काठमाडौं । पछिल्लो समय सहकारी क्षेत्रका विभिन्न विषयहरू दैनिक जसो चर्चामा आइरहेका छन् । कहिले बचतकर्ता ठगिएको त कहिले सञ्चालक भागेका समाचार हरेक दिन सुनिन्छन्, पढ्न पाइन्छन् ।
यस्ता घटनाहरूले उठाएको एउटा अहम् प्रश्न हो, आखिर सहकारी क्षेत्र यसरी समस्याग्रस्त बन्नुको खास कारण के हो ? यसको सहज र सपाट जवाफ हो, सहकारीले गरेको लगानी समयमा नै उठ्न नसक्नु सहकारीको प्रमुख समस्या हो ।
यसपछि पनि केही प्रश्नहरू अनुत्तरित नै रहन्छन् । त्यसो भए सहकारीमा खराब कर्जा बढ्नुको कारण के हो ? अनि अनि सँगसँगै आउने अर्को जिज्ञासा पनि छ, त्यस्तो खराब कर्जा असुलीका उपायहरू के के हुन सक्छन् ?
सहकारी क्षेत्रका विज्ञहरू मुलुकमा देखिएको आर्थिक सङ्कट नै सहकारी सङ्कटको पनि प्रमुख कारण रहेको बताउँछन् । हुन त यसबाट सहकारी मात्रै होइन बैंक तथा वित्तीय संस्था पनि अछुतो रहन सकेका छैनन् तथापि आर्थिक मन्दीका कारण सहकारी संस्थाहरूको खराब कर्जा भने उच्च रुपमा बढेको छ ।
कुन सहकारी संस्थाको खराब कर्जा कति छ भनेर ठ्याक्कै तथ्याङ्क छैन । बलियो नियमनकारी निकायको अभाव रहेका कारण देशभरका सहकारी संस्थाको खराब कर्जाको स्थितिबारे न सहकारी विभाग जानकार छ न त नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ र राष्ट्रिय सहकारी महासङ्घ नै यसबारे केही बोल्न सक्छन् ।
प्रतीकात्मक रुपमा राष्ट्रिय सहकारी बैङ्कको तथ्याङ्क हेर्ने हो भने आम सहकारीहरूमा कुन स्तरमा खराब कर्जा बढेको होला भन्ने सहज रुपमा अनुमान गर्न सकिन्छ । सो बैङ्कको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४.२० प्रतिशत खराब कर्जा पुगेको छ । जबकि गत आवको सोही अवधिमा बैङ्कको खराब कर्जा १.७६ प्रतिशत मात्र रहेको थियो ।
आर्थिक मन्दीको असर
अर्थतन्त्रमा आएको मन्दीका कारण सहकारीहरूमा पनि नराम्ररी असर पारेको छ । राष्ट्रिय योजना आयोगका पूर्व सदस्य समेत रहेका डा. अर्थविद् चन्द्र मणि अधिकारीका अनुसार अहिले समग्र अर्थतन्त्रमा नै सङ्कुचन आएको छ । भुक्तानी प्रणालीमा पनि सकस आएको छ । मान्छेसँग पैसा छैन । व्यापार व्यवसाय पनि खुम्चिएका छन् ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफस्कुन) का पूर्व अध्यक्ष तथा सहकारी विज्ञ ऋषि घिमिरे पनि खराब कर्जा बढ्नुको कारण वित्तीय सङ्कट नै रहेको बताउँछन् । त्यस्तै, सङ्घीय सहकारी विभागका उपरजिस्ट्रार टोलराज उपाध्यायका अनुसार सहकारीको खराब कर्जा बढ्नुको पहिलो कारण वित्त प्रणालीमा आएको उतारचढाव नै हो ।
उनी भन्छन्, 'बैंक तथा वित्तीय संस्थामा आएको उतारचढावका कारण पैसाको कारोबार गर्ने सहकारीमा पनि समस्या आएको देखिन्छ । हाम्रोमा पैसाको महत्त्व कम भयो । यसले बजारमा शिथिलता आउँछ । बजारमा पैसा छैन । पैसाको महत्त्व कम भएका कारण पनि बजारमा समस्या आएको हो ।’
काठमाडौं महानगरभित्रका सहकारीलाई नियमन गर्ने सहकारी विभागका प्रमुख बलराम त्रिपाठीले पनि मन्दीका कारण कर्जा असुलीमा समस्या देखिएको बताए । उनले भने, 'आर्थिक मन्दीका कारण पनि यसको असर वित्तीय क्षेत्रमा देखिएको छ । कर्जा तिर्ने स्थिति छैन । बजारमा पैसा छैन ।’
कोरोना महामारीपछि सहकारीको खराब कर्जामा धेरै नै असर पारेको राष्ट्रिय सहकारी महासङ्घ अध्यक्ष मीनराज कँडेल बताउँछन् । उनी भन्छन्, 'खराब कर्जा बढ्नुको कारण कोरोना महामारीपछि देखिएको मन्दी हो । बैंक तथा वित्तीय संस्था र व्यापार व्यवसायमा नै मन्दी आएको छ । यसले गर्दा पनि आयआर्जनमा कमी आयो । ऋण र ब्याज तिर्न सक्ने क्षमता घट्यो । आम्दानीको स्रोत खुम्चिँदै गएपछि किस्ता तिर्न सकेनन् ।’
कँडेलको जस्तै तर्क राष्ट्रिय सहकारी बैंकका उपमहाप्रबन्धक (डिजिएम) राजेश श्रेष्ठको पनि छ । उनका अनुसार अहिले समग्र वित्तीय क्षेत्रमा नै सङ्कट देखिएको छ ।
किन बढ्यो खराब कर्जा ?
कोरोना महामारीका समयमा वित्तीय संस्थाहरूमा निक्षेप आएन र ऋणको माग पनि भएन । यसो हुँदा वित्तीय संस्थामा तरलता फालाफाल नै भयो । सस्तोमा ऋण लगानी गर्ने होडबाजी चल्यो । बैङ्कहरूले धेरै क्षेत्रमा लगानी गरेपछि सहकारीको पैसा पनि ताने । सहकारीले १६ प्रतिशतसम्ममा लगानी गर्ने गर्दै आएकोमा बैङ्कहरूले ८ प्रतिशतसम्ममा लगानी गर्दै ग्राहक ताने । त्यो बेला १० वर्ष सम्म पोर्टफोलियो बढाउन नसकेका बैङ्कहरूले एकै वर्षमा बढाए ।
तर, निक्षेप घट्दै जाँदा फेरी बैङ्कहरू ऋण दिन नसक्ने अवस्थामा पुगे । कर्जा-निक्षेप अनुपात (सिडी रेसियो) टाइट भएपछि नियमित रूपमा बैङ्कमा कारोबार गरिरहेको व्यापारीहरू अप्ठ्यारोमा परे । बैङ्कमा ऋण नपाएपछि केही समयको लागि भन्दै उनीहरूले सहकारीबाट ऋण लिए । महँगो ब्याज भए पनि उनीहरूले पैसा चलाए । तर, पछि त्यो पैसा उनीहरूले समयमै फिर्ता गर्न सकेनन् ।
बैङ्कमा कारोबार गरेका व्यापारीले सहजै ऋण तिर्न सक्छन् भनेर सहकारीहरूले पनि आँखा चिम्लेर लगानी गरेको देखिन्छ । निक्षेप आउँछ भनेर सिडी रेसियोको ख्याल नगरी लगानी गर्दा सहकारी पनि सङ्कट परका हुन् ।
पछिल्लो समय सहकारीमा विभिन्न खालका विचलनहरू आएका छन् । ठुला सहकारीमा आएको विचलनको असर अन्य सहकारीमा पनि देखिएको छ । यसले सहकारीको विश्वसनीयतामा नै कमी आएको छ ।
राम्रा सहकारी पनि धेरै छन् । तर केही खराब सहकारीले गर्दा अन्य सहकारी पनि समस्यामा परेका छन् । बचतकर्ताहरू आफ्नो बचतको सुरक्षा नभएको भन्दै लाइन लाग्ने गरेका छन् । सहकारीले सदस्यहरूबाट उठाएको पैसा लगानी गरेका हुन्छन् । सहकारीले सीमित पैसा फिर्ता गरे पनि निक्षेपको सबै पैसा एकै पटक फिर्ता गर्न सकेनन्, सक्दैनन् ।
हिल टप जुनार बहुउद्देश्यीय सहकारीका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत सुमन विक्रम थापा बैङ्कहरूका ऋणीहरूले जसरी सहकारीका ऋणीहरूले किस्ता नतिर्ने गरेको बताउँछन् । उनी भन्छन्, 'सहकारी सदस्यहरूले बैंकका ऋणीहरूले जसरी ऋण तिर्न चाहेनन् । उनीहरू पहिले बैङ्कको ऋण तिरौँ सहकारीको पैसा पछि तिरौला भन्ने तर्फ लागे । यसले गर्दा पनि सहकारीमा ब्याज र किस्ता असुल नभएको हो ।’
उनका अनुसार खराब कर्जा बढ्नुमा आन्तरिक भन्दा पनि बाह्य कारणहरू अहिले धेरै छन् । विश्व नै अहिले मन्दीको चपेटामा परेको छ । कोरोना महामारीबाट तङ्ग्रिन नपाउँदै बाह्य युद्ध देखियो । यसले पनि अर्थतन्त्रलाई थप थिलथिलो बनायो । आन्तरिक रूपमा अर्थतन्त्र नै जीर्ण हुँदै गयो । व्यवसायहरू ठप्प हुँदै गयो । मन्दीबाट सबै क्षेत्र प्रताडित हुँदा उनीहरूले ब्याज तिर्न सकेनन् । यसको असर सहकारीमा प¥यो ।
खराब कर्जा बढ्नुमा सञ्चालक पनि दोषी
सहकारी संस्थाहरूको खराब कर्जा बढ्नुमा ऋणी सदस्यहरू मात्र दोषी छैनन् । उनीहरू जत्तिकै भागिदार सहकारीका सञ्चालक सदस्यहरू पनि छन् । सहकारी सञ्चालकहरूको संस्था राष्ट्रिय सहकारी महासङ्घले नै खराब कर्जा बढ्नुमा सञ्चालकहरू पनि दोषी रहेको पत्रकार सम्मेलनमा नै स्वीकारेको थियो ।
महासङ्घको जस्तै स्वीकारोक्ति नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलको पनि छ । उनी भन्छन्, 'सहकारीमा बचतकर्ताले मात्रै ऋण लिएका छैनन् । सञ्चालकहरूले पनि ठुलो मात्रामा ऋण लिएका छन् । पछिल्लो समय सञ्चालकहरूले लिएको ऋण भाका नाघिसक्दा पनि नतिरेका कारण समस्या देखिएको छ ।’
काठमाडौं महानगरपालिका सहकारी विभाग विभागीय प्रमुख बलराम त्रिपाठी पनि सञ्चालकहरूले लिएको ऋण समयमा नतिरेका कारण समस्या आएको बताउँछन् । उनी भन्छन्, 'कतिपय सञ्चालकहरू आफूले ऋण लिने गरेका छन् । उनीहरूले लिएको ऋण घरजग्गा र शेयरमा गएको देखिन्छ । यो दुवै क्षेत्रमा अहिले मन्दी छ । जसको असर सहकारीको कर्जामा परेको छ ।’
अनुत्पादक क्षेत्रमा लगानी
सहकारीहरूले गरेको लगानी उत्पादनमूलक भन्दा पनि बढी अनुत्पादन क्षेत्रमा गएको देखिन्छ । उनीहरूले लगानी गर्दा कर्जा विस्तार गर्ने र असुल गर्ने बाहेक अन्य कुरामा ध्यान दिएको देखिँदैन । यसो किन भनिएको हो भने पछिल्लो समय समस्यामा परेका धेरैजसो सहकारीहरूको लगानी घरजग्गा र शेयर बजारमा देखिएको छ । यो क्षेत्रमा समस्या आउने बित्तिकै त्यस्ता सहकारीहरू सङ्कटमा परेका छन् ।
बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दीपक गौतम पनि यो कुरा स्वीकार गर्छन् । गौतम भन्छन्, 'सहकारीमा खराब कर्जा बढ्नुको कारण अनुत्पादन क्षेत्रमा लगानी गर्नु हो । यसका साथै मान्छेहरूको आयस्रोत पनि घटेका कारणले खराब कर्जा बढेको हो ।’
फितलो नियमन
सहकारी नियमन गर्ने निकायहरूले यस क्षेत्रको नियमन फितलो रहेको स्वीकार गरिरहँदा अर्थविद् डा. डिल्लीराज खनाल पनि सोही कारण औँल्याउँछन् । उनी भन्छन्, 'सहकारी क्षेत्रमा समस्या धेरै छन् । नियमन छैन । सहकारीहरू नाफा कमाउने उद्देश्यले चलाई रहेका छन् । यसको नियमन हुन सकेको छैन । मनपरी ढङ्गले चलेकाले स्थिति बिग्रिएको हो ।’
त्यस्तै, सहकारीले गरेको ऋण लगानी कहाँ कसरी गरेको छ भनेर नियमन गर्ने निकायले नै हेर्न नसकेको अर्थविद् डा. चन्द्र मणि अधिकारी तर्क राख्छन् । सहकारीले के मा ऋण लगानी गरिरहेको छ भन्ने पनि हेरिँदैन । नियमित रूपमा ब्याज आए/नआएको पनि रेकर्ड राखिँदैन । अनुगमन र नियमन पनि हुँदैन ।’
अर्का अर्थविद् हरि रोक्का पनि अनुगमनकै अभाव देख्छन् । ‘अनुगमनको अभाव हो, अनुगमन प्रक्रिया फितलो भयो । सहकारीको आकार कत्रो हुन्छ, कतिको कारोबार गर्न पाउँछ र कति लगानी गर्न पाउँछ भन्ने कुराको अध्ययन नगरीकन जति पायो त्यति निक्षेप राख्न दिए पछि समस्या आउँछ’, उनको भनाई छ ।
नेफ्स्कुनका सिईओ प्रकाश प्रसाद पोखरेल ऋण लिन आउँदा ऋणीको अवस्था नहर्ने गरिएको बताउँछन् । उनी भन्छन्, 'ऋण लगानीमा नियमन र सुपरिवेक्षणको पाटो पनि पर्छ । नियमन फितलो भएको छ । ऋण लगानी गर्दा पनि केही कमजोरीहरू भएका छन् । ऋणीले ऋण लिएपछि उसको तिर्न सक्ने क्षमता छ की छैन, सम्पत्तिको स्रोत के छ र कर्जाको उपयोगिताको पनि सुपरिवेक्षण पनि हुन सकेको छैन ।’
कमजोर धितोमा ऋण लगानी
सहकारीहरूले ऋण लगानी गर्ने र ब्याज खाने होडमा धितोबारे ध्यान दिन नै भुल्छन् । कतिपय सहकारीहरूले त चिनजानको आधारमा बिना धितो ऋण लगानी गरेको प्रशस्त उदाहरण छन् । जसले गर्दा अवैध कारोबार भएको देखिने गरेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भीम बहादुर गुरुङको भनाई छ ।
उनले आफ्नो अनुभव सुनाउँदै भने,'‘बिना धितो ऋण लगानी गरेका कारण पनि समस्या आएको छ । यसलाई संस्थागत गर्न सकेको स्थिति पनि छैन । ग्यारेन्टी नै महसुस गर्ने गरेर कसैले सहकार्य गर्न खोज्छ भने फाउन्डरहरूले निक्षेपको रूपमा राख्न सक्यो भने त्यस्तो अवस्थामा त्यहीबाट ऋण दिन सक्ने वातावरण सिर्जना नगरेसम्म यो खराब कर्जा बढ्दै जान्छ । नीति नियमको अभाव छ ।’
अर्थविद् डा. चन्द्र मणि अधिकारीले पनि कमजोर धितोमा ऋण लगानी गरेका कारण पनि सहकारीको खराब कर्जा बढेको बताए । राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेल पनि अर्थविद् डा. अधिकारीको जस्तै तर्क राख्छन् ।
उनी भन्छन्, 'कतिपय संस्थाहरूले बिना धितो पनि ऋण दिएको पाइएको छ । ऋण लिएकाहरूले पनि एउटा व्यवसायका लागि ऋण लिएर अन्यत्रै लगानी गर्ने गरेको पाइएको छ । यसले गर्दा पनि समस्या देखिएको हो ।’
शेयर र घरजग्गामा लगानी
सहकारीहरूले नियम विपरीत शेयर बजार र घरजग्गामा लगानी गरेका कारण पनि समस्या आएको विज्ञहरूको भनाई छ । अर्थविद् डा. खनाल भन्छन्, 'सहकारीहरूले घरजग्गा र शेयर बजारमा लगानी गरेका कारण पनि समस्या देखिएको हो । सम्पत्तिको मूल्य बढ्दै गए पनि मान्छेहरू लोभमा पर्दै गए ।’
सहकारी विज्ञ घिमिरे पनि घरजग्गामा लगानी गरेकाका कारण सहकारी डुबेको बताउँछन् । उनले भने, 'धेरैजसो सहकारीको लगानी घरजग्गामा नै छ । उद्यम क्षेत्र पनि नचलेका कारण सहकारीको खराब कर्जा झन् बढ्दै गएको छ ।’
अहिले घरजग्गाको कारोबार सुस्ताएको छ । भू–उपयोग नियमावली अनुसार जग्गा को वर्गीकरण भएको छैन । स्थानीय निकायबाट जग्गाको वर्गीकरण नभएपछि घरजग्गाको कारोबार घटेको छ । घरजग्गाको कारोबार घट्ने बित्तिकै बजारमा पैसा कम भयो, पैसाको गति पनि घट्यो ।
अर्को तिर शेयर बजार निकै माथि पुगेको थियो । लगानीकर्ताले खरिदबिक्री गर्दा कारोबार पनि बढेको थियो । तर, अहिले शेयर बजारको कारोबार पनि सुस्ताएको छ । यस क्षेत्रमा सहकारीहरूले लगानी गरेका कारण समस्या देखिएको सहकारी विभागका उपरजिस्ट्रार उपाध्याय बताउँछन् ।
त्यस्तै, विभागीय प्रमुख बलराम त्रिपाठी भन्छन्, 'कतिपय सञ्चालकहरूले ऋण लिएर घरजग्गा र शेयर बजारमा लगानी गरेका छन् । लगानी गरेको मूल्य पनि घट्दो अवस्थामा छ । घरजग्गाको कारोबार बन्द छ भने शेयर बजार पनि घटिरहेको छ ।’
हिल टप सहकारीका सिईओ थापाका अनुसार सबै सहकारीमा कर्जाको समस्या छैन । तर, घरजग्गा र व्यावसायिक क्षेत्रमा लगानी गरेका सहकारीको खण्डमा भने समस्या देखिएको छ । व्यापार व्यवसाय ठप्प छ । घरजग्गाको कारोबार सुस्त छ । राष्ट्र कै वित्तीय अवस्था कमजोर हुँदै जाँदा शेयर बजार, घरजग्गा लगायतका अनुत्पादक क्षेत्रमा लगानी गरेका संस्थाहरू झन् दोहोरो मारमा छन् । एकातिर बैंकको ब्याज बढेको छ, आम्दानी घटेको छ । शेयर बेचौँ घाटामा छ । नबेचौँ कालोसूचीमा परिन्छ ।
के छ नियमावलीमा ?
सहकारी नियमावली २०७५ मा सहकारीको ऋण अपचलन गर्ने, तोकिएको समयभित्र ऋणको ब्याज र सावा नतिर्ने सदस्यलाई कालोसूचीमा राख्ने व्यवस्था गरिएको छ ।
आर्थिक विधेयक २०७९/८० का अनुसार बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जामा वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जाको औसत अनुपात २०७८ पुसमा १.३१ प्रतिशत रहेकोमा २०७९ पुसमा २.६३ प्रतिशत रहेको छ ।
आर्थिक विधेयक २०७९/८० का अनुसार सहकारी क्षेत्रमा ४ खर्ब ७८ अर्ब ३ करोड बचत परिचालन भई ४ खर्ब २६ अर्ब ३५ करोड कर्जा प्रवाह भएको छ ।
समाधानका उपाय
सहकारीमा खराब कर्जा बढ्नुका कारणहरू चर्चा गरेपछि यसका समाधानका उपाय पनि सुझाउन आवश्यक छ । सहकारीलाई नियमन गर्ने बलियो निकाय हुनुपर्ने अर्थविद् डा. खनालको भनाई छ ।
समाधानका उपायबारे अर्थविद् डा अधिकारीले जनाए अनुसार सहकारीका ऋणीले कुन प्रयोजनका लागि ऋण लियो र के मा खर्च गरिरहेको छ भन्ने कुरा हेर्नुपर्छ । ऋणीले नियमित रूपमा ब्याज/किस्ता तिरिरहेको छ की छैन र यदि समयमा तिर्न सकेको छैन भने त्यसको कारण खोज्नुपर्छ ।
ऋणी सङ्कटमा परेको कारणले तिर्न नसकेको हो भने उसलाई पेनाल्टी बापतको जरिवाना नलगाई समय थप पनि गरिदिनुपर्छ । तिर्न सक्ने क्षमता छ तर अटेर गरेर ऋण नतिरी बसेको छ भने उसको सम्पत्ति लिलाम बिक्री गरी ऋण उठाउनुपर्छ ।
यस सन्दर्भमा सञ्चालक समिति व्यवस्थापकहरूले एउटा कार्यविधि बनाएर अगाडी बढ्नुपर्छ । सबै ऋण नउठे पनि ऋणीको पहिचान गरेर ऋण उठाउन सहजीकरण गर्नुपर्छ ।
ऋण उठाउनेबारे सहकारीहरू कडा भएर प्रस्तुत हुनुपर्ने अर्थविद् रोक्काको सुझाव छ । उनी भन्छन्, 'यदि सहकारीको पैसा खाएर भागेकाहरू छन् भने नोटिस टाँस्ने । र उसलाई पक्राउ गर्ने । ऋणीका परिवारका अन्य सदस्यहरूलाई भए पनि पक्राउ गरेर ऋण असुल्ने गर्नुपर्छ ।’
'सहकारी संस्थाहरू आफैले कसरी लगानी गरेको हो, कुन प्रकारले लगानी गरेको हो र सदस्यहरूसँगको सम्बन्ध कस्तो छ त्यो हेरेर ऋण असुल्न खोज्नुपर्छ । यदि सम्बन्ध छैन भने राम्रो बनाएर उठाउने बाहेक अन्य विकल्प छैन’, विज्ञ घिमिरेको सुझाव छ ।
ऋण उठाउन संस्थाहरू आफै सजग हुनुपर्ने बताउँदै उनी भन्छन्, 'ऋणी सदस्यहरूसँग निरन्तर सम्पर्क गर्नुपर्छ । कतिपय केशमा भने लिलामी पनि गर्नुपर्ने हुन्छ । लिलामी पनि समाधान होइन । कहिलेकाहीँ लिलाम बिक्री नहुँदा संस्था आफै फस्छन् ।’
आम रूपमा सुधार गर्नका लागि सरकारले तुरुन्त बचत तथा ऋणको ऐन ल्याउनुपर्ने उनको भनाई छ । उनका अनुसार ऐन ल्याएर संस्थागत एकीकरण गरी संस्थाहरूलाई लग्नुपर्छ । एकीकरणमा लगेपछि त्यसको अधिकार अहिले वित्तीय कारोबार गर्ने केन्द्रीय सङ्घलाई दिनुपर्छ । सरकार आफैले अनुगमन गर्न सक्दैन ।
ऐनमा फोर्स मर्ज गर्ने, सञ्चालकहरूको योग्यता तोक्ने, संस्थाको पुँजीको संरचना पनि तोक्ने, लेखा समितिको योग्यता तोक्ने, अनुगमन गरे नगरेको हेर्न पनि अनुगमन गर्ने लगायतका सबै कुराहरू राखेर बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरूको ऐन ल्याउनुपर्ने उनको तर्क छ । सरकारले यत्तिकै छोड्यो भने नराम्रोसँगै राम्रा सहकारी पनि डुब्ने उनको भनाई छ ।
सहकारीको समस्या समाधान गर्ने हो भने पहिले अर्थतन्त्र चलायमान बनाउन ध्यान दिनुपर्ने उपरजिस्ट्रार उपाध्यायको भनाई छ । ‘पैसाको कारोबार गर्ने सबै तह तप्का सजग हुनुपर्छ । नीतिगत तवरबाट गर्ने सम्बोधन राज्यले गर्नुपर्छ’, उनी बताउँछन् । ।
सञ्चालकहरूले सदस्यहरूलाई संस्थाप्रतिको विश्वास दिलाउन सके पनि उठ्न नसेकेको पैसा उठ्ने विभागीय प्रमुख त्रिपाठी बताउँछन् । उनी भन्छन्, ‘तत्काल सहकारी संस्थाहरूको ऋण उठाउन खराब कर्जाको हकमा सम्भावना कम छ । यसका लागि आर्थिक मन्दीमा सुधार हुनु प¥यो । सञ्चालकहरूले सदस्यहरूलाई विश्वास दिलाउनु पर्छ ।’
अध्यक्ष कँडेलका अनुसार ऋण उठाउनका लागि ऋणीहरूको चल अचल सम्पत्ति रोक्का गर्नुपर्छ । निरन्तर ताकेता पनि गर्नुपर्छ । छलफल र ऋण उठाउन पहल पनि गर्नुपर्छ । उठ्दै नउठ्ने ऋण रहेछ भने पनि अन्य सम्पत्ति र जवानी बसेकाहरूबाट असुल गर्ने । कतिपयले घरजग्गामा पनि लगानी गरेका छन् । उनीहरूले पनि त्यो बेचेर ऋण तिनुपर्यो ।
नेफ्स्कुनका सिईओ पोखरेल ऋण उठाउन कानुनी प्रक्रियामा गएर डर र धम्की देखाउने भन्दा पनि सदस्यहरू कै मा गएर ऋण तिर्ने वातावरण सहजीकरण गर्नुपर्ने बताउँछन् । ‘ऋण उठाउन हामीले सदस्यहरूलाई जागरूक गराउने, ऋण असुलीको कार्यक्रम पनि चलाउनुपर्छ । यसले पनि खराब कर्जा उठाउन सहज हुन्छ । कर्जा सूचनामा गएर कालोसूचीमा राखेर मात्र हुँदैन यो मात्र अन्तिम विकल्प होइन’, उनले सुझाए ।
ऋण उठाउने कुरामा धेरै नै चुनौती रहेको बताउँदै (डिजिएम) श्रेष्ठ भन्छन्, 'सबै कुरा लिलामी गरेर सूचना टाँसेर मात्र हुँदैन । अर्थतन्त्रका सूचक नै सुधार हुनुपर्छ । बजार चलायमान हुनुपर्छ ।’
सहकारीको ऋण उठाउन संस्थाहरूले मात्रै नसक्ने भएकाले सरकारले पनि सहयोग गर्न आवश्यक देख्छन् सिईओ गौतम । उनी भन्छन्, 'सहकारीका सदस्यहरूलाई सहकारी शिक्षा दिनुपर्छ । सरकारी तवरबाट पनि ऋण उठाउने वातावरण सिर्जना गरिदिनुपर्छ । कुनै पनि सरकारी काम काजका लागि योग्य नहुने गरी नियम कानुन बनाएर कार्यान्वयन गरियो भने पनि ऋण उठाउन सहज हुन्छ ।’
सिईओ गुरुङका अनुसार बैक तथा वित्तीय संस्थाहरूको खराब कर्जा बढेर सङ्कटमा परे भने त्यसको दायित्व राष्ट्र बैङ्कले लिन्छ । सहकारीमा भने त्यसको नियन्त्रण गर्ने नभएर पनि खराब कर्जा बढेको छ । मानिसहरू पैसा लिएर भाग्ने गरेका छन् ।
कर्जा सूचना केन्द्र हेरेर मात्र लगानी गर्नुपर्छ जो आए पनि ऋण दिनु हुँदैन । सहकारीले बढी ब्याज पाएपछि ऋण दिने आयस्रोत नहुनेले सहकारीबाट ऋण लिने अनि अरू ठाउँमा तिर्ने गरे पनि त्यसको लगानी भएन । ब्याज तिर्दैमा गयो । यसलाई नियन्त्रण गर्नुपर्छ ।
सरकारले सहकारीलाई अर्थतन्त्रको तेस्रो खम्बाको रूपमा लिएको छ । पछिल्लो सहकारीमा देखिएको समस्या, विज्ञ र सहकारी सञ्चालकको भनाई हेर्दा सरकारले सहकारीलाई नारामा मात्रै अर्थतन्त्रको तेस्रो खम्बाको रूपमा मानेको देखिन्छ । सरकारी पक्षबाट आफ्नो दायित्व पुरा गर्ने हो भने सहकारी संस्थाहरू यो अवस्था आई पुग्दैनन् ।
सहकारीलाई नियमन गर्न सक्ने गरी काम गर्ने वातावरण सरकारी पक्षबाट हुनुपर्ने आवश्यक देखिन्छ । यसका साथै सहकारीका सञ्चालक, सहकारी व्यवस्थापन पक्षका पदाधिकारी र अन्य सदस्यहरूले सहकारीसँग सम्बन्धित नीति नियम भित्र रहेर अगाडी बढ्नुपर्ने आवश्यक देखिन्छ ।