शीर्षकहरू

ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत अवरोधहरु तत्काल हटाउनुपर्छः अध्यक्ष ढकाल

ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत अवरोधहरु तत्काल हटाउनुपर्छः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत अवरोधहरु तत्काल हटाउनुपर्ने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (ईप्पान) को २१औँ वार्षिक साधारणसभालाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो जनाएका हुन् ।  

त्यस्तै, उनले अहिले कुल जडित क्षमताको दुई तिहाइ भन्दा बढी उत्पादन निजी क्षेत्रले गरिरहेको र निजी क्षेत्रको उल्लेखनीय प्रवेशले ऊर्जा क्षेत्रलाई आकर्षक बनाएको बताए । तर, कतिपय अवस्थामा प्रसारण लाइन तथा अन्य समस्याका कारण निजी क्षेत्रद्वारा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसकिएको र नीतिगत अवरोधहरुका कारण उत्पादकले उत्पादित विद्युत् समेत विक्रीगर्न नसकेको बताउँदै निजी क्षेत्रको उत्साहलाई कायम राख्न नीतिगत अवरोधहरु तत्काल हटाउनुपर्ने बताए । 

‘जलविद्युत् विकासको कुरा दशकौदेखि गरिआए पनि पछिल्लो दशकमा भएको प्रगति उल्लेखनीय छ । राज्यबाट थोरै मात्र सहयोग भएपनि निजी क्षेत्र फस्टाउन सक्छ भन्ने उदाहरण जलविद्युत्, सिमेन्ट लगायत क्षेत्रमा देखिएको छ’, उनले भने ।

उनले अबको केही वर्षमा ऊर्जा उत्पादनले तीब्रता पाउने विचारसमेत व्यक्त गरे । “अहिले नै करिब ७ हजार मेगावाट क्षमताका आयोजनाहरु निर्माणको चरणमा छ । विद्युत् खरिद सम्झौता खुकुलो हुँदा थप लगानीकर्ता आउने सम्भावना बढेको छ,” उनले भने ।