पङ्कज जलान, नेपालको सूचना प्रविधि सम्बन्धी शिक्षाका बारेमा हुने कुनै बहस, छलफल र सन्दर्भमा नछुट्ने नाम हो। नेपालको पहिलो आइटी कलेजका रुपमा स्थापित लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष हुन्, उनी । लर्ड बुद्ध एजुकेसन फाउन्डेसन त्यो शैक्षिक संस्था हो जसले नेपालमा सूचना प्रविधि (आइटी) शिक्षाको श्री गणेश मात्र गरेन कि नेपाललाई आवश्यक पर्ने एउटा सिङ्गो क्षेत्रमा देखिएको दक्ष जनशक्तिको अभावलाई समेत लामो समयदेखि आपूर्ति गर्दै आएको छ । यस्तो गौरवपूर्ण इतिहास बोकेको र राष्ट्रलाई नै ठोस योगदान पुग्ने काम गरेको संस्थाको कुशलतापूर्वक नेतृत्व गर्दै आएका उनै जलनसँग आर्थिक न्युजले संवाद गरेको छ । प्रस्तुत छ, लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष उनै पङ्कज जलनसँग आर्थिक न्युजका इन्द्र बानियाँले गरेको कुराकानीको सम्पादित अंश :
लर्ड बुद्ध एजुकेसन फाउन्डेसनको हालसम्मको यात्राको बारेमा बताइदिनुहोस् न?
लर्ड बुद्ध एजुकेसन फाउन्डेसन स्थापना भएको करिब १५ वर्ष हुन लागेको छ । हामी नेपालको पहिलो आइटी केलजकारुपमा स्थापित भएका थियौँ । सुरुवातदेखि नै हाम्रो उद्देश्य भनेको नेपालमा नयाँ नयाँ प्रविधि भित्र्याउने नै रहेको छ । नेपालमै सस्तो र सुलभ मूल्यमा पढाउन सकिन्छ भनेर काम गरिरहेका छौँ ।
हामीले लर्ड बुद्ध एजुकेसन फाउन्डेसन जब सुरु गरेका थियौँ त्यो बेला सूचना प्रविधिको क्षेत्रमा निकै ठूलो ग्याप रहेको थियो । एकेडेमी कोर्स सुरु गरे पनि तालिम दिन हामीलाई निकै गाह्रो पर्थ्यो। कम्प्युटरका क्षेत्रमा महिलाहरूलाई दक्ष बनाउनका लागि हामीले १२ हजार भन्दा बढीलाई तालिम दिइसकेका छौँ । हामीले यसरी तालिम दिएकाहरू नेपाल र विभिन्न देशमा रहेर काम गरिरहेका छन् ।
आजको दिनमा नेपालमा सूचना प्रविधिको क्षेत्रमा जति दक्ष जनशक्तिहरू छन् उनीहरूलाई यतिको सक्षम बनाउन लर्ड बुद्ध एजुकेसन फाउन्डेसनको ठूलो हात रहेको छ । बैङ्क तथा वित्तीय संस्थादेखि आइटी डेभलपमेन्ट कम्पनीहरूमा हामीले उत्पादन गरेका जनशक्तिहरूले काम गरिरहेका छन् । यो हेर्दा हामी धेरै सन्तुष्ट छौँ ।
त्यो बेला नेपालमा परम्परागत शिक्षा प्रणाली चलिरहेको थियो । यहाँहरूले कसरी व्यवस्थापन गर्नु भयो ?
हामीले लर्ड बुद्ध एजुकेसन फाउन्डेसन सुरु गर्दा पढाउने मान्छे नपाएर भारतबाट ल्याएका थियौँ । एक जना मात्रै होइन १७/१८ जनालाई ल्याएका थियौँ । सुरुवातमा हामीसँग जोडिएकाहरूलाई हाम्रा विद्यार्थीहरूले काम गरेको देखेर पछिल्ला समय जोडिन समस्या भएन ।
पहिले चरणमा हाम्रोमा इन्जिनियरिङ पनि गर्न नचाहेका, मेडिकलतिर पनि नभएका र बिएसस्सी पनि पढ्न नचाहने खालका बिद्यार्थीहरु आएका थिए । उनीहरू 'आइटी पढौँ न त' भनेर आएका थिए । उनीहरू अहिले राम्रा ठाउँमा काम गरिरहेका छन् । त्यसपछि बिस्तारै विद्यार्थीहरू बढ्दै गए ।
आइटी भनेको नै क्रियटिभिटी हो । क्रियसन, इनोभेसन र नयाँ कुरा केही गर्न चाहने हो भने मात्रै आइटीमा केही गर्न सकिन्छ । यो कुरालाई हामीले अङ्गीकार गरेका छौँ । हाम्रोमा पढेका विद्यार्थीहरूले आफ्नै कम्पनी समेत खोलेका छन् ।
विश्वव्यापीकरण नै आइटी क्षेत्र निकै चुनौतीपूर्ण पनि छ । यहाँहरूले ल्याबमा समेत इन्टर्न गराउँछौँ भन्नु भएको छ, त्यो अनुसारको नेपालमा प्रविधि भित्रिएको छ ?
छ, नेपालमा धेरै राम्रा राम्रा कामहरू समेत भइरहेका छन् । आजका दिनमा हामी हरेक क्षेत्रका सफ्टवेयर आफै विकास गर्न सक्ने भएका छौँ । एयरलाइन्सदेखि बैङ्क, सहकारीहरूले प्रयोग गरेका धेरै सफ्टवेयर नेपालमा नै बनेका छन् ।
नेपालमा आइटी पढेकालाई काम गर्न ठूलो समस्या केही छैन । विदेशका धेरै इन्स्टिच्युट पनि नेपालमा बसेर काम गरिरहेका छन् । ती कम्पनीहरूमा पनि नेपालीले काम पाउँछन् । उनीहरूले पनि नेपाली विद्यार्थीहरूलाई काम दिन थालेका छन् । किनभने हाम्रो 'वर्क फोर्स' विदेशको भन्दा सस्तो छ । यहाँ प्रतिभा (ट्यालेन्ट)को केही कमी छैन । नेपालमा आइटी क्षेत्रमा प्रचुर सम्भावना छ । जसले पनि, जति पनि काम गर्न सक्छन् । काम गर्ने इच्छा शक्ति भयो भने हुन्छ ।
अहिले यहाँ पढाइ भइरहेको कोर्स र पाठ्यक्रम विश्वमा भएका युनिभर्सिटीसँग कम्पिटेन्ट छ या परिमार्जन गर्नु पर्ने छ ?
यो संस्था भनेको आइटी क्षेत्रको लागि मात्रै खुलेको हो । विश्वमा कुनै पनि अपडेट पाठ्यक्रम आयो भने सबैलाई जानकारी भइहाल्छ । विश्वका युनिभर्सिटीबाट हामीलाई धेरै नै साथ सहयोग छ । केही नयाँ ल्याएमा उनीहरूले हामीलाई जानकारी दिइहाल्छन् ।
हामीले विश्वमा भएका सबै व्यवस्था यहाँ पनि गरिदिएका छौँ । विद्यार्थीहरूले त्यसलाई सदुपयोग गर्न सक्नु पर्यो । यसका साथै हामीले विद्यार्थीहरूलाई दक्ष बनाउन र प्रशिक्षण गर्नका लागि ‘कोर्स यरा’ भन्नेमा जोडेका छौँ । यो इन्टरनेशनल ट्रेनिङ पोर्टल हो । यो आजको दिनमा नम्बर वान रहेको छ । यसमा जोडिन हामीले हरेक सेमेस्टरमा विद्यार्थीहरूलाई प्रेरित गर्ने गरेका छौँ ।
नयाँ विद्यार्थी भर्नाको लागि लर्ड बुद्ध एजुकेसन फाउन्डेसनको योजना के छ ?
हाम्रोमा त्यस्तो योजना भन्ने नै छैन । हाम्रोमा भनेको पढाइ राम्रो दिने हो । हामी नयाँ विद्यार्थीहरूलाई यति मात्रै भन्छौँ कि हाम्रोमा आउनुस् हामी दक्ष बनाएर पठाउने जिम्मा लिन्छौँ । हामीले हाम्रो विद्यार्थीहरूलाई पढ्दा पढ्दै काम गर्न समेत सक्ने बनाउँछौँ । हामीले विद्यार्थीहरूको लागि नै भनेर बेला बेलामा जब फेयर समेत गर्ने गरेका छौँ ।
हाम्रोमा विद्यार्थीहरू अर्कोमा यति रुपैयाँमा पढाइरहेको छ भनेर भन्ने गर्छन् । त्यस्तो होइन, त्यहाँ कस्तो छ पढाई भन्ने हेर्नु पर्छ । कुन लेभलको शिक्षा पाइन्छ त्यो हेर्नु पर्छ । सर्टिफिकेट होइन, ज्ञानमा ध्यान दिनु पर्यो । हामीले यसअघि गरेका कामहरू हेरेर नयाँ विद्यार्थीहरू आउने गरेका छन् ।
आइटी पढ्नका लागि अझै पनि धेरै विद्यार्थीहरू विदेश जाने गरेका छन् । बाहिरबाट निस्कने मेनपावर र यहाँबाट निस्किने मेनपावरमा के फरक छ ?
बाहिर जाने चलनमा पनि दुई थरिका रहेका छन् । एउटा भनेको जसरी हुन्छ अन्य मुलुक जाने भन्ने र अर्को भनेको भारत जाने । भारत जाने भनेको धेरै तराईका विद्यार्थीहरू रहेका छन् । उनीहरूलाई भारतबाट आएकाहरूले लोभ्याएर लगेका हुन्छन् । तर, आजको दिनमा आइटी पढ्नकै लागि विदेश जानु पर्दैन । नेपालको पढाई नै धेरै राम्रो रहेको छ ।
तेस्रो मुलुक जानेहरूमा पनि समस्या रहेको छ । उनीहरू आइटी पढ्नकै लागि भन्दा पनि कामको खोजीमा जाने धेरै छन् । उनीहरू नेपालमा काम पाइएन । तेस्रो मुलुक जान्छु । पढ्छु । सँगै काम पनि गर्छु भनेर जाने हुन्। मैले भन्नु पर्दा नेपालमा धेरै अवसरहरू रहेका छन् विदेशमा नै जानु पर्छ भन्ने छैन ।
विदेश जानेहरू पनि गएर रेस्टुरेन्टमा काम गर्नेहरू धेरै छन् । नेपालमा नै त्यसरी मेहनत गरेर काम गर्ने हो भने त्यहाँ कमाउने जति यहाँ कमाउन सकिन्छ । तर, यहाँ समस्या के छ भने, नेपालमा काम गर्न लाज लाग्छ । यस्तो खालको भुमरीबाट बाहिर निस्किन आवश्यक छ ।
नेपालमा केही गर्न सकिँदैन, म त बर्बाद भएँ भन्ने जुन सोच छ त्योबाट बाहिर निस्किनु पर्यो । यहाँ राम्रो ठाउँमा पनि अवसर पाइन्छ । नेपालकै आइकनलाई हेर्न हो भने पनि महावीर पुन, डा. सन्दुक रुइतलाई उदाहरणका रुपमा लिन सकिन्छ ।
नेपालमा नै बसेर धेरै गर्न सकिन्छ । किन जाने विदेश ? विदेश जानै परे, घुम्न जाने । त्यहाँ गएर गोरेका प्लेट उठाउनुको सट्टा गोरेसँग आफ्नो प्लेट उठाएर खाने हो । हामीमा त्यस्तो लक्ष्य हुनु पर्यो । आफ्नो देशमा सानको साथ बस्ने सबैले कोसिस गर्नु पर्छ ।
खर्चको हिसाबले नेपालमा कति रुपैयाँमा कुन तहको पढाई हुन्छ ?
अहिले नेपालमा आइटी पढ्नको लागि ९/१० लाख रुपैयाँ हाराहारी चाहिन्छ । सरकारले अनुदान दिएकाहरूले केही सस्तोमा पढाइदिने गरेका छन् ।
विदेशका राम्रा कम्पनीहरूले यहि आएर हाम्रा दक्ष कामदारहरूलाई लैजान सक्ने स्थिति छैन ?
नेपालमा यस्तो खालको प्राक्टिस कम भइरहेको छ । यसका लागि हामीले प्रयास पनि गरिरहेका छौँ । 'स्टडी इन नेपाल' भनेर हामीले शिक्षा मन्त्रालयमा प्रपोजल समेत दिएका छौँ । यसमा हाम्रो अवधारण के छ भने यहाँबाट कामदार विदेश पठाउने होइन, विदेशबाट कामदार नेपालमा कसरी ल्याउने भन्ने छ ।
नेपालीहरूले बनाएको सफ्टवेयर भन्यो भने नेपालीले नै नाक खुम्च्याउने गर्छन् । यस्तो किन ?
त्यो केही छैन । नेपालीले बनाएका सफ्टवेयरमा केही कमी कमजोरी हुन सक्छन् । नेपाली सफ्टवेयर कामै नलाग्ने भन्ने छैन । कसले कुन लेभलको लिने भन्नेमा भर पर्छ ।
नेपालमा यो सफ्टवेयर कुन लेभलको हो भनेर आइटी अडिट गर्ने चलन छैन । यो आवश्यकता नै नभएर हो ?
हो, त्यस्तो सिस्टम छैन । तर, आवश्यकको कुरा गर्ने हो भने नेपालमा त्यो लेभलको आइटी इन्डस्ट्री फस्टाइसकेको छैन । वल्डवाइड पनि यस्तो चलन छैन । कुनै सफ्टवेयर प्रयोगकर्ताको आधारमा कुन लेभलको हो भन्न सकिन्छ ।
अन्त्यमा के भन्न चाहनु हुन्छ ?
हरेक विद्यार्थीलाई आफ्नो करिअरलाई ध्यानमा राखेर अगाडी बढ्न सुझाव दिन चाहन्छु। पढ्न जाने बेलामा कुन कलेजमा के पढ्न जाँदै छु, भविष्यमा के हुन्छ निश्चित गरेर मात्र पढाई सुरु गर्नु पर्छ । त्यो पढाइको गन्तव्य कहाँ हो भनेर पनि हेर्नु पर्छ । कसैको लहैलहैमा लागेर कलेज भर्ना गर्नु भन्दा आफू कहाँ र किन जाने ? मेरो लक्ष र गन्तव्य के हो भनेर नियाल्नु पर्छ । यसो गर्न सकिएमा भविष्यमा पक्कै सफलता पाइन्छ ।