शीर्षकहरू

निजी क्षेत्रले कर्जा नलिएपछि बैंकमै थुप्रियो पैसा

निजी क्षेत्रले कर्जा नलिएपछि बैंकमै थुप्रियो पैसा

काठमाडौं । वर्षको सुरुमा बैंकबाट ऋण नपाएको निजी क्षेत्रको गुनासो सुनिने गर्थ्यो । निजी क्षेत्रका कतिपय अगुवाहरूले बैंकमा पैसा हुँदाहुँदै पनि कर्जा नपाएको भन्दै आक्रोश पोख्थे । बैंकहरूसँग पर्याप्त पैसा (लगानीयोग्य रकम र तरलता) नभएकाले उनीहरूले सहजै कर्जा पाउने अवस्था थिएन । तर, अहिले अवस्था उल्टोजस्तै भएको छ। अहिले बैंक तथा वित्तीय संस्थासँग लगानीयोग्य रकम सहज अवस्थामा आइपुगेको छ, तर निजी क्षेत्रले कर्जा उठाएको छैन ।

बैंकहरूमा २ खर्ब ७० अर्ब रुपैयाँ तरलता रहँदा पनि निजी क्षेत्रले कर्जा नउठाउँदा बैंकमा पैसा थुप्रिन थालेको छ । यसलाई परिचालन गर्न बैंकहरूले विभिन्न अफर सार्वजनिक गर्न थालेका छन् । बैंक तथा वित्तीय संस्थाहरूमा ३ खर्ब ७० अर्व ७८ करोड रुपैयाँ निक्षेप संकलन भएको छ, जुन गत असारको तुलनामा ७।३ प्रतिशतको वृद्धि हो । 

गत साउनदेखि वैशाखसम्ममा बैंक तथा वित्तीय संस्थाले १ खर्व ५३ अर्व १७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत असारको तुलनामा यो ३.३ प्रतिशतको वृद्धि हो ।

बैंकमा पैसा थुप्रिंदा पनि निजी क्षेत्रले किन कर्जा उठाउन चाहेको छैन ? अहिले यो प्रश्न उठ्न थालेको छ । निजी क्षेत्रले कर्जाको माग नै नगरेको बैंकरहरूले बताइरहेका छन् । उद्योगी व्यवसायीहरूले भने विभिन्न समस्या देखाउँदै कर्जा माग गर्न नसकेको बताइरहेका छन् । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले अहिले अर्थतन्त्रमा आएको सुस्तताका कारण बजारमा वस्तुको माग नै नभएपछि उद्योगी व्यवसायीले कर्जाको माग नगरेको बताए । “विगतमा १०० वटा वस्तुको माग थियो, अहिले ५० वटा वस्तुको पनि मुस्किलले माग छ” उनी भन्छन्, “यस्तो अवस्थामा कर्जा लिएर मात्रै के गर्ने ? व्यवसायीहरूले ऋण लिनका लागि उपयुक्त समय पर्खिएर बसेका छन् ।” 

अहिले बजारमा वस्तुको माग नहुँदा उत्पादन पनि घटाउनु परेकाले कर्जा नलिएको उनले बताए । अहिले व्याजदर पनि घट्दो क्रममा रहेको भन्दै उनले अब विस्तारै बजारमा वस्तुको माग पनि बढ्छ कि भन्ने आशा रहेको सुनाए । बजारमा माग सिर्जना भएको अवस्थामा कर्जाको माग बढ्न सक्ने अध्यक्ष अग्रवालको अनुमान छ ।