नेपालीमा एउटा उखान छ, ‘जो चोर उसकै ठूलो स्वर’ । यो उखान आजकल हाम्रो समाजको धेरै क्षेत्रमा चरितार्थ भइरहेको छ । यहाँ सन्दर्भ जोड्न खोजिएको विषय आलु प्याजमा लागेको मूल्य अभिवृद्धि कर (भ्याट) र त्यसविरुद्ध भइरहेका गतिविधिहरूको हो ।
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाश शरण महतले नेपाली कृषि उत्पादनको संरक्षण गर्ने नीति सार्वजनिक गरे । जस अनुसार आर्थिक विधेयक–२०८० मार्फत सरकारले कृषिजन्य वस्तुको आयात गर्दा दिँदै आएको भ्याट छुटको सूचीबाट आलु र प्याजलाई हटाएको छ ।
यस्तो प्रावधानबाट आयातित आलु र प्याजको मूल्य मात्र बढ्नु पर्ने हो । तर, नेपाली बजारमा अहिले नै आलु र प्याजको मूल्य छोइनसक्नु गरी वृद्धि गरी आलु र प्याजका आयातकर्ताहरू कालोबजारी मार्फत आफूले गरेको ‘अपराध’ लुकाउन पत्रकार सम्मेलन गर्दै हिँडिरहेका छन् । उनीहरू सरकारले स्वदेशी कृषकलाई प्रोत्साहन गर्नेगरि लिएको नीतिविरुद्ध व्यक्तिगत स्वार्थका लागि विरोधमा उत्रिरहँदा अनपेक्षितरुपमा कतिपय सञ्चारमाध्यमहरूको समेत साथ पाइरहेका छन् ।
अहिले आयात ठप्प पारेर सरकार विरोधी हर्कतमा सक्रियहरू आलु प्याज निर्यात तथा थोक बिक्रताहरु वास्तविक नेपाली किसान र राष्ट्रघात शत्रु हुन भन्ने कुरा तर्फ सबैले ध्यान दिनु जरुरी देखिएका छ । आयातित आलु र प्याजमा मूल्य अभिवृद्धि कर लगाउँदा त्यसले यही कसैलाई क्षति पुग्छ भने तिनीहरू विदेशी तरकारी नखाई नसक्ने श्रेणिका उपभोक्ता मात्रै हुन् । जसलाई जे जति महँगो परे पनि विदेशी उत्पादन नै प्रयोग गर्नु छ र त्यो प्रयोग गर्न सक्ने आर्थिक क्षमता उनीहरूमा छ ।
तर, राष्ट्रिय अर्थतन्त्रसंगसंगै नेपाली किसानको हित रक्षाका लागि सरकारले चालेको कदमविरुद्ध रातारात बढ्नै नपर्ने आलु र प्याजको मूल्य बढाएर दबाबपूर्ण ढङ्गले त्यस्तो व्यवस्था हटाउन क्रियाशीलहरूको तर्क के छ भने, ‘स्वदेशी आले तथा प्याजले नेपालको माग धान्न सक्दैन । आयात गर्नै पर्ने हुन्छ । तसर्थ यस्ता वस्तुहरूमा कर लगाउन पाइँदैन ।’
यदि उनीहरूको कुतर्कलाई नै स्वीकार गर्ने हो भने नेपालका आलु तथा प्याज खेती गर्ने किसानहरू सो व्यवसायबाट निकट भविष्यमा नै पलायन हुने निश्चित छ । किनकि स्वभाविकरुपमा नेपालको उत्पादन आयातित कृषिजन्य उत्पादनभन्दा महँगो हुने गरेको छ । थोरै महँगो नै सही नेपाली उत्पादन नै प्रयोग गर्न पाउँदा आम नेपाली नागरिकहरू दुखी हुँदैनन् । तर, त्यस्तो अवस्था हुँदा अत्यन्तै सस्तो मूल्यमा गुणस्तरहीन उत्पादन ल्याएर ठूलो मात्रामा मुनाफा राखी उपभोक्ताबाट चर्को मूल्य असुल गर्ने नाफाखोरहरूको भने यस्तो नीतिले निन्द्रा गायब गराएको हो ।
जब नाफाखोरहरूको स्वार्थमा ठेस पुग्यो तब अहिले बजार तताइएको छ । आलु प्याज लुकाइएको छ । छुनै नसक्नेगरि महँगो बनाइएको छ । प्रायोजित ढङ्गले सञ्चारमाध्यमहरूमा सरकारको विरोध गर्ने अभियान नै चलाइएको छ । आम उपभोक्ताहरू यो तथ्यलाई मनन गर्दै आलु र प्याजको उपभोगलाई केही समय कम मात्रै गर्ने हो भने पनि आम नेपाली उपभोक्तालाई ठग्दै आएका नाफाखोर र कालोबजारी गर्नेहरूको गिरोहको स्वार्थ पूर्ति हुन सक्दैन । अहिले तिलमिलाएका छिचिमिराहरूको प्वाँख केही समय भित्रमा नै झर्ने निश्चित छ ।