शीर्षकहरू

कति आय गर्नेले कति बुझाउनु पर्छ कर ? यस्तो छ नयाँ व्यवस्था

कति आय गर्नेले कति बुझाउनु पर्छ कर ? यस्तो छ नयाँ व्यवस्था

काठमाडौं । चालू आर्थिक वर्ष सकिन अब एक महिना मात्रै बाँकी छ । नयाँ आर्थिक वर्षको पहिलो दिनदेखि नै सबै कारोबारीहरूले अडिट गर्न र यो आर्थिक वर्षमा गरेको आय बमोजिम कर बुझाउन भ्याइनभ्याइ हुन्छ ।  

आगामी आर्थिक वर्ष २०८०/८१ को लागि अर्थमन्त्री डा. प्रकाश शरण महतले ल्याएको बजेटमा प्राकृतिक व्यक्तिमा लाग्दै आएको करमा केही हेरफेर भएको छ । त्यसैले धेरैलाई जिज्ञासा हुनसक्छ अब आयकर कति बुझाउनु पर्ला ? जसको जवाफ दिने प्रयास यहाँ गरिएको छ । 

आन्तरिक कर कार्यालयका अनुसार आय वर्ष २०८०/८१ भित्र पाँच लाखसम्मको करयोग्य आय गरेमा एक प्रतिशत मात्रै कर लाग्नेछ । दम्पतीको हकमा भने ६ लाखसम्मको करयोग्य आयमा एक प्रतिशत कर लाग्छ । पाँच लाखदेखि सात लाख रुपैयाँसम्म आय भएकाहरूले १० प्रतिशत कर तिर्नु पर्ने हुन्छ ।  

यसरी हेर्दा मानौँ कसैको सात लाख रुपैयाँ वार्षिक करयोग्य आय छ भने जम्मा २५ हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ । त्यसैगरि सात लाख देखि १० लाख रुपैयाँ अर्थात् दम्पतीको हकमा ८ लाख रुपैयाँदेखि ११ लाख रुपैयाँसम्म आय गरेमा जम्मा क्रमशः ८५ र ८६ हजार रुपैयाँ कर तिर्नु पर्ने हुन्छ ।  

दश लाख भन्दा माथि २० लाख रुपैयाँसम्मको करयोग्य आयमा ३० प्रतिशतको दरले कर तिर्नु पर्ने हुन्छ । यस्तो कर रकम दम्पतीको हकमा भने ११ लाख रुपैयाँदेखि गणना हुने हुँदा २ लाख ७० हजार रुपैयाँ कर रकम हुन आउँछ । 

बजेटमा गरिएको आयकर व्यवस्था अनुसार २० लाखदेखि ५० लाख रुपैयाँसम्मको वार्षिक आम्दानी हुनेहरूले ३६ प्रतिशत कर तिर्नु पर्ने हुन्छ । जुन रकममा १० लाख ८० हजार रुपैयाँ हुन आउँछ । यदि कसैको आय ५० लाख भन्दा बढी छ भने करयोग्य आय जतिसुकै भए पनि ३९ प्रतिशत कर लाग्छ । 

यो हिसाबले हेर्दा मानौँ कुनै व्यक्तिले ६० लाख करयोग्य आय गर्‍यो भने उसले १८ लाख ५५ हजार रुपैयाँ सरकारलाई कर बुझाउनु पर्ने हुन्छ । र, यही दम्पती छन् भने उनीहरूले १८ लाख २६ हजार रुपैयाँ कर तिरे पुग्छ । 

आयकरको नियम अनुसार यदि कुनै व्यक्तिले स्वास्थ्य बीमा बापत तिरेको प्रिमियम वा २० हजार रुपैयाँ जुन घटी हुन्छ सो रकम करयोग्य रकमबाट घटाउन पाइन्छ । त्यस्तै, कर तिर्नु पर्ने व्यक्तिले अवकाश कोषमा अवकाश योगदान गर्दा तीन लाख रुपैयाँ वा निर्धारणयोग्य आयको एक तिहाइमा जुन घटी हुन्छ सो रकममा आफ्नो करयोग्य आयबाट घटाउन सकिन्छ । 

यदि सामाजिक सुरक्षा कोषमा सहभागी भएको छ भने कोषमा योगदान गर्दा पाँच लाख रुपैयाँ वा निर्धारणयोग्य आयको एक तिहाइ जुन घटी हुन्छ त्यसलाई आफ्नो करयोग्य आयबाट घटाउन सकिन्छ ।