिबद्धता भएको छ ।  

यसबिचमा १६ सय १९ जनाले लगानीकर्ताकारुपमा भिसा लिएकोमा तीन सय २ जनाले जेठ महिनामा मात्रै लिएका छन् । चालू आर्थिक वर्षमा दुई अर्ब ३२ करोड रुपैयाँ वैदेशिक लगानी मार्फत भएको आयका रूपमा नेपालबाट रोयल्टीकारुपमा बाहिरिएको छ । लाभांशकारुपमा भने १३ अर्ब ८२ करोड रुपैयाँ बाहिरिएको उद्योग विभागले जनाएको छ ।