यहि जेठ ३२ गते घोराही सिमेन्टको साधारण सेयर (आइपिओ) प्रिमियम मूल्यमा सर्वसाधारणको लागी पनि जारी हुँदै छ । सो विषय अहिले निकै नै चर्चामा छ किनकि यसको शेयर आइपिओमा समेत प्रतिकित्ता ४३५ रुपयाँमा खरिद गर्नु पर्ने हुन्छ । वास्तविक क्षेत्रका कम्पनीहरू नेपालको धितो पत्र बजारमा निकै नै कम रहेको बेला एउटा वास्तविक क्षेत्रको सिमेन्ट उद्योग त्यसमा प्रवेश गर्नु खुसीको कुरा हो । तर, कुनै नयाँ कुरा हुन लाग्दा त्यसबारे सत्य तथ्यमा नपुगी हल्लाको भरमा अनेकौँ टिप्पणी गर्ने र सकारात्मक भन्दा बढी नकारात्मक अफवाह फैलाउने प्रचलन व्याप्त रहेको पृष्ठभूमिमा आर्थिकन्यूज डटकमले भने घोराही सिमेन्टका सञ्चालक आदित्य संघाईसँग आसन्न आइपिएमा केन्द्रित रहेर कुरा गरेको छ । प्रस्तुत छ, संघाईसँग आर्थिकन्यूजका इन्द्रबहादुर बानियाँले गरेको कुराकानीको सम्पादित अंश :
घोराही सिमेन्टको स्थापनाको पृष्ठभूमिदेखि अहिलेसम्मको यात्रा कस्तो रह्यो ?
घोराही सिमेन्ट हामीले १० वर्ष अगाडीदेखि सञ्चालनमा ल्याएका छौँ । नेपालमा त्यो बेला धेरै ठूलो मात्रामा सिमेन्ट आयात भइरहेको थियो । त्यस बेलाको हाम्रो उद्देश्य नेपाललाई आयातित सिमेन्टबाट मुक्त गर्ने रहेको थियो । नेपालमा यति धेरै चुनढंगा छ, उत्पादन क्षमता र सम्भावना छ । अनि खपत पनि राम्रो छ भने किन यहीँ गुणस्तरीय सिमेन्ट उत्पादन नगर्ने भनेर यो उद्योग स्थापना गरिएको हो । त्यसबाहेक विकासको यत्रो सम्भावना छ भने हामीले किन आफ्नो देशमा नै सिमेन्ट उत्पादन गरेर विकासको साझेदार नबन्ने भन्ने सोचका कारण पनि यसको सुरुवात गरेका हौँ ।
गएको दश वर्षमा हामीले धेरै राम्रो यात्रा तय गरेका छौँ । यसबिचमा हाम्रो क्षमता पनि बढ्दै गएको छ । यसरी क्षमता बढाएपछि आएको कोभिड महामारीपछि देखिएको आर्थिक शिथिलताले भने केही सकस पारेको छ ।
तर, हामी के मा ढुक्क छौँ भने सिमेन्ट त्यस्तो वस्तु हो जसको प्रयोग सधैँ भइरहन्छ । जसरी नुनको कुनै विकल्प छैन सिमेन्ट पनि त्यस्तै विकल्परहित हो ।
जब नेपाल सन् २०२६ सम्ममा मध्यम आय भएको मुलुक बन्दै छ भने त्यो लक्ष्य पुरा गर्न हामीले त्यही अनुरुप भौतिक पूर्वाधार विकासमा लगानी पनि गर्नुपर्ने हुन्छ । त्यसो हुँदा सिमेन्टको प्रयोग अनिवार्य छ । र, अब यसको भविष्य उज्ज्वल छ भन्ने हाम्रो ठम्याई रहेको छ।
आइपिओ पनि जारी गर्दै हुनहुन्छ, किन ?
कुनै पनि कम्पनीले साधारण शेयर (आइपिओ) बिक्री गर्नुका धेरै कारणहरू हुन्छन् । आइपिओ जारी गर्नुपर्ने सबैका आ–आफ्नै कारणहरू हुन्छन् हाम्रो हकमा कुरा गर्ने हो भने जुन हिसाबमा हाम्रो उद्योगको विकास भएको छ त्यसको हिस्सेदार सर्वसाधारण पनि बन्न पाउनुपर्छ भन्ने हो । त्यसैले सर्वसाधारणलाई पनि हाम्रो विशाल उद्योगको हिस्सेदार बनाउन आइपिओ निष्कासन गरेका हौँ।
धेरै मान्छेहरूलाई आइपिओ भन्ने बित्तिकै एक सय रुपैयाँमा शेयर किन्ने अवसर भन्ने बुझ्छन् । तर, घोराही सिमेन्टको आइपिओ सर्वसाधारणले महँगो मूल्य तिरेर प्रिमियममा किन किन्ने ?
आम नागरिकले के बुझ्नु पर्यो भने सिमेन्ट उद्योग भनेको कुनै अर्को बस्तुले प्रतिस्थापन गर्ने वा कुनै नयाँ प्रविधि आएर यो पुरानो हुने कम्पनी होइन । यो सधैँ आवश्यक पर्ने बस्तु उत्पादन गर्ने कम्पनी हो । जति बढी विकासका काम हुन्छन् सिमेन्टको खपत त्यति नै बढी हुन्छ । विकासले तिब्रता पाएसँगै यो कम्पनीले पनि राम्रो प्रतिफल दिन्छ भन्नेमा हामी ढुक्क छौं ।
आइपिओ बिक्री गर्नुपर्ने अवस्था चाहिँ किन बन्यो ? सङ्कलन हुने रकम केमा लगानी गर्दै हुनुहुन्छ ?
नेपालमा उत्पादन क्षेत्रका पब्लिक कम्पनी एकदमै कम छन् । धितो पत्र बजारमा प्रवेश गर्ने भनेको थप लगानीका लागि पुँजी सङ्कलन गर्ने मात्रै होइन । कुनै कम्पनीलाई वास्तविक रुपमा सबैको साझा कम्पनी बनाउन पनि त्यसो गरिन्छ । जो मानिस यो कम्पनीसँग जोडिन्छ उसमा अपनत्व बढ्छ । प्रभावित स्थानीयरुहरुले समेत त्यसका हिस्सेदार बन्न पाउन भन्ने पनि हाम्रो उद्देश्य हो ।
उद्योग स्थापना गर्नु भनेको नाफा कमाउनु मात्र होइन । देशको विकासको लागि पनि हो । रोजगारी सिर्जना गर्नु पनि हो । अवसरहरूको सिर्जना गर्ने र वरिपरिको ठाउँमा विकास गर्नु पनि हो । त्यसैले सबैको साझा कम्पनी बनाउन आइपिओ जारी गरिएको हो ।
प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा गएकाहरूका लागि त आइपिओ बिक्री भई पनि सक्यो । त्यसको रेस्पोन्स चाहिँ कस्तो आयो ?
वैदेशिक रोजगारीमा गएकाहरूबाट धेरै नै राम्रो प्रतिक्रिया आयो । त्यो शेयर ८० प्रतिशत भन्दा बढी बिक्री भयो । हामी त्यसमा सन्तुष्ट पनि छौँ । अहिलेको आर्थिक मन्दीमा पनि ८० प्रतिशत भन्दा धेरै शेयर बिक्री हुनु चानचुने कुरा होइन । त्यो पनि प्रिमियम मूल्यमा ।
अब आम सर्वसाधारणका लागि खोल्दै हुनहुन्छ कस्तो अपेक्षा छ ?
हामी निश्चिन्त छौँ । राम्रो प्रतिक्रिया पाउने छौँ । यसो किन भनिएको भने जसले प्रिमियममा जाने कम्पनीको तथ्याङ्क अध्ययन गर्छन् त्यस्ताले सजिलै बुझ्छन् की आइपिओ खरिद किन आवश्यक छ ।
घोराही सिमेन्टको नयाँ कुनै योजना छ कि ?
अहिलेको अवस्थामा हामी पर्ख र हेरको अवस्थामा नै छौँ । हाम्रो देशको स्थितिलाई हेर्दा आठ प्रतिशतको वृद्धिको जुन लक्ष थियो त्यो त्यो १ दशमलव ८ मा झर्यो । हो, हामीसँग दीर्घकालीन योजना छ । तर, कम्तीमा एक वर्षलाई भने हामी कुरेर बसेका छौँ । नयाँ योजना त्यसपछि लागु हुन्छ ।
घोराही सिमेन्टले कुन कुन ब्रान्डका सिमेन्टहरू बिक्री गरिरहेको छ ?
हाम्रो प्रमुख ब्रान्ड भनेको सगरमाथा सिमेन्ट नै हो । सगरमाथाकै तीन/चार श्रेणीको सिमेन्टहरू छन् । ओपीसी, पीपीसी यी सिमेन्टहरू २५ र ५० दुवै किलोका बोराहरूमा उपलब्ध छन् । हामी त्यसबाहेक विश्वकर्मा र गोर्खा सिमेन्ट उत्पादन गछौं । जुन हाम्रो कन्ट्रयाकमा सिग्नेचर ब्रान्ड चाहिँ सगरमाथा नै हो । यसलाई हामी पश्चिमको सगरमाथा भन्छौँ ।
के अहिले उत्पादन भइरहेको सिमेन्ट सडक निर्माणमा प्रयोग गर्न मिल्छ वा अर्कै गुणस्तरको चाहिन्छ ?
सडक ढलानमा प्रयोग गर्ने सिमेन्टको गुणस्तर मापदण्ड पक्कै पनि छ । तर, हाम्रो लागि सहजता के छ भने हामीसँग सबै गुणस्तरका सिमेन्टहरू छन् । ओपिसीमा ३३, ४३, ५३ सबै ग्रेडका सिमेन्ट छन् । त्यस बाहेक पीपीसी र स्ल्याग सिमेन्ट पनि हामीसँग छ ।
भनेपछि, हाम्रो सिमेन्टको गुणस्तर राम्रो छ होइन त ?
छिमेकी मुलुक भारतसँग नै तुलना गर्ने हो भने पनि त्यहाँको ४३ ग्रेड र हाम्रो ४३ ग्रेडमा हाम्रै राम्रो छ । यस्तो किन भने भारतको चुनढुङ्गा खानीहरू लगभग सकिसकेका छन् । र नेपालको चुनढुङ्गा वास्तवमै अत्यन्त राम्रो गुणस्तरको छ ।
बाटोमै प्रयोग गर्दा पनि पहाडी सडक र समथर ठाउँको सडकमा एकै खालको सिमेन्ट प्रयोग हुँदैन होला नि ?
हो, त्यो फरक पर्छ । सडक विभागले त्यसको गुणस्तर निर्धारण गरेको छ । ठूला राजमार्ग र सिधा बाटोहरूमा भन्दा पहाडी र घुमाउरो बाटोहरूमा फरक सिमेन्ट प्रयोग गर्नुपर्छ । किनकि त्यहाँ सवारीहरूको भार, बाटोको बनोट र धेरै ब्रेक समेत लगाई राख्नुपर्ने हुन्छ ।
ठूला जलविद्युत आयोजना पनि बन्दैछन् । त्यसको सुरुङमा प्रयोग हुने सिमेन्ट पनि छ त ?
पक्कै पनि छ । हामीले मेलम्ची खानेपानी आयोजनाको सुरुङमा हाम्रो सगरमाथा सिमेन्ट नै प्रयोग भएको छ । त्यो अनुभवको आधारमा पनि हामी भन्न सक्छौ की नेपालका धेरैजसो परियोजनाहरूमा नेपाली उत्पादन नै प्रयोग भइरहेको छ । नेपालमा आयातित सिमेन्ट भित्रिन त बन्दै भइसक्यो । जलविद्युत आयोजनाहरूमा ५३ ग्रेडको सिमेन्ट प्रयोग गर्ने गरिन्छ ।
समुन्द्र मुनीका सुरुङमा बनाउन प्रयोग हुने सिमेन्ट चाहिँ कस्तो हुन्छ ?
त्यो सिमेन्ट चाहिँ केही बढी प्राविधिक ढङ्गको हुन्छ । खास सिमेन्ट त यही हो । तर, त्यसमा अन्य रसायनहरू समेत थपिएको हुन्छ । त्यसमा वाटर प्रुफिङ लगायतका रसायनहरू प्रयोग गरिन्छ ।
(पछिल्लो अपडेटमा शिर्षक लगायत केही सामग्री बदलिएको छ - स.)